कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बर्खालाई जोहो

पुसमा गाउँघरमा हिउँ पर्न सक्ने भएकाले माघमा रुख ढालेर दाउरा फुटाउने चलन छ । गाउँघरमा ल्याइएको दाउरालाई चर्को घाममा सुकाएपछि चैत–वैशाखमा खलियो बनाएर राखिन्छ ।
आश गुरुङ

लमजुङ — बर्खायाघममा पानी पर्छ । वनजंगलमा जुका लाग्छ । झाडी पनि उत्तिकै । हिँड्न सकिँदैन । धान र कोदो रोप्ने चटारो उस्तै हुन्छ । बर्खायामका लागि दाउराको व्यवस्थापन गर्नु चैत/वैशाख महिना राम्रो महिना मानिन्छ ।

बर्खालाई जोहो

दाउरा बोक्नलाई फागुन महिना । काट्नलाई माघ । पुसमा गाउँघरमा हिउँ पर्न सक्ने भएकाले माघमा रुख ढालेर दाउरा फुटाउने चलन छ । काटेर गाउँघरमा ल्याइएको दाउरालाई चर्को घाममा सुकाएपछि चैत–वैशाखमा खलियो बनाएर राखिन्छ ।


ग्रामीण भेगमा खाना पकाउन र बर्खायाममा चिसो लुगाफाटा तथा स्याखु तथा बख्खु सुकाउन आगो बालिन्छ । चिसो याम भए पनि सुकाएर राखिएको दाउरा त्यतिबेला राम्रोसँग बल्छ ।


क्ब्होलासोंथर ३, घलेगाउँका मोतीप्रसाद घलेका अनुसार यतिबेला त गाउँलेले बर्खायामका लागि दाउराको जोहो गरिसके । अन्य समय सुकेको दाउरा टिप्ने र बाल्ने गरिन्छ । तर, बर्खायामको लागि माघमा काँचो दाउरा काटेर बाटोबाटै तथा घरमा ल्याएर सुकाइन्छ । राम्रोसँग सुकेपछि मात्रै घर ल्याइन्छ । ‘बर्खायाममा पनि होमस्टेमा पर्यटक आउँछन् । गाउँघरमा आएपछि अँगेनाको छेउमा बस्न रुचाउँछन् । त्यसैले पनि दाउराको जोहो राम्रै गर्नुपर्‍यो,’ उनले भने ।


स्थानीयका अनुसार बर्खायाममा सबै व्यस्त हुन्छ । दाउराको चाँजोपाँचो हिउँदमै गर्नुपर्छ । चैत वैशाखमा गर्मी हुने भएकाले दाउरा बोक्न समस्या हुन्छ । क्ब्होलासोंथर गाउँपालिका ५ सिङदीका बादीलाल गुरुङले समूहमा विभाजन भएर काँचो दाउरा काट्ने र बोक्ने गर्छन् । ‘छोरा मान्छेले दाउरा काट्छन् । बोक्ने छोरी मान्छे हो,’ उनले भने ।


बेंसीसहर नगरपालिका १० गाउँभाचोकका तीर्थबहादुर गुरुङले गाउँलेबीच पर्मा उठाएर दाउरा काटिएको र त्यसैगरी बोकेर गाउँमै ल्याइएको बताए । ‘जे कुराको पनि सोच गर्नु भन्छन् । दाउराको जोहो पनि बर्खाअगावै गरिएको हो’ उनले भने । माघमा काटेको दाउरा फागुन चैतमा सुकाएर वैशाखमा खलियो बनाउने गरिएको र असार, साउन, भदौ र असोजसम्म बाल्ने उनले बताए ।


दोर्दी गाउँपालिका ६ ताँजेका डम्मर घलेका अनुसार गाउँमा सवै काम आलोपालो हुन्छ । माघमा आलोपालो गरेर दाउरा काट्ने र फागुन चैतमा बोकिन्छ । सुकेको दाउरा घरमा ल्याएर खलियो बनाइन्छ । ‘गाऊँमा सवै काम मिलेर गर्ने चलन छ । व्यक्तिव्यत्तिका दाउरा आफूलाई कति चाहिन्छ, त्यसको अडकल गरी आलोपालो गरेर काटिन्छ,’ उनले भने । वरपरका छरछिमेक मिलेर आलोपालो गरी दाउरा काट्ने र बोकेर घरसम्म ल्याइने उनले बताए ।


लमजुङका प्रायः ग्रामीण भेगमा बर्खायामको लागि दाउराको जोहो गर्ने चलन छ । यसका लागि माघ महिना र कतैकतै फागुन महिनामा काँचो दाउरा काट्ने चलन छ । स्थानीयले सग्लो रुख नभई बुढो, नराम्रो तथा ढलेको रुख काट्ने गरेका छन् ।


इलामपोखरी, दूधपोखरी, ताघ्रिङ, घेर्मु, सिउरुङ, घनपोखरा, पसगाउँ, भुजुङ, लगायतका गाउँमा काँचो दाउरा काट्ने र बर्खाका लागि जोहो गर्ने चलन छ । अन्य ठाउँमा त्यति प्रयोगमा नआए पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा रुख काटिसकेपछि वृक्षरोपण गर्ने गरिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?