१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बस्तीमा आगलागीको जोखिम

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ३ मा देउराली सामुदायिक वनमा आइतबार डढेलो लाग्यो  । डढेलो समयमै नियन्त्रण नहुँदा मानव बस्तीसम्म फैलियो  ।

जंगल नजिकैका २ घरमा आगो सल्कियो । आगलागीले घरसंगै ३ बाख्रा पनि जले । स्थानीय टोलनाथ आचार्यको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने केदारनाथ मिश्रको घरमा क्षति पुगेको छ ।


आचार्यको घरमा रहेका गरगहना, लत्ताकपडा, अन्नपात पूर्णरूपमा नष्ट भएको छ । तीब्र गतिमा चलेको हावाहुरीले आगो फैलिएपछि वरपर रहेका स्थानीय त्रसित बने । आगलागी नियन्त्रणको प्रयास भएपनि पहाडी भेगमा दमकल र पानीको अभावले सम्भव भएन् ।

‘सुख्खा मौसममा वनजंगलमा डढेलो लाग्ने गर्छ । हावाहुरीको कारण नजिकै रहेको बस्तीमा आगो आउँदा पनि निभाउन सकिएन,’ गैंडाकोट– ३ का वडाध्यक्ष शिवकान्त तिवारीले भने, ‘दमकल नहुनु र भौगोलिक अवस्था विकट भएको कारण अन्य समयमा पनि यस क्षेत्रमा आगलागी भएमा नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ ।’


गैंडाकोट नगरपालिकासंग आफ्नै दमकल छैन् । भरतपुर महानगरपालिकाको दमकल घटनास्थल पुग्न करिब एक घण्टा लाग्यो । पूर्वपश्चिम राजमार्गको गैंडाकोटबाट ९ किलोमिटर उत्तरमा रहेको बस्ती पुग्न दमकललाई करिब एक घण्टा लाग्यो । सडकको अवस्था जीर्ण रहेको र खानेपानीको अभाव रहेको ढोडनीका स्थानीयले आगो लागेपनि नियन्त्रणका लागि स्रोतसाधन नहुँदा टुलुटुलु हेर्नुबाहेक अन्य विकल्प थिएन ।


ढोडेनीमा मात्र होइन, पूर्वी नवलपरासीको उत्तरी पहाडी क्षेत्रको जंगलमा वर्षेनी भिषण आगलागी हुने गरेको छ । खोरिया फाँड्ने नाममा आगो लगाउदा वर्षेनी क्षति पुग्ने गरेको छ ।


दकमल किन्न आनाकानी
सुख्खायाम सुरु भएपछि तराईमा आगलागीको जोखिम बढी हुन्छ । तर, त्यसका लागि पूर्वतयारी भने छैन । पूर्वी नवलपरासीमा दमकल अभावमा आगलागीका घटना समयमा नै नियन्त्रणमा आउन नसक्दा वर्षेनी क्षति बढेको छ । जिल्लाभर एउटा मात्र दमकल छ । सदरमुकाम कावासोतीमा रहेको दमकल ग्रामीण भेगमा पुग्न घण्टौं लाग्ने भएपछि थप समस्या हुने गरेको छ । गर्मी मौसम सुरु भएसंगै आगलागीका घटना बढ्छन् । समयमै नियन्त्रणमा लिन नसक्ने हो भने यस्ले धेरै मानवीय तथा भौतिक क्षति पुर्‍याउछ । यस्तो विपत्तिका लागि पूर्व तयारी आवश्यक पर्छ ।

अग्नि नियन्त्रण टोली र दमकल अत्यावश्यक भए पनि पूर्वी नवलपरासीमा भने एउटा मात्र दमकलको भरमा चलिरहेको छ ।


बैठक भत्ता बुझ्ने र राजनीतिक कार्यक्रममा मात्र सहभागी जनप्रतिनिधिले दमकल मर्मतमा ध्यान नदिएको स्थानीयको आरोप छ । देवचुली– ३ का रमाकान्त ओझाका अनुसार सामुदायिक बनले समय समयमा आगलागी नियन्त्रणका लागि तालिम प्रदान गरेपनि स्रोत र साधनको अभावमा प्रभावकारी हुन सकेको छैन । ‘वर्षेनी जंगलमा लागेको आगोले बस्तीमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘फजुल र विलासिताका लागि लाखौंको सवारी खरिद गर्ने स्थानीय तहले दमकल किन्न भने आनाकानी गर्ने गर्दछन् ।’


दमकल सञ्चालनका लागि चालक, तालिमप्राप्त अग्नि नियन्त्रक र इन्धनमा समेत ठूलो खर्च हुने भएकाले स्थानीय तहले दमकल किन्ने हिम्मत गर्दैनन् । गाउँपालिकामा त झन् ५० देखि ६० लाख पर्ने दमकल किन्ने बजेट विनियोजन गर्न समेत समस्या छ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले दमकदल खरिदका लागि पहल भइरहको बताए । एउटा मात्र स्थानीय तहले सञ्चालन गर्न नसके पनि नजिकै रहेका अनय स्थानीय तहसँग सहकार्य गरेर भए पनि अग्नि नियन्त्रण टोली र दमकल किन्नुपर्ने आवश्यकता महसुस भएको पौडेलले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?