अवैध क्रसर बन्द गर्न निर्देशन

हरिराम उप्रेती

गोरखा — किर्ते कागजात खडा गरी अवैध रुपमा सञ्चालित यहाँको एक क्रसर उद्योग वन्द गर्न घरेलु तथा साना उद्योग विकास समितिले निर्देशन दिएको छ ।

गोरखा नगरपालिका– १० छेवेटारमा संचालित गोरखकाली क्रसर उद्योग बन्द गरी यथाशीघ्र जानकारी गराउन उद्योग संचालक सुरेन्द्र कुँवरलाई सोमबार घरेलुले पत्र काटेको हो । उनले स्थानीय राजनीतिक दलका नेतासँगको मिलेमतोमा अवैध ढंगले झन्डै डेढ वर्षदेखि क्रसर चलाउँदै आएका थिए ।


उद्योगको नवीकरण समेत २०७४ मंसिर ४ मा समाप्त भइसकेकाले उद्योग बन्द गर्न भनिएको छ । उक्त पत्र गण्डकी प्रदेशस्थित मुख्यमन्त्री, उद्योगमन्त्री, गोरखा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी र अख्तियारमा समेत पठाइएको छ ।


उक्त उद्योग साविकको देउराली गाविस– ८ को किक्ता नम्बर ५२९ मा दर्ता छ । तर त्रसर संचालक कुँवरले ठाउँ सारीको आवश्यक कागजपत्रबिनै छेवेटारमा उद्योग संचालन गरेको पाइएको प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए ।


देउरालीको हरिमानसिं बस्नेतको नाउँमा रहेको उद्योग कुँवरले २०७४ वैशाख ५ मा नामसारी भने गरेका छन् । ‘उद्योगको फाइल अध्ययन तथा स्थलगत निरीक्षण अनुगमन गर्दा कुँवरको नाउँमा नामसारी भए पनि ठाउँसारी नभएको पाइयो,’ राउतले भने ।


यसअघि उद्योगको ठाउसारीको यथार्थ विवरण उपलब्ध गराउन सरोकारावाला निकायले पत्र काटे पनि कुँवरले अटेरी र बेवास्ता गर्दै आएका थिए । वातावरणीय प्रभाव मूल्याङ्गन समेत नगरी उनले विद्यालय र स्थानीयबासीको खेतलाई असर पर्नेगरी क्रसर चलाएका हुन् । त्यस्तो उद्योग बन्द गरी जानकारी गराउन भनेको राउतले बताए । ‘अटेर गरे प्रचलित कानुन बमोजिम कारबाही गर्छौँ,’ उनले भने ।


कुँवरले विवरण बुझाउँदा पनि झुटा कागजपत्र पेस गरेको पाइएको छ । ‘फाइल अध्ययनको क्रममा नामसारी हुँदाको कित्ता नं. ५२९ एकिन नगरी गोरखा नगरपालिका– १० मा पर्छ भन्नेमात्र उल्लेख भएको प्रमाणपत्र बुझाएको पाइयो,’ उनले भने, ‘यथार्थमा उक्त उद्योग नामसारी मात्र भएको ठाउँसारी नभएको देखिन्छ ।’


अवैध उद्योग संचालन भएको चौतर्फी गुनासो बढेपछि प्रशासन लगायत सरोकारवाला निकायले पत्र काटा गोरखा नगरपालिका–१३ मै उद्योग संचालन भएको भन्दै झुटा विवरण पेस गरेको पनि पाइएको छ ।


२०७५ जेठ १७ मा जिल्ला प्रशासनलाई सम्बोधन गरी लेखिएको पत्रमा देउरालीमै उद्योग संचालन रहेको उल्लेख छ । ‘जिल्ला प्रहरीले गत चैत १० मा यथार्थ विवरण खुलाइ पठाइदिने पत्रमा ठाउँसारीमा पनि ठिक चिन्न लगाएर पेश गरेको देखिन्छ, तर उद्योगको कार्यालयमा रहेको फाइल अध्ययन गर्दा नामसारी मात्र देख्यौँ,’ कुँवरलाई लेखिएको पत्रमा भनिएको छ ।


०७४ असार २७ गते उद्योगको यथार्थ ठेगाना जानकारी गराउन पत्र काटा पनि उनले कार्यालयलाई अटेरी र बेवास्ता गर्दै आएका थिए । ‘सम्पुर्ण तथ्य हेर्दा प्रक्रिया पुगेको छैन, क्रसर उद्योग गोरखा नगरपालिका– १० छेवेटारबाट यथाशीघ्र दर्ता भएको स्थान साविकको देउराली गाविस– ८ (हाल गोरखा नगरपालिका–१३) को कित्ता नम्वर ५२९ मा आवश्यक प्रक्रिया पुर्‍याइ सार्न निर्देशन दिएका छौँ,’ राउतले भने ।


भूकम्प आपतकालीन सहायता परियोजना अन्तर्गत पालुङटार नगरपालिकाको लुइँटेल भन्ज्याङदेखि थालाजुङ्गसम्म सडक स्तरोन्नतिका लागि दरौदी नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि अनुमति लिएर छेवेटारमा संचालित क्रसर बन्द गरिएको भन्दै ठेकेकदार कम्पनी लामा अमर कन्ट्रक्सनले सम्बन्धित निकायमा गत पुस ९ गते जानकारी गराएको छ ।


उत्त स्थानमा निर्माण सामग्री संकलनको जिम्मा उनै कुवरले पाएका थिए । परियोजनाको अवधि सकिएपछि उनले सोही ठाउँमा देउरालीमा दर्ता भएको गोरखकाली क्रसर उद्योग संचालन सुरु गरेका हुन् । उक्त स्थानमा उद्योग संचालनका लागि प्रारम्भिक वातावरणीय परीक्षणसमेत नभएको पाइएको छ ।


यसअघि पटकपटकको अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयले उक्त उद्योगलाई सके वैध तवरले संचालन गर्न नसके बन्द गर्न निर्देशन दिँदै आएका थिए । केही सांसद र राजनीतिक दलका नेताको आडमा संचालित क्रसर अन्ततः घरेलुले बन्द गर्न निर्देशन दिएपछि उद्योग संचालक कुँवरले उद्योग निरन्तर संचालनका लागि अन्तिम प्रयास थालेको स्रोतले बताएको छ । उद्योगको विषयमा अख्तियारले समेत चासो राख्दै आएको थियो ।


गोरखा नगरपालिका– १० को वडा कार्यालयमा यहाँका ३१ किसानले निवेदन समेत दिएका थिए । ‘खेतको बीचमा खुलेको क्रसरले माटो रुखो बनायो, ३१ मुरी धान हुने खेतमा १५ मुरी पनि फल्न छाड्यो भन्दै किसानले निवेदन पनि दिएका छन्,’ वडाध्यक्ष देवी बस्नेतले भने, ‘वडा कार्यालयले संचालनको अनुमति पनि दिएको छैन, वैधानिक भए टाउको दुखाइ भएन, चल्नुपर्‍यो अवैधानिक भए हट्नुपर्‍यो भन्ने वडावासीकै माग हो ।’ तारा मावि छेवेटारबाट २ सय मिटर क्षेत्रमा संचालित उद्योगले विद्यालयको पठनपाठनमा पनि समस्या परेको उनले बताए ।


‘विद्यालय नजिकैबाटै दिनमा सय बढी टिपर हर्न बजाउँदै गुड्छन्, वडा कार्यालयमा त्यो क्रसरले पारेको प्रभावको गुनासो दिनदिनै आउन थाल्यो,’ उनले भने । अवैध तवरले चलेको उद्योगले स्थानीयलाई सास्ती भएपछि वडा कार्यालयले जिल्ला प्रशासनमा उजुरी दिएर घरेलु, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा जानकारी गराएको थियो । ‘देउरालीको उद्योग छेवेटारमा ल्याएर कसरी चल्यो,’ बस्नेतले भने, ‘जिल्ला प्रशासनदेखि यससँग सम्बन्धित सवै कार्यालयले हामीलाई पटकपटक सोध्ने प्रश्न यही बनेको छ ।’


वडा कार्यालयले किसानका गुनासासहितको पत्र गत वैशाख १३ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएर अन्य निकायमा बोधार्थ पठाएको थियो । प्रदेशको मुख्यमन्त्रीको कार्यालयलले वैशाख १६, उद्योग मन्त्रालयले वैशाख २० छुट्टाछुट्टै पत्र पठाएर ऊक्त त्रसरलाई आवश्यक कारबाही गरी जानकारी दिन भन्दै घरेलुलाई पत्र काटेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?