मालपोतमा हैरानी

समायोजनका कारण दरबन्दी पूरा नहुँदा सेवाग्राहीको अत्यधिक चापमा कर्मचारी
विना थापा

कास्की — ‘मनमा लागेको थियो, एकै ठाउँबाट एकैछिनमा काम होला तर मैले सोचेभन्दा फरक पाएँ,’ कास्की मालपोत कार्यालयमा भेटिएकी तनहुँकी चुनीमाया गुरुङ गुनासो गर्दै थिइन् । उनी मालपोतमा पहिलोपटक जग्गा पास गर्न आएकी हुन् । 

मालपोतमा हैरानी

उनी साता दिन धाएपछि मात्र पोखरामा किनेको जग्गा पास भयो । जग्गाधनी पुर्जा अझै बनेको छैन । कर्मचारीले भोलि भोलि भन्दै आएका छन् ।


‘सुरुमा दुई÷तीन दिन तनहुँबाटै आउने, जाने गरेकी थिएँ,’ उनले भनिन्, ‘धेरै दिन लाग्ने भएपछि आफन्तकहाँ बसेर एक साता लगाएर पाससम्म भयो । अरूको हालतसमेत उस्तै देख्दा चित्त बुझाएर बसेकी छु ।’ आफन्त नभएको भए समय र खर्चको बर्बाद हुने उनले बताइन् ।


पोखराको बिरौटादेखि आएका तेजनारायण सुवेदीले दिनभरि काम गर्ने मान्छे ३ दिनदेखि मालपोत धाउँदा ठिक्क भएको र अझै कति दिन लाग्ने हो भन्दै थिए । ‘हाकिमले तोक लगाइदिएको जग्गा फुकुवाको कामको कागजलाई पनि भोलि आउ भनेर, कर्मचारीले फर्कादिए,’ उनले भने, ‘सोध्दा कर्मचारी थोरै भएकाले नभ्याएको भनेर भन्छन् ।’


यी उदाहरणमात्र हुन् । कर्मचारी समायोजनका कारण कास्की मालपोतमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीको अत्यधिक चाप हुने मालपोतमा सर्वसाधारणको काममा ढिलासुस्ती भएको छ ।


नियमित सञ्चालन हुने अंशबण्डा, लिखत, जग्गा रोक्का, फुकुवालगायत काममा सेवाग्राही मर्कामा परेका छन् । यस्तो समस्या हटाउन कार्यालयले खासै पहल गरेको छैन । एक सेवाग्राहीले मालपोतको ढिलासुस्तीले आफूहरूले दु:ख पाएको बताए ।


कार्यालयका फाँटहरू पनि व्यवस्थित नभएको उनको भनाइ थियो । ‘यस्तो समस्याप्रति जनप्रतिनिधिको पनि ध्यान जानुपर्छ,’ उनले भने, ‘जनतालाई कहिलेसम्म सास्ती दिने भन्नेतर्फ सोचियोस् । काम गरेर खानेलाई समयको कति महत्व हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ ।’


पर्वतकी माया तिवारीले पनि फर्कने गरी काम गर्न आएकामा भीडका कारण बसाइ लम्बिएको सुनाइन् । ‘जग्गा फुकुवाका लागि मात्र हो तर धेरै भीड भएकोले बसाइ लम्बियो,’ उनले भनिन्, ‘पालो पर्खदै ठिक्क छ, सम्बन्धित निकायले एकै ठाउँबाट काम हुने गरी व्यवस्था गर्नुपर्छ ।’


५ जनाले काम गरेको ठाउँमा एक्लै भएको कारण चाप भएकोले हाकिमले तोक लगाएकालाई फिर्ता पठाउन बाध्य भएको कार्यालयकी नासु नीरु अधिकारीले बताइन् । भन्छिन्, ‘सकेसम्म काम सकेर पठाउने चाहना हाम्रो पनि हो, तर नभ्याएपछि के गर्नु ।’ दिनमा २० देखि ३५ जनासम्म हेर्न सकिने उनले बताइन् । मालपोतमा दैनिक एक सय बढी सेवाग्राही आउँछन् ।


सेवाग्राहीको समयमै काम गर्न नसक्नु कर्मचारीको अभाव भएको कार्यालयका सूचना अधिकारी केशवराज सुवेदीले बताए । उनका अनुसार कार्यालयमा ४८ जनाको दरबन्दीमा २८ मात्र कर्मचारी छन् ।


‘कर्मचारी समायोजनका कारण यस्तो भएको हो, यहाँका कर्मचारी स्थानीय तह र प्रदेशमा गएका छन्,’ सुवेदीले भने, ‘अब यहाँ पनि खटिएका कर्मचारी आऊलान् ।’ उनका अनुसार कार्यलयमा मालपोत अधिकृत १, नायब सुब्बा १३, कम्प्युटर अपरेटर ३, खरिदार ३ गरी २० जनाको दरबन्दी खाली छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?