च्याउ नचिन्दा ज्यानको जोखिम

आश गुरुङ

लमजुङ — उपचारका लागि पोखरा गएका क्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका तारा क्षत्री र रामबहादुर क्षत्रीले छोरा साजनलाई छिमेकी सुलबहादुर क्षत्रीको घरमा राखे ।

सुलबहादुरले जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा छिमेकीका छोरासहित परिवार नै बिरामी परे । उपचारका लागि पोखरा हुँदै काठमाडौं लगिए पनि १० वर्षीय साजन र सुलबहादुरका १३ वर्षका छोरा मन्तोष क्षत्री बच्न सकेनन् । सुलबहादुर अझै अचेत छन् । पत्नी सरिताको उपचार भइरहेको आफन्तले बताएका छन् ।


सुलबहादुरले गाउँ नजिकैको पाखोबाट च्याउ टिपेर ल्याएका थिए । गोबर मल भएको पाखोमा उम्रिने च्याउ ल्याएपछि नखाने च्याउ हो भनी पत्नी सरिताले फालिदिइन् । फालेको च्याउ टिपेर कर गरेपछि सरिताले पकाइन् । पकाएको च्याउ खाए । साँझ खाएको च्याउले भोलिपल्ट बिहानीपख सबैलाई सिकिस्त बनायो । गाउँलेले उनीहरूलाई उपचारका लागि पोखरा लगे ।


सुलबहादुरका कान्छो भाइ रोशन क्षत्रीका अनुसार स्थानीय भाषामा ‘च्ह्यार्मो’ भनी च्याउ खाए । ‘च्ह्यार्मो’ बर्खायाममा गाउँघरमा पाइने च्याउ हो । नचिनेको च्याउ खाँदा घटना भएको उनले बताए । उनका अनुसार अघिल्लो शुक्रबार राति च्याउ पकाएर खाएपछि परिवारै बिरामी परेका थिए ।


शनिबार पोखरा लगेका उनीहरूलाई पोखरास्थित गण्डकी मेडिकल कलेज भर्ना गरियो । वडाध्यक्ष नन्दजंग गुरुङका अनुसार गण्डकीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नेसनल अस्पताल लगियो । त्यहाँ पनि उपचार हुन नसकेपछि फर्काइएका साजनलाई घर ल्याइएको थियो । उनको सोमबार मृत्यु भयो । उपचारका क्रममा मन्तोषको बिहीबार साँझ काठमाडौंमा मृत्यु भयो ।


पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार भइरहेका सुलबहादुर अझै अचेत छन् । पत्नी सरीतालाई काठमाडौंमा नेसनलबाट ओम अस्पतालमा लगेर उपचार भइरहेको छ । डीएसपी यादव ढकालले जंगली च्याउ खाएर २ जना बालकको मृत्यु भएको खबर आएको बताए । २ जनाको उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको उनले बताए । स्थानीयका अनुसार नचिनेको जंगली च्याउ खाएर बर्सेनि मानिसको ज्यान जाने गरेको छ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत सुलोचन पन्तका अनुसार जंगली च्याउ प्रायः खाने खालका हुँदैनन् । कुन च्याउ हो भनी चिनेर मात्रै खानुपर्ने उनको सुझाव छ । नचिन्दा च्याउले ज्यान लिने उनले बताए । ‘च्याउमा भएको विषालु केमिकलले सुरुमा झाडापखला र बान्ता एकैचोटि गराउँछ । पेटमा भएका विषाक्त वस्तुलाई पखालामार्फत फाल्नुबाहेक घरेलु उपाय हुँदैन । तत्काल अस्पताल लानुपर्छ,’ उनले भने, ‘विष रगतमा फैलिए मानिसको बाँच्ने सम्भावना कम हुन्छ ।’ विषालु केमिकल ज्यानमा पसेपछि मिर्गौला निष्क्रिय पारेर मानिसको मृत्यु हुने उनले बताए ।


बूढापाकाका अनुसार खाने च्याउ चिनेर सेवन गरेमा केही हुँदैन । तर, नचिनेको च्याउले भने मान्छेको मृत्युसमेत हुन्छ । क्होलासोंथर ४ भुजुङका ९१ वर्षीय वीरलाल गुरुङका अनुसार बर्सेनि जंगली च्याउ खाँदा पनि केही भएको छैन । ‘यतिका वर्ष भइयो । जंगलको च्याउ खाँदै आएका छौं । बर्खे च्याउ पनि खाँदै आएका छौं । कसैलाई केही भएको थाहा छैन,’ उनले भने, ‘खाने र नखाने च्याउ चिन्नुपर्छ । गोबर, मल साथै जहाँसुकैको माटोमा आएको च्याउ कहाँ खान हुन्छ र ।’ गोठको हिलो, गोबर मलका साथै माटोमा उम्रिएको खैरो देखिने च्याउ खान नहुने उनले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?