कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अब कटुवाललाई मासिक तलब

हरिराम उप्रेती

गोरखा — गाउँमा सूचना प्रवाहको अरू साधन नभएपछि जिल्लाको धार्चे गाउँपालिकाले भरपर्दो माध्यम कटुवाल प्रथालाई संस्थागत गरेको छ । नागरिकसम्म सूचना पुर्‍याउने भरपर्दो माध्यम कटुवाल प्रथाबाहेक अन्य विकल्प नरहेको निष्कर्षसहित गापाले कटुवाललाई मासिक तलब दिन थालेको छ । 

अब कटुवाललाई मासिक तलब

गाउँसभाबाट पारित गराएर सातै वडाका कटुवाललाई पारिश्रमिकको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । 'अघिल्लो वर्षसम्म अन्नपानी उठाउँथे, अब अन्नपानीले भएन नगदै दिनुपर्‍यो भन्ने माग कटुवालहरूको थियो,' उनले भने, 'हामीलाई पनि सूचना संवाहक चाहिएको । त्यही भएर उनीहरूको मागलाई सम्बोधन गरिएको हो ।'


विकट भूगोल र सञ्चार सुविधा नपुगेको क्षेत्र भएकाले कटुवाल प्रथालाई गाउँपालिकाले प्रोत्साहन गरेको उनको भनाइ छ । 'एउटा पुस्ता इमेल इन्टरनेट चलाउने भइसक्यो, पाका पुस्ता रेडियो नेपालको समाचारको पनि भाषा बुझ्दैन, बुझाइदिनुपर्छ ,' उनले भने, 'ती पाका पुस्ताका लागि पनि कटुवाल चाहिने भयो, स्थानीय भाषा सबैले बुझ्छन्, दुवै पुस्तालाई समेट्न खबर आदान प्रदान गर्ने कटुवाल प्रथा संस्थागत गरेका हौँ ।'


६४ वषर्ीय डम्बरबहादुर गुरुङले धार्चे-४ लाप्राकको डाँडामा बसेर कराउन थालेको ५ वर्ष पुग्यो । चर्को र स्पष्ट आवाज भएकै कारण उनी कटुवालमा चुनिए । डम्बरबहादुर लाप्राकका ५ सय बढी घरधुरीको सूचनाको संवाहक हुन् । उनले डाँडामा बसेर नकराएसम्म गाउँमा हुने सार्वजनिक कार्यक्रम र सामान्य सूचनासमेत स्थानीयले पाउँदैनन । सुरुको २ वर्ष अन्न उठाएर पारिश्रमिक लिएका थिए । 'एक साल दुई माना मकै, अर्को साल ५० रुपैयाँ उठाउन घर-घर गएँ,' उनले भने, 'कसैले दिए, कसैले दिएनन् त्यसपछि छिमेकीलाई के दुःख दिनु भनेर पारिश्रमिक लिन छाडे ।'


साबिकको गाविस कार्यालयमा पुगेर मासिक पारिश्रमीक उपलब्ध गराउन माग गरे । संघीयता कार्यान्वयनसँगै वडा हुदै गाउँपालिका कार्यालय नजिकै खुलेपछि कटुवालाई पारिश्रमिक उपलब्ध गराउन दबाब दिन उनलाई झनै सजिलो भयो । सोही दबाब र मागका कारण गापाले पारिश्रमिकको व्यवस्था गरेसँगै उनी अहिले खुसी छन् । 'भोट दिएर नेता चुनेपछि, हामी कटुवालले जनतालाई किन दुःख दिने, फेरि घरघरै माग्दै हिँड्ने जमाना पनि छैन,' उनले भने, 'मासिक तलब दिएपछि कराउन पनि अझै जाँगर चल्छ ।'


गाउँपालिकाले कटुवालका लागि चालु आवमा ६५ हजार रुपैयाँ छुट्टाएर मासिक प्रतिकटुवाल १५ सय उपलब्ध गराउने निर्णय गाउँसभाबाट भएको हो । 'एक वडा एक कटुवाल' नारा तय गरेर कटुवाललाई प्रोत्साहन स्वरूप पारिश्रमिक उपलब्ध गराइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम पाण्डेले बताए ।


'सुरुमा प्रति कटुवाल तीन हजार उपलब्ध गराउने छलफल चल्यो, पछि बुभmदै जाँदा कुनै वडामा वर्षौंदेखि दुई जना कटुवाल रहेछन, दुईमध्ये १ लाई हटाउन पनि मिलेन,' उनले भने, 'यसकारणल प्रतिकटुवाल १५ सय दिने निर्णय भयो ।' हाल धार्चेको २ र ५ नम्बर वडामा दुई/दुई जना कटुवाल कार्यरत छन् । अन्य वडामा एकै कटुवालले सिङ्गो वडा धानेका छन् ।


नभएका वडामा गाउँपालिका र वडा कार्यालयको सक्रियतामा कटुवाल नियुक्ति गरिएको छ । १, ४ र ६ वडामा नयाँ कटुवाल नियुक्ति गरिएको पाण्डेले बताए । पारिश्रमिक उपलब्ध गराउन गाउँपालिकाले कटुवालको काम गर्दै आएकालाई बैँक खाता खोल्न भनेको छ ।


१, २ र ७ नम्बर वडाका कटुवालाई पहिलो चौमासिकको पारिश्रमिक उपलब्ध गराइसकेको र पाउन बाँकीलाई एकमुष्ट रकम उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । गाउँपालिकाको सबै वडा सञ्चार सम्पर्कबाट बाहिर रहेकाले यस्तो कार्यक्रम ल्याइएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?