सडकले सहज

निसीखोलाका स्थानीयले ७ दिन लगाएर बुटवल पुग्नुपर्ने बाध्यता हटेर १ दिन पनि नलाग्ने भयो
प्रकाश बराल

बागलुङ — चाउरी परेको अनुहार । मुहार जतिबेल्यै खुसी । भेडाको ऊनको धागो कातिरहेकी ७१ वर्षीया भगिमला घर्तीले जीवनमा भोगेका दुःखको बेलीबिस्तार लगाउँदा युवायुवती झुम्मिएर सुनिरहेका थिए । 

सडकले सहज

निसीखोला- ६ भलकोटकी घर्तीले १० बर्षको उमेरमा बाबुआमासँगै सातादिन लगाएर बुटवल पुगेको दुःख सम्झंदा मोटर चढेर बुटवल पुग्ने अहिलेको पुस्तालाई एकादेशको कथा जस्तै भयो ।


'नुन र तेल लिन जाँदा १५ दिनमा घर आइपुगेकी थिएँ' घर्तीले भनिन्, 'अहिले घरमै मोटर आयो, एक पाईला पनि हिड्न पर्‍या छैन । एकदिन पुरै हिडेर बुर्तिवाङ पुगेको दुःख पनि हट्यो ।' मोटरमा दुइ घण्टामा बुर्तिवाङ पुग्न पाएर उनी दंग छिन । मध्यपहाडी लोकमार्ग निसीखोलाको भलकोट हुँदै रुकुम पुगेपछि हालै मात्र घर्तीले पहिलो पटक मोटर चढेको बताइन् ।


लोकमार्गको बुर्तिवाङदेखि पश्चिम रुकुम सिमानातर्फको बाटो ग्राभेल गरेको छ । केही खण्डमा कालोपत्रेको तयारी भइसकेकोले यात्रा सहज हुँदै छ । बुर्तिवाङदेखि पूर्वी रुकुमकोटसम्म बस चल्न थालेको छ । हिउँ परेर पातीहाल्ने भञ्ज्याङ आसपासमा रोकिएको काम अगाडि बढेपछि बस चढेर रुकुमवासी बुर्तिवाङ आउन थालेका छन् । धागोबाट बुनेका कपडा लगाएर जाडो छल्ने घर्तीजस्ता धेरैले अहिले सुकिलामुकिला लुगा लगाउन थाले । घर्तीले पुरानो काम भने छाडेकी छैनन् । सडक पुगे पनि कतै निस्कंदा डोको बोकेरै हिंड्छिन् ।


सडककै कारण यहाँ व्यावसायिक कारोबार सुरु भएको छ । 'पैदलै हिंडेर बुर्तिवाङबाट चामल बोकेर घर ल्याउँदा दुई दिन लागेको थियो,' स्थानीय दलबहादुर बुढामगरले भने, 'अब त फोन गरेर मगाए पनि हुने भयो ।' घरमै बसीबसी ट्रयाक्टरले सामान ल्याइदिंदा दंगै परेको उनले बताए । सडक छेउमा रेस्टुरेन्ट पनि खुल्न थालेका छन् । डाँडाको टुप्पोमा बसेकाले खोलाछेउमा आएर छाप्रो बनाएर बस्न थालिसके । केहीले पक्की घरकै जोहो गरेका छन् ।


निसीखोला गाउँपालिका-६ को भलकोट, सिप, तिलाचनलगायत गाउँबासीले पिठ्युँमा बोकेर बजारको चामल ल्याउन नसक्दा आलु, जौ र मकैका परिकार खान्थे । 'चाडपर्वमा खानका लागि चामल र बजारबाट तरकारी ल्याउँथ्यौं, अरुबेला आलु र आँटो खाएर जीवन धानियो,' घर्तीले भनिन्, 'अहिले दिनदिनै भात खाने बानी परेको छ ।' विकास निर्माण गाउँमा भित्रिएपछि खाने र लाउने बानीमा परिवर्तन भएको उनले बताइन् ।


सडक आएपछि गाउँलेले ढुंगाखानी चलाएर पैसा कमाउन थालेका छन् । 'पाखोबारीका ढुंगा सहरका व्यापारीले किनेर लैजान्छन्, केही स्थानमा हामीले छाउने र टायल बनाउने गरी काट्न थालेका छौं,' स्थानीय बिलबल घर्तीले भने, 'मोटर आएकाले सबै कुरा बिक्न थालेको छ ।' घर्तीले ५० भेडा पालेका छन् । झन्डै ३ रोपनी जमिनमा आलु लगाएका छन् ।


खाएर नसकिने आलु बुटवलका व्यापारीलाई बेचेको उनले बताए । 'सजिलै बजार पुग्ने भएपछि आलु बेचेर पैसा कमाउन सकिने भयो,' घर्तीले भने, 'भेडा खोज्नसमेत तराईबाट व्यापारी आउन थालेका छन् ।' यसअघि घोडाखच्चरमा बोकाएर पनि आलु बजार पठाइन्थ्यो ।


बाहिरको मानिस देख्दा लुक्न खोज्ने केटाकेटी र महिला आलकल खुल्न थालेको उनले बताए । 'नौलो मानिस देख्दा घरभित्र पस्ने चलन हटेको छ । बोली बचनमा पनि बिस्तारै सुधार आइरहेको छ' उनले भने, 'यो सबै मोटरबाटोको कमाल हो ।' शिक्षा र स्वास्थ्यमा बिकास गर्न सकेमा निसीखोलाको सभ्यतामा सुधार आउने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । राजमार्गकै कारण विकट गाउँमा छिटो परिवर्तन आएको पौडेलको भनाइ छ ।


'आफ्नै बजेटले सामान्य ग्रामीण सडक मात्र बनाउन सकिन्छ, राजमार्ग आएर सजिलो भयो,' पौडेलले भने, '३५ किमि खण्डको सडक राजमार्गमा परेकोले निसीखोलामा बिकासको ढोका खुलेको छ ।' सडक बिस्तारले कृषि फसल सजिलै बिक्री हुने, बिरामी पर्दा उपचारमा लैजान सकिने र पर्यटक बढाउन सकिने उनले बताए । गाउँपालिकाले भलकोट, नरसिंहकोट लगायतका क्षेत्रलाई पर्यटकीय बनाउन पहल गरेको छ । त्यस्तै निसेलढोरसम्म पदमार्ग बनाउने योजना छ ।


निसीखोलाको पानी सदुपयोग गर्दै स्थानीयले बनाएका केही लघु जलविद्युत्ले यहाँ बिजुली बलेको छ । अन्य व्यवसायलाई विद्युत् अभाव छ । उत्तरगंगा जलविद्युत जलासययुक्त बनाएमा पावरहाउस निसीमै पर्छ । त्यो विद्युत् गृहले राष्ट्रिय विद्युत् र औद्योगिकरणसँगै निसीखोलाको विकासमा पनि योगदान दिने पौडेलले बताए ।


'पानी यता खसाल्दा निसीखोलाको क्षमता पनि बढ्छ र लघु विद्युत् ठूलो बिद्युतमा परिणत हुन्छन्,' पौडेलले भने, 'उज्यालो गाउँपालिकाको सपना हामीले देखेका छौं ।' निसीखोलाका केही आयोजनाको क्षमता बढाउन सकेमा केन्द्रीय प्रसारणमै जोड्न सकिने उनले बताए ।


शिक्षा क्षेत्रमा पूर्वाधार अभाव

निसीखोलामा अझै पनि शिक्षा र स्वास्थ्यको विकासमा पूर्वाधार अभाव छ । यहाँका ज्ञानेन्द्र मावि, रत्नराज्य मावि, देवीस्थान मावि र प्रभा माविमा विद्यार्थीको चाप छ तर पर्याप्त भवन र शिक्षक दरबन्दी छैनन् । विज्ञान र गणितका शिक्षक सरकारी दररेटभन्दा तीन हजार रुपैयाँ बढी दिएर खोज्दा पनि भेटाउन मुस्किल परेको ज्योति आधारभूत विद्यालयका प्रअ उमानन्द रेग्मीले बताए ।


अधिकांश विद्यालयमा निजी स्रोतका शिक्षकले कक्षा सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले अब दरबन्दी मात्र नभई शिक्षक मिलान गर्ने प्रतिवद्धता जनाए । 'केही वर्षअघि दरबन्दी मिलान भयो तर धेरै पहुँचवाला शिक्षक सदरमुकाम आसपासमै बसे' उपाध्यायले भने, 'ग्रामीण क्षेत्रमा शिक्षक लैजान नसक्दा धेरै विद्यालय मारमा परेका छन् ।' चालु वर्ष र आगामी वर्षका लागि विद्यालय भवन निर्माणका योजना पश्चिम बागलुङमा लैजाने योजना उनले सुनाए । सदरमुकामदेखि निसीखोला र ढोरपाटन एक सय ३० देखि ४१ किमि पश्चिममा पर्छन् ।


स्वास्थ्य अवस्था कमजोर

झिंवाखोलामा रहेको स्वास्थ्यचौकीकै भरमा यहाँका सयौं मानिस उपचार गरिरहेका छन् । भलकोटदेखि पैदल आउँदा ५ घण्टा लाग्ने यो चौकीमा अझै दरबन्दी अभाव छ । त्यस्तै समयमा औषधि आइपुग्दैन ।


बुर्तिवाङ पुग्न थप दुई घण्टा लाग्छ । सडक संजालले जोडिएकोले बिरामी सोझै बुर्तिवाङ र्झन थालेका छन् । 'सबै वडामा स्वास्थ्य चौकी बनाएर झिंवाखोलाको चौकीलाई ईलाका स्तरीय अस्पताल बनाउने योजना गाउँपालिकाले बनाएको छ' गापा उपाध्यक्ष शोभा कार्कीले भनिन्, 'प्रदेश र संघको सहकार्यमा लगानी भित्राएर योजना पुरा गर्न लबिङ भइरहेको छ ।'


निसीखोलामा बाल बिबाह बढी भएकोले अधिकांस महिलाको स्वास्थ्य कमजोर भएको भेटिएको छ । गाउँपालिकाले बालक्लब, शिक्षक र जनप्रतिनिधिको सामुहिक पहलमा बालविवाह हटाउने अभियान थालेको समेत उनले बताइन् ।


सचेतना अभावमा यहाँका केही बस्तीमा वर्षौंदेखि आयोडिनयुक्त नुनसमेत अभाव थियो । केही कम्पनीले आयोडिन नभएको नुन लगेर यहाँ बेचेकाले ग्रामीण बस्तीमा गलगाँडको समस्या देखिएको थियो । यस्ता समस्या प्रचारमा आएपछि एक वर्षदेखि मात्र यहाँ आयोडिनसहितको नुन लगिएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख मनोजकुमार श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?