१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वैदेशिक राेजगार छाडेर पशुपालन

दिप्ती सिलवाल

अर्मादी, पर्वत — श्रीमान्-श्रीमती दैनिक ६ घण्टा खट्छन् । अफगानिस्तान र इराकमा १० वर्ष दैनिक १२ घण्टा काम गरेर फर्किएका कुश्मा- २ अर्मादीका दीपक शर्मालाई यहाँको खटाइमा काम गरेजस्तो महसुस भएकै छैन ।

अफगानिस्तानमा ५ र इराकमा ५ गरी १० वर्ष विदेशमा बिताएका दीपकलाई श्रीमती शारदाले पशुपालन सुरु गर्न बोलाइन् । श्रीमतीकै सल्लाहअनुसार उनी घर फर्किएर पशुपालन सुरु गरेका हुन् । उनले २ वर्षअघि घर फर्किएर ५ लाख लगानीमा पशु फार्म स्थापना गरेका थिए । र्फम दर्ता गरेर व्यवस्थित पशुपालन सुरु गरेका उनले अब यो व्यवसाय विस्तार गर्दैछन् ।

उनको गोठमा अहिले ६ मुर्राभैंसी र एउटा जर्सी गाई छन् । सुरुमा ५ लाख लगानी भए पनि भैंसी र गाई थप्दा अहिले लगानी करिब १५ लाख पुगिसकेको छ । 'मुर्राभैंसी खोज्न भारतै पुग्नुपर्दो रहेछ,' दपिकले भने, 'उताबाट ल्याउँदा भैंसीमै धेरै खर्च भयो ।' एउटा भैंसीमा करिब डेढ लाख खर्च भएको उनले बताए ।

सातवटा बस्तुभाउको घाँसपानी, गोबरको व्यवस्थापन, सरसफाइदेखि दूध बिक्री सबै काम श्रीमान्-श्रीमतीले मात्रै गर्छन् । पोखरा-बाग्लुङ राजमार्ग छेवैमा घर भएकाले दूध बिक्रीमा समस्या छैन । दीपक आफैंले दूध कुश्मा पुर्‍याएर घरघरै बिक्री गर्छन् । ग्राहकको माग अनुसारका प्याकेट बनाएर घरघरै पुर्‍याउँदा २ घण्टा लाग्ने उनले बताए । 'पहिला केही समय डेरीलाई दिएं,' उनले भने, 'त्यहाँ दिँदा राम्रो आम्दानी भएन । डेरीले प्रतिलिटर ६५ दिन्थ्यो । अहिले एक सयमा बेच्छु ।' दैनिक ५० लिटरसम्म दूध बेच्ने उनले डेरीलाई दिन छाडेपछि दैनिक १५ सयसम्म बढी आम्दानी हुने गरेको बताए ।

दम्पती दैनिक रुटिनमा काम गर्छन् । बिहान ४ बजे उठ्ने । गाईभैंसी दुहुने । दीपकले ७ बजेअघि नै दूध बजारमा पुर्‍याइसक्छन् । शारदाले गाईभैंसीलाई घाँसपानी गर्छिन् । १० बजेभित्रै गोठ सरसफाइदेखि गाईभैंसी नुहाउने काम सकिन्छ । खाना खाएर ११ देखि २ बजेसम्म सुत्छन् ।

३ देखि ५ बजेसम्म गाईभैंसी दुहुने र घाँसपानी गर्ने समय हुन्छ । ५ बजे दीपकले बजारमा दूध पुर्‍याउँछन् । शारदाले घरको धन्दा । उनीहरूले यसरी खट्दा सबै खर्च कटाएर मासिक ७० हजारसम्म आम्दानी गर्छन् । घरघरै डुलाएर बेच्दा गाईबस्तुका लागि खर्च हुने दानापानीको पैसा बचत भएको छ । 'हामीलाई अझै काम पुगेको छैन,' शारदा भन्छिन्, 'अब गोठ बढाएर अझै ५ वटासम्म भैंसी थप्ने विचार छ ।'

अर्मादी तरकारीका लागि पनि जिल्लाकै उर्वरभूमि हो । भिरालो जमिनमा गोठ भएकोले घरनजिकैको खेतमा गाईभैंसीको मलमूत्र पाइपबाटै जान्छ । मलमूत्रबाटै उनीहरूले अर्गानिक तरकारी पनि फलाएका छन् । तरकारीलाई पनि बजारको समस्या छैन । गाईबस्तुका लागि उन्नत जातको घाँस घरनजिकै पर्याप्त छ । घाँस लगाएको फाँटमा पनि भैंसी र गाईंको मलमूत्र पाइपबाटै पठाएकोले समस्या छैन ।

व्यावसायिक पशुपालनमा लाग्दा सुरुमा केही झन्झट लागे पनि हिजोआज रुटिनमा काम गरेकोले उनीहरूलाई कुनै समस्या छैन । एउटा मात्रै समस्या छ । आफन्त र साथीभाइलाई समय दिन नसक्नु । 'कतै गएर एक रात बिताउन पाइँदैन । त्यसमा दुःखेसो छ,' शारदाले भनिन्, 'आलोपालो गर्ने मान्छे भैदिए अलि सहज हुन्थ्यो ।' बस्तुभाउको क्षतिबाट जोगिन सबै भैंसी र गाईको बिमा

गरेका छन् ।

विदेशबाट फर्किएर व्यावसायिक पशुपालन गरेका युवालाई प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था भए पनि दीपक त्यस्ता अनुदानको खोजीमा कतै लागेका छैनन् । 'हामी गएका छैनौं,' उनले भने, 'कसैले ला भन्दै आएको छैन । मलाई कतै जाने फुर्सद पनि छैन ।' अनुदानको पछि लाग्नेले कहिल्यै आफ्ना लागि काम गर्न नसक्ने उनले बताए । 'सुरुमै अनुदान खोज्नेले अनुदान आउने बेलासम्म काम गर्छ । अनि छोड्छ । आफ्नो लागि गर्दा केको अनुदान । राम्रो गरेपछि घरमै आउँछन् अनुदान दिनेहरू,' उनले भने ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?