कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सहज रूपमा उपचार छैन

स्वास्थ्य बिमा कार्यक्रम
सरकारले बिमा गरेका बिरामीलाई उपलब्ध गराउन भनेर तोकेको औषधीसमेत अस्पतालमा पाइँदैन

तनहुँ — ‘समयमै सहज रूपमा उपचार सेवा पाइएला भनेर बिमा गरियो, तर सोचे जस्तो भएन’ दमौली अस्पतालमा सासुको उपचारमा पुगेकी व्यास– २ की रेखा श्रेष्ठ भन्छिन्, ‘स्वास्थ्य बीमा गराएपछि सहज रूपमा गुणस्तरीय औषधोपचार गर्न पाइएला भनेको लामो समय कुर्दा पनि पालो पाइएन  ।’

सहज रूपमा उपचार छैन

अन्य बिरामीलाई भन्दा बीमा गरेका विरामीलाई फरक व्यवहार गरिने भन्दै पैसा तिरेर उपचार गर्ने सकिएपछि मात्रै बिमा गर्नेको पालो आउने र चिकित्सकले भनेको सबै औषधी पनि नपाइने उनले बताइन् ।

सरकारले बिमा गरेका बिरामीलाई उपलब्ध गराउन भनेर तोकेको औषधीसमेत अस्पतालमा नपाएर नीजि पसलबाट किन्नुपरेको श्रेष्ठको भनाइ छ । भन्छिन्, ‘सासुआमा प्रेसर र सुगरको बिरामी हुनुहुन्छ, उहाँलाई मासिक जसो चेकअपका लागि ल्याउनु पर्छ, प्रेसरको औषधी पनि एक/दुई पटक पाइयो । अहिले बिमाका सेवाग्राहीले निःशुल्क पाउने यहि प्रेसरको औषधी पनि बाहिरबाट किन्न लगाइन्छ ।’

गुनासो गर्ने श्रेष्ठ एक्ली होइनन् । मिर्गौलाका बिरामी म्याग्दे– १ गुणादीका बिनोददत्त खनालले पनि डाक्टरले लेखिदिएको औषधी पुरै पाउन सकेका छैनन । औषधी उपलब्ध गराउन नसक्नु अस्पतालको कमजोरी भएको खनाल बताउँछन् । ‘अन्य बिरामी उपचारका लागि अस्पताल आउदा १० देखि २० रूपैयाँको टिकटमा सेवा लिन्छन् तर, बिमा गरेका सेवाग्राहीलाई भने २ सय रूपैयाँ बराबरको टिकट दस्तुर लिइदो रहेछ’ खनाल भन्छन्, ‘हामीले पैसा दिन नपरेपनि हाम्रो खाताबाट टिकट वापत नै दुई सय रूपैयाँ काटिदो रहेछ, केही फाइदा अनि उपचारमा सहज होला भनि बिमा गरियो तर, बिमा गरेका सेवाग्राहीको टिकटै महंगो रहेछ ।’

सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्दा सर्वसाधारणलाई लाग्यो, समयमा सहज र प्रभावकारी उपचार पाइन्छ । यही आशमा स्वास्थ्य बिमा गर्नेको संख्या हाक्तै बढ्यो । यो त्रम अझै जारी छ । तर, सोचे जस्तो सहज सेवा नपाइएको गुनासो यतिबेला सर्वसाधारणले गर्न थालेका छन ।

निःशुल्क उपचार गर्न आएको जस्तो गरी टिकट दिन पनि ढिलो गर्ने, निःशुल्क दिने भनिएको औषधी पनि नपाइने जस्ता समस्या झेल्नुपरेको स्वास्थ्य बिमा गरेकाहरूको गुनासो बढो छ । स्वास्थ्य बिमाका सेवाग्राहीलाई सबै प्रकारको औषधी उपलब्ध गराउन नसकिएको दमौली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुनिल पौड्याल बताउँछन् ।

‘सरकारले बिमाका सेवाग्राहीलाई उपलब्ध गराउन २ सयवटा औषधी राखेको थियो, त्यसपछि ३ सयवटा र विस्तारै सरकारले औषधीको संख्या बढाउँदै गएको छ,’ उनले भने, ‘सरकारको नियम अनुसार जाँदा हामीले औषधी मगाउने भनेको टेण्डरमार्फत ३ देखि ४ सयवटा औषधी हो । यसले गर्दा सबै उपलब्ध हुन सकेको छैन ।’

औषधी खरिद प्रक्रियाबाट अगाडि गएर औषधी उपलब्ध गराउन नसक्ने र अस्पतालबाट सबै प्रकारका औषधी मगाए पनि सप्लायर्सले उपलब्ध गराउन नसक्ने भएकाले औषधीको अभाव भएको पौड्यालको भनाइ छ ।

सरकारले राष्ट्रिय नीति नै बदलेर औषधी ल्याउन सजिलो प्रक्रिया बनाइदियो भने बिमा लगायत अन्य बिरामीले आवश्यक औषधी तथा सहज रूपमा उपचार सेवा उपभोग गर्न पाउने पौड्यालले बताए । राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अहिले परिवारका ५ जनासम्मलाई ३ हजार ५ सय रूपैयाँ तिरेर एक वर्षका लागि स्वास्थ्य बिमा गर्दा एक लाख रूपैयाँ बराबरको उपचार सेवा पाउछन । यसअघि २ हजार ५ सय रूपैयाँमा बिमा गरेर ५ जनाको परिवारले ५० हजार रूपैयाँ बराबरको स्वास्थ्य सेवा लिने व्यवस्था गरिएको थियो ।

तनहुँका १० वटै स्थानीय तहबाट ११ हजार ७ सय ४८ परिवारले स्वास्थ्य बिमा कार्यक्रममा सहभागि गत फागुनबाट सेवा लिदै आएका छन् । अस्पतालबाट सेवा लिने ४९ हजार ४ सय ५५ मध्ये २ हजार ४ सय ४२ जना अति गरिव परिवारबाट रहेको स्वास्थ्या बिमा बोर्ड तनहुँका प्रमुख नवराज भट्टराइले बताए ।

स्वास्थ्य बिमामा बन्दीपुर गाउँपालिकाका ६ सय ६९, आँबुखैरेनी गापाबाट ५ सय ४७, भानु नगरपालिकाबाट ९ सय ६, भिमाद नगरबाट २ हजार ९४, देवघाट गाउँपालिकाबाट ९ सय १७ परिवारले उपचार सेवा लिँदै आएका छन । व्यास नगरपालिकाबाट २ हजार १ सय ३७, घिरिङ गापाबाट ४ सय ७०, म्याग्दे गापाबाट ७ सय ४५, रिसिङ गापाबाट ३ सय ३७, शुक्लागण्डकी नगरका २ हजार ९ सय २६ परिवारले बिमाबाट उपचार सेवा लिइरहेको बिमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा गराएका सर्वसाधारणले तनहुँको दमौली अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, सुन्दर बजार अस्पताल, भरतपुर अस्पतालबाट सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै जिल्लाका नजिक रहेका भरतपुर अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, सुन्दर बजार अस्पतालमा समेत बिमा गरेका सर्वसाधारणले सेवा लिन पाउँछन् ।

बिमा गरिसकेपछि सदस्यले तोकिएका सेवा प्रदायक संस्थाबाट बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, ५ जनासम्मको परिवारले आवश्यक पर्दा वार्षीक ५० हजार रूपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् । त्यस्तै ५ जनाभन्दा बढी सदस्य भएमा १० हजार सुविधा थपिनेछ, यसको अधिकतम सीमा १ लाखसम्म हुनेछ । स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेल भन्छन्, ‘प्रदेशमै बिमाप्रति स्थानीयतको रुचि बढ्दो छ र प्रभावकारी बनिरहेको छ । सरकारले ल्याएको नीति अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्सेनी एक लाख रूपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन् ।’

उनका अनुसार ज्येष्ठ नागरिकलाई छुट्टै युनिट मानेर वार्षिक एक लाख रूपैयाँ बराबरको निःशुल्क बिमा गरी उपचार सेवा उपलब्ध गराउने गरी तनहुँमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं ।

गण्डकी प्रदेश भित्रका ६ जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या २ लाख ६५ हजार ७ सय रहेको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक खरेलले जनाए । वाग्लुङमा ४३ हजार १ सय, कास्कीमा १ लाख ९ हजार, गोरखा ३४ हजार २ सय, म्याग्दीमा १३ हजार ८ सय, तनहुँमा ५४ हजार १ सय, स्याङ्जामा ११ हजार ५ सय जनाले स्वास्थ्या बिमा गरेका छन ।

बिमा कार्यक्रममा अतिगरिवको सूचिमा तनहुँ, गोरखा र वाग्लुङ जिल्लाबाट २७ हजार जना सूचिकृत भई उपचार सेवा लिइरहेका छन् । प्रदेशमा रहेका बिमा सेवाग्राहीहरूले प्रदेशका विभिन्न ३४ वटा अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था छ ।

स्याङ्जामा स्वास्थ्य बीमाको उपचार शुरु
स्याङजा– स्वास्थ्य बीमा गराएका बिमितको बुधबारबाट जिल्लाका स्वास्थ्य संस्थामा उपचार शुरु भएको छ । गत चैत मसान्तसम्म स्वास्थ्य बिमाको फारम भरेका बिमितलाई जिल्लाका दुई अस्पताल र तीन स्वास्थ्य केन्द्रमा उपचार सुविधा उपलब्ध भएको हो ।

ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पहिलो विन्दुका रूपमा रहेर उपचार गराउन आएकी पहिलो बिमित सेवाग्राहीलाई स्वागत गरी वालिङमा स्वास्थ्य बीमा उपचारको शुभारम्भ गरिएको हो । उपचार गराउन आएकी वालिङ नगरपालिका– ४ की ४९ वर्षीया प्रेमकुमारी खनाललाई वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्य केन्द्रमा स्वागत गरी यस कार्यको शुभारम्भ गरे ।

शुभारम्भ गर्दै नगर प्रमुख खाँणले गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन स्वास्थ्य बीमाले सहयोग गर्ने बताएका थिए । उनले सामान्य स्वास्थ्य समस्याकै कारण उपचार नपाएर अकालमा मृत्युवरण गर्नुफर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गर्दै स्वास्थ्य बिमा कार्यत्रममा सहभागी हुनसमेत आग्रह गरेका थिए ।

त्यस्तै बिमितलाई पहिलो बिन्दुको रूपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमुल स्वास्थ्य केन्द्र गरी ५ स्वास्थ्य संस्थाको ब्यवस्था गरिएको छ ।

तोकिएका यहाँका ५ ठाउँमा उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो बिन्दुकोरूपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइने दर्ता अधिकारी ध्रुव हमालले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?