३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सती घाटु नाचको रौनक

गुरूङ समुदायमा बढी प्रचलित सती घाटु नाच वैशाख पूणिर्माका दिनबाट विधिपूर्वक पूजाअर्चनासाथ सुरू गरिन्छ । 

तनहुँ — गुरुङ समुदायको बसोबास रहेको तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सती घाटु नाचको रौनकता छाएको छ । गुरुङ समुदायमा बढी प्रचलित यो नाच वैशाख पूणिर्माका दिनबाट विधिपूर्वक पूजाअर्चनासाथ सुरु गरिन्छ । ३ देखि ५ दिनभित्रमा कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । 

सती घाटु नाचको रौनक

१२ मासे, कुसुण्डा र सती घाटु गरी तीन प्रकारका घाटु प्रचलनमा रहे पनि गुरुङ समुदायले सती घाटु नाच्ने गर्दछन् । घाटु एक शास्त्रीय नाच भएको र यसमा गुरुआमाहरूले गीत गाउने तथा घाटुसरी (कन्या, बालिका) ले नाच्ने भानु-१३ टुटेपानीकी गुरुआमा नन्दकुमारी गुरुङ बताउँछिन् । भन्छिन्, 'सोह्रौं शताब्दीतिर एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र अन्ततः मृत्युसम्मको कथालाई गीतको माध्यमबाट प्रस्तुत गरी घाटु नचाइन्छ ।'


घाटुको गीतमा परशुराम राजा र यम्पावती रानीको कथावस्तु रहेको र यही कथावस्तुलाई आधार बनाई दुई कन्यामध्ये एकजना राजा र एक रानीको भेषमा सजाएर घाटु नचाइन्छ । घाटु धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको र यसको गीत सुरुदेखि अन्त्यसम्म नबिराईकन गाउनुपर्ने नन्दकुमारी बताउँछिन् ।


गाउँको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ पनि सती घाटु नाचिने उनको भनाइ छ । 'गीत गाउँदा र नाच्दा कतै गल्ती भएमा नराम्रो हुन्छ भनिन्छ,' उनले भनिन् । घाटुको गीत घाँटी तन्काइतन्काई गाउनुपर्ने भएकाले घाटु भनिएको र कतैकतै कथाका राजारानीलाई घाटमा सेलाएपछि कथा टुङगिने भएकाले घाँट हुँदै घाटु भएको जानकार बताउँछन् ।


घाटुमा नाच्नका लागि रजस्वला नभएका कन्या छानिन्छ । उनीहरूलाई गुरुआमाले घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द भई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जपिरहनुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगलचरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धरती र आकाशलाई साक्षी राखिन्छ ।


वैशाख पूणिर्माको तीन दिनअघि घाटुसरी (घाटु नाच्ने कन्या) को डेरा सजाइन्छ । वर, पीपल, डालो, धनुषकाँण, घोडा, पञ्जा, फूल, ध्वजापतका तयार गरिन्छ । धान भुटेर बनाइएको लावा र फूलबाट मुकुट बनाइन्छ । गुरुङ पोसाकमा सजिएका कन्यालाई मुकुट लगाएर परशुराम राजा र यम्पावती रानीको विधिपूर्वक विवाह गरिन्छ । रानीलाई लिएर राजा राज्यमा र्फकन्छन् । केही समयपछि राजाको छोरो जन्मिन्छ । राजकुमारको नाम बालकृष्ण राखिन्छ । सुखपूर्वक दुबैले राज्यभोग गर्छन् । पछि परशुराम राजालाई शत्रु लाग्छ । चारैतिर उनको राज्यमा आक्रमणको तयारी हुन्छ । राजाले युद्ध टार्न पण्डित खटाउँछन् । तर युद्ध रोकिँदैन र अन्ततः परशुराम राजा लडाइँमा जाने कथन छ ।


लडाइँका कारण मैदान धुलाम्य हुन्छ, मौसम बिग्रेर कुहिरो लागेको मौका पारी शत्रुले आक्रमण गर्छन् र अन्ततः त्यही लडाइँमा परशुराम राजाले वीरगति प्राप्त गर्छन् । राजाले वीरगति प्राप्त गरेको खबर सुन्दा रानीलाई विश्वास लाग्दैन । पछि राजाको रगतले लतपतिएको पगरी देखाएपछि रानी यम्पावती बेहोस हुन्छिन् । उनलाई सुसारेहरूले होसमा ल्याउँछन् । पछि अनेक तरहले शोक गर्छिन् र सती जाने निश्चय गर्छिन् । सुनचाँदी, हीरामोती, हात्ती घोडा दान गरी रानी सुसारे लिएर सती जान निस्कन्छिन् ।


बालक छोरा बालकृष्णले आमाको गुन्युँमा समाएर रोएको हुन्छ । एकातिर पति र अर्कोतिर बालक छोरासँगको वियोगले रानी पटकपटक मूच्र्छा पर्छिन् । राज्यभर शोक पर्छ । अन्तमा सबैतिर बिदावारी भई रानी सती जानका लागि मस्र्याङ्दीको किनारमा पुग्छिन् । त्यहाँ पुगेर चारैकोटका देवतालाई पूजा गरी बनाइराखेको चितामा बसेर उनी सती जान्छिन् ।


सती घाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । घाटुको गीतको लय जो कसैलाई बुझ्न गाह्रो हुन्छ । यो गुरुङ समुदायको अमूल्य संस्कृति र निधि भएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् । गुरुङ भन्छन्, 'यो एक वियोगान्त कथा भएकाले घाटुको गीत, नृत्य र अभिनयले वातावरणलाई पनि त्यस्तै बनाइदिन्छ । घाटुको गीत र नृत्य हेर्ने सुन्नेहरू मलिन अनुहार बनाएर बसेका हुन्छन् ।' घाटु सेलाउँदा गाउँका सबै जम्मा भएर भोज खान्छन ।


यसलाई खै खाने पनि भनिन्छ । इष्टमित्रदेखि वरपरका गाउँलेलाई पनि बोलाइन्छ । पछिल्लो समय यो नाचलाई निरन्तरता दिन युवा पुस्ता उदासीन हुँदा लोपको संघारमा पुग्ने खतरा बढेको भन्दै टुटेपानीका छविलाल गुरुङ चिन्ता व्यक्त गर्छन । उनि भन्छन्, 'छोरानातिले यो परम्परा, संस्कृति जोगाइराख्न खासै चासो देखाएका छैनन् तर, पनि हामीले सिकाउने प्रयास त गरिरहेका छौं ।'


सम्झना रसाइली

प्रकाशित : जेष्ठ ६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?