३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गोरखनाथलाई सवा लाख रोट

गोरखा — सदरमुकामस्थित गोरखनाथ मन्दिरमा १६ औँ सवालाख रोट महोत्सव शनिबार सुरु भएको छ । पहिलो दिन बैंक रोडबाट निक्लिएको शोभायात्रा गोरख गुफामा गोरखनाथलाई रोट अर्पण गरिएको थियो । गोरखनाथलाई खुसी पार्न उनलाई मन पर्ने परिकार रोट चढाएर देशमा सुख शान्ति र समृद्घिको कामना गरिन्छ । 

गोरखनाथलाई सवा लाख रोट

आइतबार बिहान ६ बजेबाट रोट पकाउने, चढाउने, विशेष हवन, मन्त्र जफ, स्तूति बन्दनालगायत कार्यक्रम हुने आयोजक सिद्घाश्रम शत्ति केन्द्रका संयोजक किशोरकुमार अकेलाले बताए । ‘सवा लाख रोट अर्पण गर्ने ११ दिने कार्यक्रम हो,’ उनले भने ।


गोरखा दरबारसँगै रहेको गोरखनाथ मन्दिरमा २०६१ देखि केन्द्रले वैशाख पुर्णिमाको दिनदेखि रोट महोत्सव गर्दै आएको छ । धार्मिक पर्यटक भित्र्याउन पनि महोत्सवले सघाउने उनले बताए । गोरखनाथको सबैभन्दा प्रिय वस्तु रोट भएकाले एक रोट चढाउँदा एउटा पृथ्वी चढाएजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । रोटमा सांकेतिक तवरको पृथ्वीजस्तो देखिने आकार पनि बनाइन्छ । गोरखनाथलाई खुसी पार्न सके देशमा शान्ति तथा मानव कल्याण हुने उनले बताए ।


गोरखनाथ योगीहरूको पनि महायोगी र नाथहरूको पनि महानाथ रहेको अकेलाको भनाइ छ । गोरखनाथ वैशाख पूर्णिमाको दिन गुफामा प्रकट भएको धार्मिक विश्वास छ । गोरखनाथ प्रकट भएको ठाउँ भएकाले यहाँको पुजारीको जिम्मेवारी पनि योगी समुदायले पाएका छन् । योगीको पुर्खा गोरखनाथ प्रकट भएको ठाउँ भएकाले यहाँ आसपासका गाउँमा योगी समुदायको बसोबास छ ।


तत्कालीन शाहवंशीय राजाहरूले पनि गोरखनाथको विश्वास गर्ने इतिहासमा छ । ‘परम्परादेखि नै गोरखनाथमा रोट चढाउने प्रचलन छ,’ गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘यसरी रोट चढाउँदा गोरखनाथ खुसी हुने मान्यता छ, भगवान् खुसी बनाउन मन पर्ने परिकार चढाएर देशमा शान्ति र शुद्घिकै कामना गरिन्छ ।’


११ दिनमा एक लाख २५ हजार रोट गोरखनाथलाई अर्पण गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन १५ सय बढी भक्तजन गोरखनाथ गुफा पुगेका छन् । ‘नियमित रूपमा १२ महिनै गोरखनाथमा रोट चढाइन्छ,’ कट्टेलले भने, ‘महोत्सवै भनेपछि आन्तरिक तथा बाह्य पर्यटकको पनि भीड लाग्ने भयो, प्रचार प्रसार र पर्यटन प्रवर्द्घनमा पनि यसले सघाउँछ ।’


गोरखनाथमा ताई र भुंग्रे गरी दुईथरी रोट चढाउने गरिन्छ । परम्परादेखि चल्दै आएको भुंग्रे रोट भएको उनको भनाइ छ । आगोको कोइला र खरानीमा चामलको पिठो राखेर भुंग्रे रोट बनाइन्छ । तेलमा तताएर ताई रोट बनाइन्छ । हरेक

मौसममा नयाँ अन्नबाली भित्रयाएपछि नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानीयको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?