२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुणस्तर सुधार्दै पूर्वशिक्षक

बागलुङ — शैक्षिक गुणस्तर खस्कँदै गएको भन्दै काठेखोला गाउँपालिका- ८ लेखानीका पूर्व शिक्षकले सहयोग जुटाएर अतिरिक्त कक्षा र कम्प्युटर पढाइमा लगानी गरेका छन् । शिक्षाको गुणस्तर बढाउन उनीहरूले यस्तो सहयोग थालेका हुन् । 

लेखानी माविका पूर्वशिक्षक लालकुमार प्रधानले १० लाख २९ हजार रुपैयाँ सहयोग गरेपछि गुणस्तर बढाउने अभियान सुरु भएको हो । अभियानबाट झन्डै एक करोड रुपैयाँ सहयोग जुटेको प्रअ खिमानन्द कँडेलले बताए ।


त्योमध्ये ५० लाख रुपैयाँले भवनको तला थपिएको छ भने चन्दाकै भरमा विद्यालयको प्रयोगशाला र पुस्तकालय बनाइएको छ । प्रधानले सहयोग गरेपछि प्रदेशसभा सदस्य मणिभद्र शर्माले विद्यालयमा खेल मैदान, विद्यालय पुग्ने सडक र अन्य पूर्वाधारमा सहयोग गरेका छन् । पूर्वशिक्षक रहेका कँडेलले ५ लाख बढी नगद खर्चेर पूर्वाधार बनाएका हुन् ।


पूर्वशिक्षक लोकनाथ कँडेल, ज्ञामप्रसाद कँडेल र अस्ट्रेलियामा बसेका पूर्वविद्यार्थीले पनि चन्दा सहयोग गरेका छन । प्रधानले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि सहयोग गरेको बताए । 'यति भएपछि विद्यालयमा आउनजाने बाटो खुल्छ' हाल चितवन बसाइँ सरेका उनले भने, 'अरुलाई पनि प्रेरणा होस् भन्ने हो ।'


विद्यालयले कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकद्वारा अतिरिक्त कक्षा संचालनसमेत गरिएको छ । विद्यालयमा स्थापित कोषबाट पूर्वाधार सहयोगसँगै गुणस्तमा ध्यान दिएपछि सिकाइ उपलब्धि बढेको उनले बताए ।


'दुई वर्षअघि ५० प्रतिशत रहेको सिकाइ उपलब्धि बढाएर ६० मा पुगेको छ,' कँडेलले भने, 'बालबालिका अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन प्रयास गरिएको छ ।' आगामी वर्ष ६५ प्रतिशतमा लैजाने योजनासहितको विद्यालय सुधार योजना बनेको उनले सुनाए । विद्यालयमा उत्पादन र सीपमूलक कार्यक्रम थप गर्ने योजनासमेत बनाइएको अध्यक्ष सूर्यप्रसाद कँडेलले बताए ।


यहाँ कृषि उत्पादन र झोला वा कागजका काम गर्न सक्नेगरी सीपमूलक शिक्षा दिन अतिरिक्त कोष र प्रशिक्षकको व्यवस्थाको पहल थालिएको हो । गाउँपालिका तहमा यो विषयमा छलफल भएको छ । हरेक वडाका विद्यालयलाई फरक क्षमता र गुणस्तरका बनाउन पहल भएको वडाध्यक्ष चित्रकला श्रीषले बताइन् ।


विद्यालयले विपद् तयारी योजना पनि बनाएको छ । सबैले देख्ने गरी बाह्रै महिनाको पूर्वतयारी योजना राखेपछि बालबालिका, अभिभावक र शिक्षकमा चासो बढेको छ । पूर्वतयारीमा भूकम्प, बाढीपहिरो, हावाहुरी, र आन्तरिक जोखिम न्यूनीकरणका कार्यक्रम समावेश छन् । विद्यालयभित्रको जोखिम न्यूनीकरणका लागि तारबारसमेत लगाइएको हो ।


हरेक वर्ष सुधारको योजनाबारे समीक्षा गरी अघिल्लो वर्षको योजना र प्रगतिको सूचक विश्लेषण गरेपछि सुधार योजना परिमार्जन गरिएको शिक्षक नरबहादुर काउचाले बताए । 'हरेक वर्ष आइपर्ने समस्या सम्बोधन गर्ने र गुणस्तरको मापन गर्दा लक्ष्यमा पुग्न सकिन्छ,' काउचाले भने, 'ग्रामीण र विपन्न अभिभावकले सामुदायिकमा पढाएरै सन्तुष्ट पाउने काम गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं ।'


अधिकांश शिक्षक पूर्णकालीन बनाएर पढाइ विकासमा सुधार गरिएको उनले बताए । गणित, विज्ञान र अंग्रेजीसहित नेपाली भाषाको सुधारमा विद्यालयले विशेष चासो बढाएको समेत कँडेलले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?