कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

असिनाले मकै र तरकारी सोत्तर

फल लाग्ने बेलामा बारी उजाड बनेपछि फेरि नयाँ बाली लगाउने तयारीमा किसान
प्रताप रानामगर

दमौली — तनहुँको व्यास- १० बैरेनीका ५८ वर्षीय शेरबहादुर बोटेले ५ रोपनीमा मकै खेती गर्दै आएका छन । यसपटक उनले कमै निकै फस्टाएका थिए । तर, भीषण असिनाले मकै सोत्तर पारेको छ । ‘मुख्य खाद्यान्न बाली मकै हो,’ उनले भने, ‘असिनाले सत्यनासै बनायो । मकैको बोट केही छैन ।’ 

असिनाले मकै र तरकारी सोत्तर

उनी मात्र होइन । भक्तिमाया, विमला लगायतको बारीमा लगाएको मकै पनि असिनाले सबै सखाप बनाएको छ । कतिपय किसान फेरी मकै छर्ने तरखरमा छन । ‘असिनाले मकै सखाप पा¥यो,’ किसान पूर्णबहादुर दरैले भने, फेरी मकै रोप्ने हो ।’ पहिलो पटक गोडमेल भ्याएको र दोस्रो पटक गर्ने तयारी भएका बेला परेको असिनाले बोटै नराखेको उनले बताए ।


मकैको बोट बढेर फल पनि नलाग्ने अवस्था रहेको भन्दै किसानले बस्तुभाउलाई घाँस खुवाउन थालेका छन । मकै रोपेदेखि गोडमेल र मलजल गर्दा २० हजार रुपैयाँ बढी खर्च भएको शेरबहादुरले बताए । ‘फेरी मकै रोपे भने असिनापानीले विनास गर्ला भन्ने डर छ’ उनले भने, ‘अहिले घासको रुपमा प्रयोग गर्ने र साउनमा मास र मकै पनि छर्ने बिचारमा छु ।’


व्यास नगरपालिका- ५, १०, ११, १२ र १४ मा शुक्रबार र सोमबार परेको असिनापानीले मकै सखाप पारेको कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले बताए । ‘असिनाले मकै बिगारेको किसानले खबर गरेका छन,’ उनले भने, ‘क्षति पु¥याएका अन्नबालीको वास्तविक विवरण ल्याउन भनेका छौं ।’


प्रारम्भिक अनुमान अनुसार व्यास नगरपालिकामा एक हजार हेक्टरमा लगाएको मकै सखाप भएको छ । मकैको बीमा कसैले पनि नगरेको वाग्लेले बताए । बिमा नभएका कारण पीडित किसानलाई राहतका लागि प्रक्रिया अगाडि बढाउन सकिएको छैन । सबै वास्तविक तथ्यांक आएपछि नगरपालिकामा रिपोर्ट बुझाउने उनले बताए ।


असिनाले तरकारी पनि नष्ट गरेको छ । फल लाग्ने बेलाको तरकारी असिनाले सखाप परिदिएको व्यास १० डिही गाउँकी अस्मिता अधिकारीले बताइन । ‘तरकारीको फूल खेलेको थियो,’ उनले भनिन्, ‘फल लाग्ने बेलामा असिनाले सखाप बनायो ।’


आम्दानीको मुख्य स्रोत तरकारी रहेकाले घरखर्च र छोराछोरीको पढाई खर्च सबै तरकारीबाट हुने गरेकोमा असिनाले सखाप पारिदिएको उनले बताइन् । ‘कहिले तरकारीले उचित मूल्य पाउँदैन । कहिले असिना हावाहुरीले तरकारी सखाप पारिदिन्छ,’ उनले भनिन्, ‘किसान सधैं मर्ने भइयो ।’


तरकारीको बीमा गर्ने प्रक्रियामा रहेको तर नभ्याउँदै असिनाले सखाप बनाएको अर्की किसान पार्वती सुवेदीले बताइन् । उनले भनिन्, ‘किसानको समस्या कस्ले बुझ्ला । केही राहत मिल्छ भनेर नगरपालिका आएका हौं ।’ अहिले प्रतिकिसान ५ लाख रुपैयाँ बराबरको तरकारी असिनाबाट क्षति पुगेको उनले बताइन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?