कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाहुनालाई भाङ्ग्रा उपहार

दिप्ती सिलवाल

पर्वत — नीलो र सेतो एकैथरी रङ लगाएका एकनासका घर । हरेक घर पुग्ने ढुंगे सिंढीको चिटिक्क बाटो । बाटाको दायाँबायाँ फोहोर संकलनका टोकरी । गाउँको हरेक सय मिटरको दूरीमा लोभलाग्दा सार्वजनिक शौचालय ।

पाहुनालाई भाङ्ग्रा उपहार

पैदलमार्गको दुबै छेउमा रातीको समयमा देखिने गरी सार्वजनिक सडक बत्ती । गाउँको बीचबीचमा प्यारापिटसहितका खेलमैदान ।


मोदी गाउँपालिका- १ भूक गाउँको पहिचान यसरी बदलिएको छ । ग्रामीण पर्यटनलाई प्रोत्साहन गरेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा शनिबार गाउँ पुगेका पाहुनालाई स्थानीयले संस्कृतिको चिनोस्वरुप भाङ्ग्रा उपहार दिए ।


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघीय सांसद डा. सूर्य पाठक, गण्डकी प्रदेशका उद्योग, पर्यटनमन्त्री विकास लम्साल, प्रदेश सांसद चन्द्रमोहन गुरुङलगायत थिए पाहुना । नमुना गाउँ बनाउन लागि परेका भुकबासीले पाहुनालाई हातले बुनेका भाङ्ग्रा लगाइदिए । झट्ट हेर्दा स्थानीयले अतिथिलाई लगाइदिएको भाङ्ग्रा सामान्य देखिए पनि त्यस भाङ्ग्राभित्रको रहस्य गहिरो छ ।


भाङ्ग्रा गुरुङ समुदायको जातीय पोसाक मात्रै नभएर हरेक सांस्कृतिक अवसरमा जातीय संस्कारका पहिचानका रूपमा उपयोग हुँदै आएको छ । यसको अर्को विशेषता ग्रामीण क्षेत्रका हरेक व्यक्तिसंग जोडिएको छ । पिठ्युँमा भाङ्ग्रा बोकेर त्यसभित्र नाम्लो, हँसिया र खाजा बोकेर खुर्पेटो भिरेर जंगल जानुपर्छ ।


जंगलमा घाँसदाउरा गर्न दिनभरि नै बिताउनुपर्ने हुनाले दिनभरका लागि पानीसहित खानेकुराको पनि जोहो गरेर भाङ्ग्रामै बोकेर हिँड्नुपर्छ । भाङ्ग्राको परम्परा यो भए पनि हिजोआज त्यसको उपयोग र पहिचान बदलिएको छ । भुकबासीले भाङ्ग्रालाई गाउँको पहिचानसँग जोडदै यतिबेला गाउँ सफाइको एक अस्त्रका रुपमा समेत उपयोग गर्छन् ।


टोलभित्रको बाटोमा देखिने फोहोर भाङ्ग्रामै जम्मा गरेर टोकरीमा जम्मा गर्ने बानी परिसकेको छ । महिला, पुरुष हरेकले भाङ्ग्रा बोकेकै हुन्छन् । जुनसुकै बेला बाटोमा हिडा फोहोर या अनावस्यक झारपात भेटियो कि टिपिहाल्ने र भांग्रामा संकलन गर्छन् । फोहोेरको टोकरीमा मिल्काउँछन् । टोकरीमा जम्मा पारेको फोहोर हरेक महिना गाउँको बिचमा रहेको खाडलमा व्यवस्थापन गर्ने जिम्मा गाउँको टोल सुधार समितिले लिन्छ ।


समितिले बैठक बसेर कटुवाल चन्द्रामती परियारलाई घोकाउन भन्छ । घोक लगाएपछि गाउँबासी जम्मा भएर फोहोर व्यवस्थापन गर्छन् । नमुना गाउँको अभियानमा जुटेयता स्थानीयले होमस्टे पनि चलाएका छन् । गाउँ आउने पाहुनालाई स्थानीय स्वादको खानामात्रै नभइ स्थानीय संस्कारमै स्वागत हुन्छ ।


‘हामीले बाहिरको रहनसहन बिर्सांएर भुकको मौलिकपन दिन होमस्टे सञ्चालन गरेका हौं,’ अगुवा चिजकाजी गुरुङले भने, ‘सहरबाट आउने पाहुनालाई बाहिरी संसार बिर्साउन यस्तो सुरुआत गरिएको हो ।’


वनपाखामा पाइने निउरो, टुसा, भडभडे, चिप्ले, लगायतको तरकारीका साथमा कोदाको ढिंडो, गाउँकै भैंसीको दूधघिउको स्वाद यहाँको पहिचान हो । त्यसका साथै गुरुङ समुदायको यानीमाया, रोदी, सुनिमाया लगायतका गीतले स्वागत गरिन्छ ।


गण्डकी प्रदेशले चालु वर्ष १० लाख अनुदान दिएका होमस्टेको स्थलगत अध्ययनमा आएको अतिथि टोलीले गाउँकै प्रशंसा ग¥यो । ‘पूर्वाधारमा राम्रो छ,’ राष्ट्रिय सभाका अध्यक्ष्ँ तिमिल्सिनाले भने, ‘अब यहीं आम्दानीको बाटो खोजेर बाहिरिएकालाई गाउँ फर्काउनुपर्छ ।’


प्रदेशका मन्त्री लम्सालले ग्रामीण पर्यटन र उत्पादनका माध्यमबाट गाउँको विकास गर्न सकिने बताए । उनले भने, ‘सहरबाट आउने गाडीमा गाउँको उत्पादन पठाउने वातावरण बनाउनुस् ।’ माटो सुहाउँदो खेती र घरबास बिस्तार गर्न सके सहर झरेका गाउँ फर्किनेमा कुनै दुविधा नरहेको उनले बताए ।


स्थानीय कुमार गुरुङका अनुसार गाउँमा ३८ गुरुङ परिवारको बसोबास छ । सबैजसो परिवारका सदस्य ब्रिटिस र भारतीय सेनामा कार्यरत भएकोले उतै बसाई सरेको गुरुङले बताए । ‘लाहुरेले आफू भएकै देशमा परिवार लगे,’ उनले भने, ‘अलिअलि कमँई हुने नयाँपुल र पोखरा बस्छन् ।’


बिदेश र गाउँबाहिर बसाई सरेका पनि पछिल्लो समय गाउँको विकासमा हातेमालो गर्न थालेका छन् । गुरुङ जातिविशेषका चाडपर्व, कुलपूजा, विवाह तथा सामाजिक उत्सवहरूमा बसाइँ सरेकाहरू टुप्लुक्क गाउँ आउँछन् ।


गाउँलाई छुट्टै पहिचान दिन शुरु भएको नमुना गाउँ अभियानमा सहभागिमध्ये सबैजसो बसाइँ सरेका छन् । भुकदेउराली युनाइटेड ग्रुपको अगुवाईमा शुरु भएको नमुना गाउँ अभियान समितिका १७ सदस्यमध्ये १५ गाउँबाहिर छन् ।


बेलायत निवासी पञ्चकाजी गुरुङको अध्यक्षताको समितिमा रहेका २ जना स्थानीयले गाउँमा चाँजोपाँजो मिलाउंछन् । विकासका सबै कामका लागि आर्थिक सहयोग बाहिर बसोबास गर्नेले गर्छन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?