कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सडकसँगै होटल, रेस्टुरेन्ट थपिए

वाइफाई र सफासुग्घर खोज्छन् पाहुना 
प्रकाश बराल

बागलुङ — दिनभरको जिप यात्रापछि पुगिने बुर्तिबाङ जाँदा बाटोमा खाना नास्ताका एकाध होटल थिए । यात्रुले भनेजस्तो स्वादमा खान पाउदैनथे । होटल पनि सफा नहुने तर बाध्यताले खानुपर्ने अनुभव गल्कोटका पदमबहादुर खत्रीको छ । 

सडकसँगै होटल, रेस्टुरेन्ट थपिए

यो सडक खण्ड मध्यपहाडीमा सूचीकृत भएर कालोपत्रेको काम थालिएपछि यतिबेला भने दर्जनौं होटल र रेस्टुरेन्ट खुलेका छन् । सफा र स्वच्छ खाना पाउने ती होटलले पर्यटक आकर्षण गर्न वाइफाईको व्यवस्था समेत गरेका छन् ।


हरेक यात्रीका हातमा स्मार्ट फोन भएकाले सबैले रोकेको समयमा फोटो खिच्ने र वाइफाई चलाउन मन गरेपछि वाइफाईको व्यवस्था गरेको होटल संचालक बताउँछन । ‘पाहुनाले वाइफाईको पासवर्ड माग्न थाल्छन्, छैन भन्यो भने अर्को होटलमा पुग्छन्’ रिजालचोकका व्यवसायी विष्णु थापाले भने, ‘इन्टरनेटको सुविधा दिन नसके आएका पाहुना अर्कै होटलमा जान्छन् ।’ पाहुना रोक्नकै लागि वाइफाई जोडेको उनले बताए ।


बिहुँ खण्डको २५ किमिबाहेक झन्डै ६० किमि कालोपत्रे भइसकेको छ । जिप र बसमा भन्दा निजी कारमा यात्रा गर्ने, ट्याक्सी लिएर आउनेहरू धेरै भएकोले यात्रीले रेस्टुरेन्टमा एक/डेढ घण्टा बिताउने उनले बताए । ‘प्राइभेट कार लिएर आएकाले आकर्षण दृश्य देखिने स्थानमा रोकेर अर्गानिक खाँदै र इन्टरनेट चलाउन मन पराउँछन्,’ उनले भने, ‘समयअनुसारको सेवा नदिने हो भने व्यवसाय पनि लोप हुन्छ ।’ सरसफाइमा ध्यान नदिएका, इन्टरनेटको सुविधा र पार्किङ नभएका धेरै होटल बन्द भएको उनले बताए ।


बाक्ला होटल बन्ने ठाउँभन्दा राजमार्गको छेउछाउमा कटेज बनाएर संचालन भएका स्थान यात्रीको रोजाइमा पर्छन् । परम्परागत व्यापार गरेकाले धमाधम होटल बन्द गरेको बिहुँका महेन्द्र पुनले बताए । काठेखोलाको रगेनी, बडिगाडको ग्वालीचौर र गलकोटको आँगखेतमा नयाँ र आधुनिक रेस्टुरेन्ट खुलेका छन् । यसरी खुलेका रेस्टुरेन्टमा सम्पर्क गरेर खाना र खाजा खानेहरू आउँछन् । सरसफाइ, फ्री वाइफाई समेत राखेको र हिमाल तथा अन्य आकर्षक दृश्यावलोकनले नयाँ होटलमा आकर्षण बढेको हो ।


‘वाइफाई नभएको पसलमा लगियो भने यात्रीले पनि राम्रो मान्दैनन्, त्यसैले यात्रीकै रोजाइमा सवारी पार्किङ र खाजा खुवाउने गरेको छु’ जिप चालक चन्द्रबहादुर कार्कीले भने, ‘पहिला बास बस्ने गरी जाने गाउँमा अहिले पुगेर फर्कन थालिएको छ ।’ पुगेर फर्कंदा जिप चालकले एकैदिन दोहोरो भाडा कमाउन थालेका छन् ।


पहिला एक दिन लगाएर बुर्तिबाङ पुगेपछि भोलिपल्ट मात्र उनीहरू फर्कन्थे । अहिले चार/पाँच घण्टामा बुर्तिबाङ पुग्न सकिन्छ । सडक सहज भएपछि शनिबार वा सार्वजनिक बिदाको दिन बुर्तिबाङसम्म पुगेर फर्कने धेरै हुने गरेको उनले बताए । २/३ दिनको बिदा मिलाएकाले ढोरपाटनसम्म घुमेर फर्कन्छन् । यो सडक खण्डको बाटो भएर हाल पूर्वी रुकुमका सयौंले यात्रा गर्न थालिसकेका छन् । हाल हिउँदमा बुर्तिबाङदेखि रुकुमकोटसम्म बस समेत चलेको छ ।


कालोपत्रे सडक बन्न लागेकोले र्बुिर्तबाङदेखि पर्यटक बोक्ने आरामदायी बस पनि चल्छन् । काठमाडौं, पोखरा र बुटवलका लागि दैनिक छुट्ने ती बसमै वाइफाई जोडिएका छन् । ‘यात्रा सहज भएकोले पर्यटक बढेका छन्’ व्यवसायी अर्जुन थकालीले भने, ‘सुविधा खोज्ने आन्तरिक पर्यटकले व्यवसाय सफल बन्दै गएको छ ।’ दिवा र रात्रि बसको टिकट लिन आउनेले पनि वाइफाई भएकै बस रोज्न थालेको उनको अनुभव छ ।

प्रकाशित : वैशाख २८, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?