कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

होटल पुनर्निर्माणमा जुट्दै स्थानीय

दीपक परियार

लेखनाथ — गत फागुन १५ मा आएको हिमआँधीले ध्वस्त अन्नपूर्ण आधार शिविर (एबीसी) का ४ होटलको पुनर्निर्माण धमाधम भइरहेको छ । व्यवसायीले साउनसम्म सक्नेगरी सरकारी सहयोगबिनै होटल पुनर्निर्माण गरिरहेका हुन् । 

होटल ध्वस्त भए पनि व्यवसायीले सरकारीस्तरबाट कुनै किसिमको राहत पाएका छैनन् । समुद्र सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको एबीसीमा व्यवसायीकै खर्चमा हेलिकप्टर र भरियाले आवश्यक निर्माण सामग्री ढुवानी गरिरहेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकदेखि एबीसीसम्म हिंडेर पुग्न ३ दिन लाग्छ ।


अन्नपूर्ण गेस्ट हाउसका सञ्चालक जगनरास गुरुङका अनुसार निर्माण सामग्री ढुवानी कार्य ७५ प्रतिशत सकिएको छ । सिकर्मी, डकर्मीसहित ४० कामदार एबीसीमा बसेर पुनर्निर्माणमा खटिएका छन् । ‘अहिले पुनर्निर्माण कार्य तीव्रतासाथ अघि बढेको छ,’ उनले भने, ‘साउनसम्म सक्ने लक्ष्य छ ।’ लामो समय हिउँ नपग्लिएकाले पुनर्निर्माण सुरु गर्न कठिनाइ भएको उनले जनाए ।


एबीसीमा अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्यान्ड, अन्नपूर्ण गेस्ट हाउस र प्याराडाइज गार्डेन होटल छन् । प्रतिहोटल ४० जनाका दरले १ सय ६० को क्षमता छ । फागुन ११ देखि नै अत्यधिक हिमपात सुरु भएपछि होटल सञ्चालक र कामदार पोखरा झरेका थिए । फागुन १५ मा आएको हिमआँधीले होटलको छाना उडाएको थियो । हिउँले पुरिँदा होटलभित्र रहेका सामान काम नलाग्ने भएका छन् । खाद्यान्नसमेत पूर्ण नष्ट भएको थियो ।


छाउन प्रयोग भएका जस्ता प्रयोग गर्न मिल्दैन । गारो लगाउन प्रयोग भएका ढुंगा र केही फर्निचरका सामग्री मात्रै प्रयोग गर्न मिल्ने अवस्थामा रहेको स्थानीय होटल व्यवसायी जेबी गुरुङले बताए । ‘प्राकृतिक प्रकोपले गरेको क्षतिको यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘पुनर्निर्माणमा यति नै खर्च लाग्छ भन्न कठिन छ ।’ सामग्री ढुवानी नै महँगो भएकाले पुनर्निर्माण खर्चिर्लो हुने उनी बताउँछन् ।


हिमआँधीले एबीसीसम्म पुग्ने पदयात्रा मार्गसमेत ध्वस्त भएको थियो । पदमार्ग बिग्रिंदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले १५ दिन एबीसी जान रोक लगाएको थियो । सिजनको बेला ट्रेकिङ जाने पर्यटकले बुकिङ रद्द गर्दा लाखौं रुपैयाँको नोक्सानी भएको गुरुङ बताउँछन् ।


चैत वैशाखमा आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने भए पनि यसपल्ट ठप्प भएको उनले सुनाए । हाल स्थानीय पर्यटन व्यवसायीकै अग्रसरतामा पदयात्रा मार्ग निर्माण भइसकेको छ । एबीसी जाने पर्यटक माछापुच्छ्रे आधार शिविर (एमबीसी) मा बास बस्ने र बिहानै करिब एक घण्टाको दूरीमा रहेको एबीसी पुगेर फर्कन्छन् । एमबीसीमा हिमआँधीले कुनै असर पुर्‍याएको छैन ।


जेठको दोस्रो साता हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवअगावै पुनर्निर्माण सक्ने लक्ष्य लिए पनि प्राविधिक कठिनाइ परेको महोत्सव संयोजक ललित गुरुङले बताए । ‘यति धेरै पर्यटक घुम्न आउने अन्नपूर्ण आधार शिविरको हाल यस्तो अवस्थामा पुग्दासमेत पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकाय मौन रहँदा दुःख लागेको छ,’ उनले भने, ‘आधार शिविरमा पर्यटक जान नसक्ने अवस्थाप्रति पर्यर्टन मन्त्रालय र सिंगो नेपाल सरकारसमेत बेखबर रहे । स्थानीय र प्रदेश सरकारले समेत खासै वास्ता गरेको पाइएन ।’


व्यवसायीलाई व्यावसायिक वातावरण बनाउन सहयोग गरिरहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर बताउँछन् । ‘पर्यटनका सन्दर्भमा अन्नपूर्ण गाउँपालिका सचेत छ,’ उनी भन्छन्, ‘क्षतिपूर्ति दिनेबारे कार्यपालिका बैठक बसेर छलफल गर्छौं ।’ पुनर्निर्माणमा प्राविधिक सहयोग गर्ने एक्यापको तयारी रहेको प्रबन्ध निर्देशक राजकुमार गुरुङले बताए । ‘सहयोग गर्नुपर्‍यो भनेर उहाँहरूले लिखित रूपमा भन्नुभएको छैन,’ उनले भने, ‘आउनुभयो भने पनि हामीले गर्ने प्राविधिक सहयोग मात्रै हो ।’


एक्याप छोम्रोङ चेकपोस्ट इन्चार्ज नेत्र शर्माका अनुसार हाल दैनिक ७० देखि ८० विदेशी पर्यटक एबीसी पुग्छन् । यही सिजनमा गतवर्ष दैनिक २ सय पर्यटक एबीसी पुग्ने गरेको तथ्यांक छ ।


चार दशकअघिसम्म एबीसी जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए । जेबी गुरुङ र डम्बरबहादुर गुरुङले विसं २०३८ मा पहिलोपल्ट एबीसीमा पर्यर्टक लक्षित सुविधासम्पन्न होटल सञ्चालन सुरु गरेका हुन् । कास्कीको वीरेठाँटीबाट सुरु हुने यो पदयात्रा मार्ग एक सातामा पूरा गर्न सकिन्छ ।


घान्द्रुक, न्युब्रिज, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, एमबीसी र एबीसी पुगिन्छ । एबीसीबाट एकैसाथ ८ हजार ९२ मिटरको अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, गन्धर्वचुली, माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ । एबीसी पुग्ने मुख्य सिजन भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म हो । हिउँदमा बढी हिउँ पर्ने र बर्खामा पानी पर्ने भएको उक्त सिजनमा पर्यटक कम जान्छन् ।


पर्यटकको चाप बढेपछि व्यवस्थापनको निम्ति पदमार्गका होटललाई अप्ठ्यारो पर्ने गरेको छ । छोम्रोङसम्म बासको कुनै समस्या छैन । त्यहाँभन्दा माथि पर्यटकीय सिजनमा बास पाउनै गाह्रो हुन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?