१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

माझगाउँमा घरबास

आश गुरुङ

लमजुङ — बेंसीसहरबाट नजिकै दोर्दी गाउँपालिका– ९ हिलेटक्सारको माझगाउँबासीले घरबास (होमस्टे) संचालनमा ल्याएका छन् । २०६३ देखि पर्यटन प्रवर्द्धनमा लागेका स्थानीयले एक दशकपछि गाउँमा होमस्टे संचालन गरेका हुन् ।

माझगाउँमा घरबास

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, मेमेपोखरी साथै मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने माझगाउँमा संचालन गरिएको होमस्टेले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।

‘पर्यटन प्रवर्द्धनका योजना, सरकारले अवलम्बन गरेका नीति नियम पालना गरी प्रचारप्रसारका कार्यक्रमसहित अघि बढेमा होमस्टे सफल हुन सक्छ,’ आइतबार होमस्टे उद्घाटन गर्दै उनले भने, ‘रहर, लहड र योजना बिनाका कुनैपनि कामले सफलता हासिल गर्न सक्दैन ।’

गण्डकी प्रदेशमा समृद्धिको पहिलो आधार पर्यटन रहेकाले पर्यटन प्रवर्द्धन गर्न सकिए स्थानीयको जीवनस्तर उकासिने उनले बताए । ‘सन् २०२१ बाट पोखरामा अन्तराष्ट्रिय उडान सुरु हुन्छ । पर्यटकले सहर नभई गाउँ खोज्नेछन्’ उनले भने, ‘गाउँमा बासको व्यवस्थापन गरिएन भन भोलि पर्यटक राख्ने ठाउँ हुँदैन ।’

नेकपा गण्डकी प्रदेश प्रमुख सचेतक मायानाथ अधिकारीले पर्यटन प्रवर्द्धनले ग्रामीण जनजीवनको उन्नति हुँदै आएकाले यसलाई अझै व्यवस्थित ढंगले संचालन गर्नुपर्ने बताए । गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले विदेशिएका युवालाई गाउँमै रोजगारी दिन होमस्टेलाई व्यवस्थित तरिकाबाट संचालन गर्नुपर्ने बताए । पूर्व सांसद जमीन्द्रमान घलेले विदेशिएका युवा गाउँ फर्केर व्यवसायमा संलग्न भएकाले युवालक्षित कार्यक्रमको प्रभावकारिता बढाउनुपर्ने बताए ।

हिलेटक्सार ग्रामीण पर्यटन होमस्टे प्रवर्द्धन समितिका अध्यक्ष दूर्योधन गुरुङले माझगाउँका ५ वटा घरबाट होमस्टे संचालन गरिएको बताए । उनका अनुसार करीब २५ पर्यटकलाई एकैपटक व्यवस्थित तरिकाले राख्ने संरचना बनेको छ ।

पुराना यसअघिका कोठामा नयाँ संरचना निर्माण गरी नयाँ वेडसेट तथा साजसज्जा गरी होमस्टे संचालनमा ल्याएको उनले बताए । ‘हरेक घरमा २ कोठा र ६ वटा बेडसम्म रहने गरी होमस्टे संचालन थालेका छौं । यसलाई बढाउने तयारीमा छौं’ उनले भने । उनका अनुसार हरेक घरमा शौचालय र नुहाउने कोठाको व्यवस्था छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?