कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनापानीले मकै सखाप

आश गुरुङ

लमजुङ — असिना पानीले क्व्होलासोंथर गाउँपालिकाभित्रका सवै वडामा लगाइएको मकैबालीमा क्षति पुर्‍याएको छ । क्व्होलासोंथर- ९, गिलुङसँग जोडिएको मध्यनेपाल नगरपालिका ८, करापु क्षेत्रको मकैबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

असिनापानीले मकै सखाप

क्व्होलासोंथर गाउँपालिका ५ सिङदी, ६ पुसगाउँ, ७ भोंजे क्षेत्र, ८ घाम्राङ क्षेत्र, ९ गिलुङ क्षेत्रमा सवैभन्दा बढी क्षति पुर्‍याएको छ । वडा १, बाग्लुङपानी, २ मालिङ, ३ उत्तरकन्या र ४ भुजुङ क्षेत्रमा लगाइएको मकैबालीमा नराम्ररी क्षति पुर्‍याएको गाउँले किसानले बताएका छन् । यस्तै, मध्यनेपाल नगरपालिका ८, करापु क्षेत्रमा मकैबाली सखाप बनाएको वडाअध्यक्ष अमृत तामाङले बताए ।


उनका अनुसार शुक्रबार साँझ परेको असिनापानीले मकैबाली, तरकारी तथा फलफूलमा क्षती पुर्‍याएको हो । 'करापु, डढुवा क्षेत्रमा मकैबाली केही छैन । अब अर्को रोप्नुपर्ने अवस्था छ' उनले भने, 'तरकारीको पनि सखाप बनायो । ३० लाख बढीको क्षति भएको छ ।' गिलुङका अध्यक्ष नन्दजंग गुरुङले गाउँलेका मकै र हरिया तरकारीबाली असिनाले केही बाँकी नराखेको बताए ।


'मकैसँगै बन्दा, रायो, गोलभेंडा, भेन्टा, बोडी, सिमीलगायतको सागपात तथा फलफूलसमेत सखाप बनाएको छ । केही बाँकी छैन,' उनले भने, 'सबै सखाप भएपछि अब के खाने भन्ने चिन्ताले गाउँलेलाई सताएको छ ।' शुक्रबार साँझ ६ बजेदेखि ७ बजेसम्म असिनापानी परेको थियो । असिनापानीले सिङ्दीका २ सय ३८ घरधुरीले लगाएका मकैसँगै सागपात र फलफूल नष्ट भएको भएको वडाअध्यक्ष गीतबहादुर गुरुङले बताए ।


'असिनाले सबै लग्यो । मकै रोपे असिनाले लाने, धान रोपे असिनाले लाने । गाउँले के खाएर बाँच्ने होला भनिरहेका छन्,' उनले भने । क्व्होलासोंथर गाउँपालिका ७, चरागाउँस्थित वनस्थली माविका पूर्वप्रधानाध्यापक खिमप्रसाद गुरुङका अनुसार हावाहुरीसँगैको असिनापानीले बालीनालीमा क्षति पुर्‍याएको छ । 'असिनाले मकैबाली टुक्राटुक्रा बनाएको छ,' उनले भने ।


क्व्होलासोंथर गाउँपालिकाका कृषि शाखाका जेटीए सम्झना गुरुङले गाउँपालिकाका प्रायः सबै वडामा असिनापानी आएको र यसले मकैबाली तथा अन्य तरकारी साथै फलफूलमा क्षति पुर्‍याएको बताए । 'ग्रामीण भेग भएकाले यहाँका सबै बासिन्दाले मकै लगाउँछन् । फागुन चैतमा रोपिएका मकै २ पटकसम्म गोडिसकिएको छ । यही बेला मकैबाली सबै नष्ट गराएको छ,' उनले भनिन् ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?