२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बिजुली छ, पानीसमेत तान्दैन

प्रताप रानामगर

दमौली — तनहुँको भिमादा नगरपालिका– ४ का आधादर्जन गाउँमा खानेपानी अभाव छ  । नजिकै पानीको मुल नभएको, टाढाबाट ल्याउन असंभव भएपछि ती गाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानी ल्याउने योजनामा वडा छ  ।

उक्त स्थानमा विद्युतको थ्रीफेज लाइन नहुँदा योजना अघि बढ्न सकेको छैन । त्यसैले स्थानीय भन्छन्, ‘बिजुली त छ तर पानी तान्दैन ।’ सिंगल फेजमा कम भोल्टेज हुने भएकाले पम्प तान्दैन ।

स्थानीय सारडाँडा टोल बिकास संस्थाका अध्यक्ष रमणसिं रानाका अनुसार सिंगल फेज तारले पम्प नचल्ने तर थ्रीफेजको सुविधा नभएकाले लिफ्टिङ खानेपानी योजना अघि बढाउन सकिएको छैन । ‘थ्रीफेज लाइन छैन, सिंगलले पम्प नतान्ने रैछ’, उनले भने, ‘विद्युतकै कारण योजना अगाडि बढेको छैन ।’ थ्रीफेज लाइन आएपछि मात्र खानेपानी योजना पहल गर्ने उनले उनले बताए ।

विद्युतकै कारण सारडाडाँ, धवादी, गिजनडाडाँ र सिविल गाउँमा खानेपानी समस्या समाधान हुन सकेको छैन । यी ४ गाउँका १ सय ९० घर खानेपानी आयोजना सञ्चालन गर्नका लागि थ्री फेज लाइनका प्रतिक्षामा बसेका छन । ‘सिंगल फेज लाइनले गाउँभरी बिजुली बत्ती बलेको छ,’ स्थानीय खिमबहादुर गुरुङ्गले भने, तर घरेलु उद्योग संचालन गर्न पाएको छैनौ । पानी पनि समयमै नपाइने भयो ।’

नगरका सबै ९ वटै वडामा बिजुली बलेको छ । तर, वडा ६ को बजारबाहेक बाँकी सबै वडामा थ्रीफेज लाइन छैन । भिमाद बजारमा बाहेक अन्यत्र थ्री फेज नपुगेको नगर प्रमुख मेखबहादुर थापाले बताए । ‘नगरपालिकाको बजार भित्रमात्र थ्री फेज छ,’ उनले भने, बाँकी सबै ठाउँमा सिंगल फेज लाइन मात्र पुगेको छ ।’

सिंगल फेज मात्र होइन, कम भोल्टेजको विद्युत प्रवाह भएको उनले बताए । थ्री फेजमा विद्युतीकरण गरिदिन विद्युत प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको उनले बताए । हरेक समयमा खबरदारी गर्दा पनि विद्युत प्राधिकरणले अटेर गरेको उनले बताए । थ्रीफेज लाइन विस्तार गरी भोल्टेज बढाउन आग्रह गरिएको छ ।

उच्च भोल्टेजको बिजुली नहुँदा उद्योग तथा कलकारखाना संचालनमा समस्या देखिएको छ । स्थानीय घरेलु उद्योग ढिकी जातोमा अन्न कुटानी पिसानी गर्न बाध्य छन भने फर्निचर उद्योग संचालन नहुादा परम्परागत रुपमा काठ चिर्न बाध्य भएको स्थानीयको भनाइ छ ।

विद्यूत प्राधिकरण तालचोक वितरण केन्द्रका ईन्जिनियर मेखनाथ भट्टराइका अनुसार उक्त क्षेत्रमा स्थानीय तहबाटै विद्युतीकरण भएकाले यो समस्या रहेको हो ।’ केन्द्रमा थ्री फेज लाइनका लागि कुनै पनि निवेदन नपरेको उनले बताए । ‘धावदी गाउँले चालू वर्षमा थ्रीफेज लाइनको माग गरेको थियो,’ उनले भने, ‘बजेट नभएर माग सम्बोन्धन गर्न सकिएन ।’

आगमी आर्थिक बर्षमा बजेट निकासा गर्ने छलफल भइरहेको उनले बताए । खैरेनीटारमा सवस्टेशन निर्माण भइरहेकाले भिमाद क्षेत्रमा भोल्टेजको समस्या देखिएको भन्दै उनले सवस्टेशन बनेपछि समस्या समाधान हुने उनले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?