कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन

हरिराम उप्रेती

गोरखा — अवैध क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समितिले निर्देशन दिएको छ । गोरखा नगरपालिका-१० छेवेटारमा सञ्चालित गोरखकाली क्रसर उद्योग बन्द गरी यथाशीघ्र जानकारी गराउन उद्योग सञ्चालक सुरेन्द्र कुँवरलाई गत सोमबार घरेलुले पत्र काटेको हो । उनले स्थानीय राजनीतिक दलका नेताहरुसँगको मिलेमतोमा अवैध ढङ्गले झण्डै डेढ वर्षदेखि क्रसर चलाउँदै आएका थिए ।

अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन

उद्योगको नवीकरणसमेत २०७४ मंसिर ४ गते समाप्त भइसकेकाले उद्योग बन्द गर्न भनिएको छ । उक्त पत्र गण्डकी प्रदेशस्थित मुख्यमन्त्री, उद्योगमन्त्री, गोरखा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी कार्यालय र अख्तियारमा समेत जानकारीका लागि बोधार्थ पठाइएको छ । उक्त उद्योग साविकको देउराली गाविस-८ को कित्ता नम्बर ५२९ मा दर्ता छ । तर, क्रसर सञ्चालक सुरेन्द्र कुँवरले ठाउँ सारीको आवश्यक कागजपत्रबिनै छेवेटारमा उद्योग सञ्चालन गरेको पाइएको प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए ।


देउरालीको हरिमानसिं बस्नेतको नाउँमा रहेको उद्योग कुँवरले २०७४ वैशाख ५ मा नामसारी भने गरेका छन् । 'उद्योगको फाइल अध्ययन तथा स्थलग निरीक्षण अनुगमन गर्दा कुँवरको नाउँमा नामसारी भए पनि ठाउँसारी नभएको पाइयो,' राउतले भने । यसअघि उद्योगको ठाउँसारीको यथार्थ विवरण उपलब्ध गराउन सरोकारावाला निकायले पत्र काटे पनि कुँवरले अटेरी र बेवास्ता गर्दै आएका थिए । वातावरणीय प्रभाव मूल्याङ्गनसमेत नगरी उनले विद्यालय र स्थानीयवासीको खेतलाई समेत असर पर्ने गरी क्रसर चलाएका हुन् । त्यस्तो उद्योग बन्द गरी जानकारी गराउन भनेको राउतले बताए । 'अटेर गरे प्रचलित कानुनबमोजिम कारबाही गर्छौँ,' उनले भने ।


कुँवरले सरोकार राख्ने कार्यालयलाई विवरण बुझाउँदा पनि झुटा कागजपत्र पेस गरेको पाइएको छ । 'फाइल अध्ययनको क्रममा नामसारी हुँदाको कित्ता नं. ५२९ एकीन नगरी गोरखा नगरपालिका-१० मा पर्छ भन्ने मात्र उल्लेख भएको प्रमाणपत्र बुझाएको पाइयो,' उनले भने, 'यथार्थमा उक्त उद्योग नामसारी मात्र भएको ठाउँसारी नभएको देखिन्छ ।' अवैध उद्योग सञ्चालन भएको चौतर्फी गुनासो बढेपछि जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायले पत्र काट्दा गोरखा नगरपालिका-१३ मै उद्योग सञ्चालन भएको भन्दै झुटा विवरण पेश गरेको पनि पाइएको छ ।


२०७५ जेष्ठ १७ गते जिल्ला प्रशासन कार्यालय गोरखालाई सम्बोधन गरी लेखिएको पत्रमा देउरालीमै उद्योग सञ्चालन रहेको उल्लेख छ । 'जिल्ला प्रहरी कार्यालयले २०७५ चैत १० गते यथार्थ विवरण खुलाइ पठाइदिने पत्रमा ठाउँसारीमा पनि ठीक चिन्न लगाएर पेस गरेको देखिन्छ, तर उद्योगको कार्यालयमा रहेको फाइल अध्ययन गर्दा नामसारी मात्र देख्यौँ,' क्रसर संचालक कुँवरलाई काटिएको पत्रमा भनिएको छ ।


०७४ असार २७ गते उद्योगको यथार्थ ठेगाना जानकारी गराउन पत्र काट्दा पनि उनले कार्यालयलाई अटेरी र बेवास्ता गर्दै आएका थिए । 'सम्पूर्ण तथ्य हेर्दा प्रक्रिया पुगेको छैन, क्रसर उद्योग गोरखा नगरपालिका-१० छेवेटारबाट यथाशीध्र दर्ता भएको स्थान साविकको देउराली गाविस-८ (हाल गोरखा नगरपालिका-१३) को कित्ता नम्बर ५२९ मा आवश्यक प्रक्रिया पुर्‍याइ सार्न निर्देशन दिएका छौँ,' राउतले भने ।

प्रकाशित : वैशाख ३१, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?