१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेरोजगार युवालाई निर्ब्याजी सापटी

गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले युवालाई स्वरोजगार र व्यावसायिक बनाउन २ लाख रुपैयाँ निर्ब्याजी सापटी दिन प्रक्रिया सुरु गरेको छ । पशुपालन र कृषिजन्य व्यवसाय सञ्चालनका लागि चालु आर्थिक वर्ष ३५ युवालाई रकम उपलब्ध गराउन एक करोड बजेट छुट्ट्याइएको गाउँपालिकाले जनाएको छ । 

गत फागुन २७ को गाउँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ पारित गरेसँगै कार्यान्वयन थालिएको प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले बताए ।


एक वर्षअघिको गाउँसभाबाट कार्यक्रम सञ्चालन गर्ने योजना पास भएको थियो । ‘सूचना निकालेर प्रस्तावसहित निवेदन दिन भनेका छौँ,’ उनले भने, ‘यो महिनाभिक्र छनौट गर्छौं ।’ कार्यत्रममा सहभागी हुने ब्यक्ति छनौटका लागि योजना शाखाका प्रमुखको संयोजकत्वमा ५ सदस्यीय छनौट तथा सिफारिस समिति बनाइएको छ ।


समितिले प्राप्त निवेदन र प्रस्तावको अध्ययन गरी सापटी दिन योग्य व्यक्ति छनौट गरी स्वीकृतिका लागि गाउँ कार्यपालिका बैठकमा पेस गर्ने प्रावधान छ । ‘पशुपालन र कृषिजन्य काम गर्ने हो,’ गुरुङले भने, ‘उत्पादन, भण्डारण, प्रशोधन र बजारीकण गर्न रकम खर्चनु पर्छ ।’ प्राप्त सापटी रकम छनौट भएका ब्यक्तिले तरकारी, माछा, कुखुरा, बंगुर, गाई, बाख्रा, मौरीपालन, अलैँची, अदुवा, कफी, स्याउलगायत ब्यावसायिक खेतीमा खर्चनुपर्ने हुन्छ । कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन तथा ब्यावसायिक किसान बढाउन कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।


‘विदेश जानेको संख्या बढ्यो, यसले सामाजिक सन्तुलन पनि बिग्रने भयो,’ उनले भने, ‘बीउ पुँजी नभएर व्यवसाय गर्न नसकेकालाई बिनाधितो सापटी दिएपछि गाउँमै स्वरोजगार हुन सक्ने भए ।’ चालु वर्षको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्षबाट पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । ‘कार्यक्रम फलदायी बने आगामी वर्षबाट रकम समेत बढाउँछौं,’ भट्टले भने । सरकारी जागिरे, पेन्सनर, गैरसरकारी संस्था लगायत अन्य पेसा व्यवसायमा संलग्न र फौजदारी अझियोग लागेका ब्यक्ति यो कार्यत्रममा समेटिँदैनन् ।


सापटी पाउन निश्चित मापदण्ड भने पूरा गर्नुपर्छ । रकम प्राप्तीका लागी एकल महिला, अपांग र दलित समुदायलाई पहिलो प्राथमिकतामा राखिएको छ । ‘खेतीयोग्य जमिन आफ्नै भए राम्रो हुन्छ, नभए लिजमा लिएर भए पनि व्यवसाय गर्न सक्ने भए,’ गुरुङले भने, ‘प्रक्रियामा परे अहिले व्यवसाय संचालन गरिरहकाले पनि रकम पाउन सक्छन् ।’ पहिलो एक र दोस्रो एक गरी उत्त रकम दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा छ ।


१८ देखि ५० वर्षसम्मका ब्यक्ति रकम पाउन योग्य हुनेछन् । प्राप्त सापटी रकम दुई वर्षमा फिर्ता गर्नुपर्छ । छुट्ट्याइएको एक करोडमध्ये ७० प्रतिशत अर्थात् ७० लाख ३५ युवालाई दुई–दुई लाखको दरले सापटी दिइने छ ।


बाँकी ३० प्रतिशतमध्ये १० प्रतिशत विमा, २० प्रतिशत सीप विकास, ब्यावसायिक र उद्यमशिलता तालिम, कृषिजन्य सामग्री वितरण तथा हलुका सवारी साधन चालकको तालिममा खर्चने उनले बताए । ‘ड्राइभिङ तालिमका लागी इच्छुकको पनि निवेदन संकलन भइरहेको छ, २० देखि २२ जनालाई तालिम उपलब्ध गराउँछौँ,’ उनले भने । बिमा गर्दा व्यवसायीको हौसला बढ्ने भएकाले केही रकम छुट्ट्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?