कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘क्याम्पिङ’ रुचाउनेलाई नयाँ पदमार्ग

हरिराम उप्रेती

गोरखा — जिल्लाको उत्तरी धार्चे गाउँपालिकामा नयाँ पदमार्ग सञ्चालनमा ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘गणेश हिमाल हिचम्पा ट्रेकिङ ट्रेल’ नाम दिइएको पदमार्गको प्राविधिक टोलीले अध्ययन गरेको हो । 

‘क्याम्पिङ’ मा रमाउने पर्यटकलाई लक्षित गरी साहसिक पदमार्ग संचालनमा गर्न सकिने छ । धार्चे– १ यारु वगरदेखि गणेश हिमाल वेसक्याम्पसम्म पदमार्ग संचालन गर्न सकिने टोलीले जनाएको छ । गाउँपालिकाका २ प्राविधिक, वडा १ का वडाध्यक्ष दिलिप गुरुङ र धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङसहितको टोली स्थलगत अध्ययन गरेको हो । ‘आठ दिन लगाएर वेस क्याम्पसम्म पुग्यौँ,’ सानेले भने, ‘पर्यटकका लागी निकै आकर्षकको गन्तब्य वन्नेमा देखियो ।’


यारु वगरदेखि वेसक्याम्पसम्म मानव वस्ती नरहेकाले साहसिक पदयात्रीका लागि पदमार्ग अति उत्तम हुने उनको दावी छ । पदमार्गमा प्रकृतिप्रेमि पर्यटक शिविरमा वास वस्दै सात दिनको पैदल यात्रा गर्नुपर्छ । ‘पर्यटक प्राकृतिक तवरले वस्न रमाउँन्,’ उनले भने, ‘यो ट्रेलमा भरियालाई टेन्ट र खानेकुरा वोकाएर वास वस्दै जानुको विकल्प पनि छैन ।’


अधिकाशं पर्यटन पदमार्गमा सडक सञ्जाल खुल्ने क्रम वढेकाले त्यसको विकल्पमा यो पदमार्ग पर्यटकको रोजाइमा पर्ने उनको विश्वास छ । ‘सामागाउँ छेकम्पार जाने वाटो खुल्दैछ, बाटो खुलेपछि हिड्न कसैलाइ मन लाग्दैन,’ उनले भने, ‘यो पदमार्गमा सडक सञ्जाल लान पनि संभव छैन, त्यसैले पनि यसको भविष्य राम्रो देखेका छौँ ।’


यारु वगरबाट हिडेका पर्यटक पहिलो दिन चुङतुर डाँडा वास वस्न सक्ने छन् । दोस्रो दिन तुतुङ खोला, तेस्रो दिन कलेखर्क, चौथो दिन उले खर्क, पाँचौ दिन हिचम्पा खर्क, हुदै छौटौ दिन गणेश हिमाल वेसक्याम्प पुगेर फर्कन सकिने गुरुङले बताए । ‘सात दिनको ट्रेकिङ ट्रेल हो,’ उनले भने, ‘फकर्दा ओराले वाटो तिन दिन लाग्छ ।’


करिव सात हजार मिटर उचाइको गणेश हिमाल धार्चे– १ हुल्चोकमा पर्छ । हिमालको प्रचार प्रसार पदमार्गको विकास नगरी संभव नरहेको स्थानीय बताउँछन् । ‘नयाँ पदमार्ग हो, पदमार्गको विकास गरेर हिमाल चढ्न अनुमती दिने ब्यवस्था मिलाउन सके गाउँपालिकालाई रोयल्टी पनि आउछ, स्थानीयको जीवनस्तरमा पनि सुधार हुने भयो,’ उनले भने ।


आधार शिविरसम्म पुगेर फर्किएको टोलिले पैदल मार्ग सुधार नै पहिलो आवश्यकता रहेको निष्कर्ष निकालेको छ । ‘बाटो सुधार नगरेसम्म पर्यटक जान गाह्रो छ, विच विचमा काठे पुल हाल्नुपर्ने आवश्यकता पनि देख्यौँ,’ गुरुङले भने । दोभन खोला, कलेखर्क, धोविखर्कमा काठे पुल हाल्नुपर्ने तथा उलेखर्क नजिकै २५ मिटर लम्वाइको क्यान्टिलिभर पुल नै राख्नुपर्ने उनले बताए ।


गुरुङले भने, ‘उलेखर्क नजिकै भूकम्पले गर्दा पैदलमार्ग धसिएको रहेछ, त्यहाँ क्यान्टिलिभर पुल राखे हिडन सजिलो हुन्छ ।’ पदमार्गको विकासका लागी प्रदेश सरकारले पनि वजेट छुट्टाउनुपर्ने स्थानीयको माग छ । यार्सा गुम्वा, निरमसी, पाचऔले, जटामसी, पदमचाल, वनटिम्मुर, वन लसुन,सतुवा, जस्ता वहुमुल्य जडिवुटी पाइने अध्ययन टोलिले जनाएको छ । ‘रातो, सेतो रंगका लालिगुरास फुल्दा रहेछन,’ उनले भने, ‘डाफे सजिलै देख्न सकिन्छ ।’


खर्कमा रहेका गोठाला वाहेक स्थानीय पनि खासै उक्त क्षेत्रमा पुगेका छैनन । गुरुङले भने, ‘अध्ययनको क्रममा २०४२ सालमा जापनीको एक समुह र २०५५ सालमा कोरियन ग्रुप गएको तथ्य फेला पार्‍यौ, बेसक्याम्प पुग्न हिडेका उनिहरू वाटो अप्ठेरो हुदा फर्किएको वुझ्यौ ।’ २०७२ वैशाख १२ को भूकम्पले पैदलमार्गको निकै क्षति पुर्‍याएको पाइएको उनले बताए । ‘वाटोको अवस्था नसुधारी पर्यटक पठाउन हुदैन,’ उनले भने, ‘साघुरो वाटो विस्तार तत्काल गनुपर्ने देख्यौँ ।’

प्रकाशित : वैशाख ३१, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?