कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तनहुँमा १० पदमार्ग पहिचान

प्रताप रानामगर

दमौली — तनहुँमा विभिन्न १० पदमार्गको पहिचान भएको छ । पदयात्रीको चाहनालाई मध्यनजर राख्दै पदमार्गको पहिचान र प्रारम्भिक अध्ययन गरिएको हो । 

तनहुँमा १० पदमार्ग पहिचान

पहिचान भएकामध्ये ८ वटाको प्रारम्भिक अध्ययन पूरा भएको छ । बाँकी २ पदमार्गको अध्ययन तयारी भइरहेको मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताए । 'तनहुँ पदमार्गको लागि उपयुक्त जिल्लाको रूपमा रहेको छ,' उनले भने, 'पहिचान भएका मार्गको प्रचार र विकास हुनसके राम्रो हुने थियो ।'


मिलिनियम टे्रक, बुद्धशान्ति, मिर्लुङकोट, बन्दीपुर- देवघाट, छिम्केश्वरी, भानुघाँसी पदमार्गको अध्ययन भइसकेको छ । मगर हेरिटेज र मनपाङ पदमार्गको अध्ययन गर्न बाँकी छ । पछिल्लो पटक व्यास ७ सादीबैंगचादेखि लमजुङको कुन्छासम्म क्यासमिरी पदमार्गको अध्ययन गरिएको छ । यो मार्ग छापथोक, क्यामिन, कालिका, कार्तिकेचौर, जौबारी, बसाहस्थान, ठूलोढुङ्गा, टुटेपानी, पुलीमराङ, कुसीमराङ हुँदै कुन्छा पुग्छ । गुरुङका अनुसार यसको दूरी २८ किमि छ । दुई रात तीन दिनमा पदयात्रा गर्न सहज हुने उनले बताए ।


तत्कालीन जिविसले ३ वर्षअघि पनि अध्ययन गरेको थियो । त्यसमा समयमा पदमार्गको अध्ययन गरेर नक्सा तयार पारेर पदमार्गको नामकरण गरेको उनले बताए । 'व्यास नगरले विस्तृत अध्ययन गर्न सक्रियता देखायो,' उनले भने, 'डीपीआर तयार गरेर आउँदो नगरसभामा पेस गर्ने हो ।'


क्यासमिरी सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले राम्रो भएको उनले बताए । यस पदमार्गमा ७५ प्रतिशत टाकुरै टाकुरोमा पदयात्रा गर्न पाइन्छ । दक्षिणमा पर्वतीय शृंखला र उत्तरतर्फ हिमशृंखलाको दृश्यावलोकनले पदयात्री रमाउन पाउँछन् । छापथोक, जौबारी, बासखर्क, पुलीमर्‍याङमा होमस्टे सञ्चालन तयारीमा स्थानीय छन् ।


टुटेपानी होमस्टे सञ्चालन भइसकेको छ । होमस्टेमा गुरुङ जातिको संस्कृति र मौलिक खानाको स्वाद लिन पाइन्छ । पदमार्ग क्षेत्रमा कार्तिकेचौर र ठूलोढुङ्गामा खेलमैदान निर्माधिन अवस्थामा छ । बसाहस्थान, बौद्धगुम्बा, लामपोखरी, ठूलोढुङ्गा, सिद्धगुफा, क्यामिन कालिका मन्दिरमा दर्शन गर्न पाइन्छ ।


पदमार्ग क्षेत्रको कतिपय स्थानमा सडक विस्तारले संरचना खलबलाएकाले मर्मत र स्तरोन्नति गर्नुपर्ने स्थानीय बताउँछन् । पदमार्गको अध्ययनले खुसी लागेको क्यासमिरी पदमार्ग विकास समितिका अध्यक्ष शमशेरबहादुर कुँवरले बताए । 'पदमार्गले गाउँको विकास हुने विश्वासमा छौं', उनले भने, 'छिटो सञ्चालनमा ल्याउन सरोकारवाला तात्नु पर्‍यो ।' पदमार्ग सञ्चालनमा आएर स्थानीयलाई रोजगारीसमेत मिलेमा बसाइँ सराइ रोकिने उनले बताए ।


व्यास नगरपालिकाले पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण शाखाका प्रमुख विमल गिरीले बताए । उनका अनुसार नगरभित्र सम्भावित पर्यटनको अध्ययन भइरहेको छ । त्यसमध्ये क्यासमिरी पदमार्ग पनि एक रहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?