कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एक घर, एक टनेल

दिप्ती सिलवाल

पर्वत — गाउँमा मोटरबाटो पुगेपछि महाशिला ५ लुङ्खुको देउराली बजारमा हिमलाल अधिकारीले २०६३ सालदेखि किराना र तरकारी पसल शुरु गरेका थिए । उनले पसल शुरु गर्नेबेला गाउँमा खानेपानीको अभाव थियो ।

चैतबैशाखको खडेरीमा हरियो तरकारी आँखाले देख्न समेत मुस्किल । भर्खरभर्खर पोखराबाट लुङ्खुसम्म आउने यात्रुबाहक बसमा पोखराबाट हरियो तरकारी ल्याएर बेच्दा उनको पसलमा किन्नेको भिड लाग्थ्यो । प्रायः दैनिकजसो पोखराका मन्डी डुल्दै तरकारी छानेर ल्याएर बेच्ने उनको दैनिकी थियो । त्यो क्रम पसल शुरु गरेको १० वर्षसम्म चल्यो । गएको २ वर्षदेखि उनको दैनिकी बदलिएको छ ।


गाउँपालिकाको दोस्रो गाउँसभाले एक घर, एक टनेल कार्यक्रम शुरु गरेपछि उनले घरमै तरकारी फलाउन थाले । तरकारी खरिद गर्न पोखरा जानुपर्ने समय टनेलभित्रै खर्चन थाले । व्यवसायिक तरकारी उत्पादन गर्न थालेका उनले गतवर्ष देखि पोखराबाट तरकारी ल्याउन छोडेका छन् ।


गाउँपालिकाले निशुल्क दिएको टनेलमा अधिकारीले तरकारी फलाउँछन् । उनले गत वर्षदेखि आफुले वारीमा उत्पादन गरेको तरकारी अहिले बजार पठाउन थालेका छन् । तर, उनलाई अहिले तरकारी बेच्न भने समस्या छ । पहिला पसलमा तरकारी किन्न आउने ग्राहक अहिले उल्टै झोला र डोकोमा तरकारी लिएर उनको पसलमा बेच्न आउँछन् ।


महाशिला गाउँपालिकाको लुंखुमा आएको परिवर्तनले अधिकारीलाई केही नोक्सान भए पनि समग्र गाउँलेलाई भने धेरै राम्रो प्रभाव पारेको छ । गाउँपालिकाले घरघरै प्लास्टीकका टनेल बितरण गर्न थालेपछि गाउँपालिकाभरका करिव १२ सय परिवारले तरकारी खेती लगाउन थालेका छन् । महाशिला–४ पाखपानीकी अनिता पौडेलले गाउँपालिकाले दिएको टनेलभित्र तरकारी फलाएर घरखर्च चलाएकी छिन् । उनले बढि भएको उत्पादन बजार पठाउँछिन् । ‘पहिला हरियो तरकारी खान बजारकै भर पर्नुपर्थ्यो,’ अनिताले भनिन्, ‘अहिले किन्न परेको छैन । बढी भएको बेचेर घरखर्च चलेको छ ।’


गाउँपालिकाले दोस्रो गाउँसभाबाट पारित गरेको एक घर एक टनेल कार्यक्रम मार्फत यहाँका स्थानीयले घरघरै तरकारी फलाउन थालेका हुन् । यो कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक टनेल निःशुल्क दिने गरिएको छ । किसानलाई तरकारी उत्पादन सम्वन्धि तालिम, रोगकिरा नियन्त्रणको निशुल्क परामर्श र ढुवानीका लागि अनुदान गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ । किसानलाई आवश्यक पर्ने बिउ समेत कृषि प्राविधिकले सिफारिस गरि अनुदानमा उपलव्ध गराउँछन् । स्थानीय सरकारले कृषिमा सहयोग गरेपछि गाउँले तरकारी खेतीतर्फ हौसिएका हुन् ।


एक घर, एक टनेल कार्यक्रमबाट लाभ उठाउँदै महाशिलाभरिका करीव १२ सय किसानले व्यवसायिक रुपमा तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाले दाबी गरेको छ । फ्रवक्ता जीवनवित्रम उचैठकुरीका अनुसार यस वर्ष ९ सय ५३ किसानलाई गाउँपालिकाले टनेलसहित अन्य आवश्यक सामाग्री सहयोग गरेको छ ।


गतवर्ष ३ सय टनेल वितरण गरिएको उनले बताए । ‘टनेलभित्र लगाउने तरकारीको प्राविधिकले बर्गिकरण गरिदिन्छन्,’ उनले भने, ‘एउटा गाउँमा लगाएको तरकारी अर्को गाउँका किसानले लगाउँदैनन् ।’ फरकफरक जातको तरकारी फलाउँदा बजारमा बेच्न सजिलो हुने भएकोले बिविधिकरण गरिएको उनले बताए । ‘पहिला बजारबाट दाल किन्ने किसानले मौसमी र बेमौसमी तरकारी फलाएका छन्,’ गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘हामीले जिरोबाट शुरु गरेको हो । केहि आशलाग्दो संकेत देखिएको छ ।’


घरघरै खानेपानीका धारा भएकोले तरकारीमा सिंचाई गर्न समस्या नभएको उनले बताए । पानीको स्रोत अनुसार किसानलाई टनेल बितरण गरिएको गाउँपालिकाले जनाएको छ । पिउने पानीबाहेकको स्रोत नहुने गाउँका किसानललाई एउटा मात्रै र पानीको स्रोत पर्याप्त हुने गाउँमा किसानको माग अनुसार टनेल बितरण गरिएको हो ।


पालिकाभित्रका हरेक घरमा केहि न केहि तरकारी फलाएर गाउँपालिकालाई हरियो तरकारीमा आत्मानिर्भर बनाउने सोच रहेको अध्यक्ष पौडेलले बताए । महाशिला– २ भोक्सिङमा नारायण गुरुङ लगायतका केहि युवा किसानले करिव ५ सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । सुन्तला, कागती र नास्पती खेती गर्नेहरू पनि पछिल्लो वर्ष बढेको गाउँपालिकाले जनाएको छ । यहाँ उत्पादित तरकारी, फलफुल र नगदेबाली पोखरा, कुश्माबजार, स्याङ्जामा पठाउने गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?