होटल साहुनीकै सुन लुटियो

लमजुङ — भारत घर भई फ्रान्समा बसेको बताउने एक अधबैंसे मर्स्याङदी गाउँपालिका १, नायुस्थित कुमारी घलेको होटलमा बास बस्न आए  । घुमफिरको क्रममा आएको भनेपछि पर्यटक ठानेर घलेले बास दिइन्  ।

दाँत दुखेका घलेलाई ती व्यक्तिले आइतबार ब्लड प्रेसर र सुगर चेक गर्छु भनी छामछुम पारेर औषधी दिए । औषधीले दाँत दुखेको कम भयो । सोमबार टाउको पनि दुखेपछि घलेलाई ती व्यक्तिले पुनः औषधी दिए ।

त्यतिबेला उनका पति दूधप्रसाद घले बेंसीसहर गएका थिए । सोमबार करीब ११ बजेतिर दिएको औषधीले कुमारी लट्ठिइन् । उनले आँखा हेरिरहिन् । ज्यान चलेन । ‘मेरो सुन सफा गर्छु भन्दै निकाले । मैले सवै देखें तर, मेरो हातखुट्टा र ज्यान चलेन, बोलि फुटेन,’ उनले भनिन्, ‘३ तोलाको सिक्री र कानको २ तोलाजतिको रिङ लुटेर भागेछ । बिउँझिँदा २ बजेको थियो । बुढालाई फोन गरें । त्यतिबेलासम्म त्यो मान्छे कहाँ भाग्यो कहाँ ?’


स्थानीयका अनुसार उनी अंग्रेजी र हिन्दी बोल्छन् । उमेर करीब ५० बर्षका छन् । ती व्यक्ति भागेको सुइँको पाएपछि तत्काल वडाका जनप्रतिनिधिसंगै स्थानीय जम्मा भए । ती व्यक्तिको खोजी गरे । तर, कहीं फेला पार्न नसकेको स्थानीय सुलबहादुर गुरुङले बताए । सुलबहादुरले ती व्यक्तिलाई आफ्नो मोवाइलबाट सेल्फी खिच्न लगाएका थिए ।

ती व्यक्ति फेला नपरेपछि मंगलबार उक्त घटना प्रहरीको आइपुग्यो । डीएसपी यादव ढकालका अनुसार गाउँलेले ढिला खबर गरे । राती गाढी चलेपछि बिहानसम्म नाका कटिसक्छ । तर, लठ्याएर सुन लुट्ने यो नयाँ घटना भने होइन । सुन सफा गरिदिन्छु भन्ने तर, सुन लुटेर भागेका घटना यसअघिका पनि छन् ।


तीन महिनाअघि सुन्दरबजार नगरपालिका ७ कटहरबोट पोखरेल टोलमा गहना र भाँडाकुँडा सफा गरिदिन्छु भनी लठ्याएर सुन चोरेर भागेका एक भारतीयलाई भने प्रहरीले समातेको थियो । घटनामा संलग्न २ भारतीय युवक भने फरार छन् । इन्सपेक्टर बसन्त पाण्डेका अनुसार भारतको झारखण्ड प्रदेश गड्डा जिल्ला विश्वासखानी घर भएका ३२ बर्षीय हजारी साह अहिले मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

पोखरेल टोलकी राधिका मिश्रलाई गहना सफा गरिदिन्छु भनी हातमा केमिकल जस्तो बस्तु राखेर गालामा लगाइदिएर लठ्याएको र लटिठएपछि गलामा लगाएको डेढ तोला सनुको सिक्री तानेर लगेको अभियोग भारतीयलाई लागेको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?