कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सचिवको काम पनि जनप्रतिनिधिबाटै

सम्झना रसाइली

तनहुँ — जिल्लाका घिरिङ र बन्दीपुर गाउँपालिकाका सबै वडामा सचिव छैनन् । एउटै सचिव नहुँदा कार्य सम्पादनमा 
समस्या आएको छ । घिरिङमा ५ र बन्दीपुरमा ६ वटा वडा कार्यालय अहिले सचिवविहीन भएका हुन । ‘अहिले आवश्यक कार्मचारी नहुँदा गाउँपालिका कार्यालयबाटै कर्मचारीहरू खटाएका छौं,’ घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले भने, ‘कतिपय वडामा वडाध्यक्षले नै सचिवको काम गर्नुपर्ने अवस्था छ ।’

सचिवको काम पनि जनप्रतिनिधिबाटै

कुनै वडामा अन्य सेवा क्षेत्रका कर्मचारी खटाएर काम गर्दा निकै समस्या झेल्नुपरेको उनले जनाए । ग्रामीण क्षेत्र, राजमार्गभन्दा टाढा भएकाले कर्मचारी आउन नखोजेका हुन् कि भन्ने रानाको बुझाइ छ ।


घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले गाउँपालिकाको कार्यालयमा सरकारले खटाएको १९ कर्मचारी हुनपर्नेमा प्रशासकीय अधिकृत, लेखापाल र कम्प्युटर अपरेटर गरी ३ जना कर्मचारी मात्र रहेको बताए । दैनिक प्रशासन चलाउन गाह्रो भएकाले केही कर्मचारी करारमा नियुक्त गरी सेवाप्रवाह गर्दै आएका उनको भनाइ छ ।


बन्दीपुर गापा अध्यक्ष पूर्णसिं थापाले सबै वडा सचिवविहीन हुँदा आफूलगायत कार्यपालिकाका कर्मचारी पनि वडाको कार्यमा खटिनुपरेको बताए । ‘वडा सचिवविहीन हुँदा जनतालाई दिनुपर्ने सेवा सुविधा प्रदान गर्न पनि ढिलाइ भएको छ,’ उनले भने, ‘सरकारले कर्मचारी समायोजन गरी खटाए पनि आफू खटिएको वडामा कर्मचारी नआइपुग्नु भनेको सरकारकै कमजोरी हो ।’


घिरिङमा स्थानीय तह गठनदेखि नै कर्मचारी अभाव थियो । बन्दीपुरमा भने पछिल्लो कर्मचारी समायोजनका कारण कर्मचारी सरुवा भई गएका तर अरू नआएकाले समस्या भएको हो । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका ८५ वडामध्ये ४२ वटा वडा सचिवविहीन छन् । पुराना पालिका र बजार क्षेत्रका वडाबाहेक नयाँ कायम गरिएका पालिका र ग्रामीण क्षेत्रका वडाले सचिव, प्राविधिक तथा अन्य कर्मचारी पाउन सकेका छैनन् ।


वडामा सचिव नहुँदा कार्यालयको दैनिक कार्यसम्पादनका साथै सेवाग्राहीले सेवा उपभोग गर्नबाट वञ्चित हुनुपरेको गुनासो बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिकाका ६ मध्ये ४ वटा वडा, देवघाट गाउँपालिकाको ५ मध्ये ३, म्याग्दे गाउँपालिकाका ७ मध्ये २ र रिसिङ गाउँपालिकाका ८ मध्ये ५ वटा वडा सचिवविहीन छन । म्याग्देमा एउटै सचिवले दुईवटा हेर्ने गरेको गाउँपालिकाकी अध्यक्ष माया रानाले बताइन् ।


सचिवविहीन भएपछि वडाहरूमा स्वास्थ्यकर्मी, कार्यालय सहायक, साविक जिल्ला विकास समितिबाट समायोजन भई गएका कर्मचारीलाई वडासचिवको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको स्थानीय तहका प्रमुख बताउँछन् ।


कर्मचारी समायोजनका बेला सबै कर्मचारीले स्थानीय तहभन्दा प्रदेश र संघ नै रोजेका कारणले स्थानीय तहमा प्रयाप्त कर्मचारी उपलब्ध हुन नसकेको हो । स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नभएका कारण वडाध्यक्षलाई समेत कार्य सम्पादनमा

समस्या हुने गरेको छ ।


िंसंहदरबारको अधिकार गाउँगाउँमा भन्ने गरिए पनि त्यो अधिकार भने अझै जनताले सहज रूपमा उपभोग गर्न नपाएको बन्दीपुर गाउँपालिका-१ डुम्रेका सन्दीप श्रेष्ठ बताउँछन् । ‘अधिकार गाउँगाउँमा आयो त भनियो तर पहिला गाविसबाट लिएको जस्तो सहज र सुलभ रूपमा सेवा पाउन सकिएको छैन,’ उनले भने, ‘सानो काम लिएर वडा कार्यालय पुगियो भने केही न केही समस्या देखाउने गरिन्छ, कहिले कर्मचारी छैनन्, कहिले वडाअध्यक्ष छैनन्, कहिले सचिव हुँदैनन् ।’


यस्तै गुनासो गर्छन् भिमाद नगरपालिकाका-७ का लालु थापामगर । उनी भन्छन्, ‘मुलुक संघीयतामा गएसँगै सर्वसाधारणले सहज रूपमा सेवा सुविधा पाउलान् भन्ने आस थियो । तर, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि दुई वर्ष बितिसकेको छ । सेवाप्रवाह सहज र सुलभ हुनुको सट्टा झन् जटिल र महँगो बन्दै गएको छ ।’


जिल्लामा रहेका गाउँपालिकाले मात्रै होइन कर्मचारी अभावको समस्या नगरपालिकाले पनि झेल्दै आएका छन् । जिल्लाका ४ वटा नगरपालिकामध्ये भानु र भिमाद नगरपालिकाले कर्मचारी अभावको समस्या झेल्दै आएका छन् । संघीयतापछि स्थापना भएको भानु नगरपालिकामा पनि पर्याप्त कर्मचारी छैनन् ।


नगरपालिकाको १३ मध्ये ३ वटा वडामा मात्र वडा सचिव छन्, दुई जना सचिव पनि समायोजनाका कारण अन्यक्र जाने त्रममा रहेकाले नगरपालिका वडा सचिवविहीन अवस्थामा रहेको नगरप्रमुख उदयराज गौली बताउँछन् ।


गौली भन्छन्, ‘समायोजनपछि सचिव नभएको वडामा सचिव आउँछन् कि भनेको त झन् भएका कर्मचारीहरू नै सरुवा हुँदै छन् । समयमै कर्मचारीको व्यवस्थापन नहुँदा नगरपालिकाको दैनिक कार्यसम्पादनदेखि अन्य कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा समस्या देखिँदै आएको छ ।’


भिमाद नगरपालिकाका ९ मध्ये ६ वटा वडामा सचिव नभएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापा बताउँछन् । थापा भन्छन्, ‘सिंहदरबारको काम गाउँगाउँमा भन्छन् तर समायोजनको क्रममा सबै कर्मचारीले संघ र सदरमुकामको क्षेत्रलाई मात्र रोज्ने, भएका कर्मचारी पनि सरुवा हुँदै छन् जसले गर्दा पहिला दिइरहेको सेवासुविधा प्रवाह गर्न निकै समस्या भएको छ ।’


एउटै कर्मचारीले २ देखि ३ वटा वडाको कार्य सम्पादन गनुपर्ने र सेवाग्राहीलाई आवश्यक परेको समयमा कर्मचारी भेट्नै मुस्किल हुने उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?