फरक स्वादको 'ताँजे होमस्टे’

आश गुरुङ

लमजुङ — घरबास (होमस्टे) मा प्रायः खानपिनका परिकार र स्वाद एकै प्रकारको हुन्छ । जिल्लाको विकट ताँजे गाउँ आउने पर्यटकलाई भने स्थानीयले बाह्रै महिना फरक स्वाद खुवाउन थालेका छन् ।

लमजुङको दोर्दी गाउँपालिका ६, ढोडेनीको ताँजे गाउँ । तस्बिर : आश/कान्तिपुर

समूहमा आउने पर्यटकलाई उनीहरूले कम्तीमा २२ वटा छुट्टाछुट्टै स्वादका परिकार खुवाउने गरेका छन् । दोर्दी गाउँपालिका ६, ढोडेनीको ताँजेवासीले पर्यटकलाई खुवाउने परिकारमध्ये धेरैजसो वनजंगल र पाखोबारीमा पाइन्छ । जंगली च्याउ, टुसादेखि सागपात खुवाउने गरेका छन् । अन्य गाउँ तथा होमस्टेमा नपाइने र नखुवाइने परिकार समेत उनीहरूले पर्यटकलाई खुवाउने गरेका छन् ।

सेतो चामल, मार्सी चामलको भात, मकै र कोदोको ढिँडो, रोटी, लोकल खसी, कुखुरा र भेडाको मासु, लोकल मदिरा तथा गुन्द्रुक भने बाह्रै महिना पाइन्छ । फागुन, चैत, वैशाख र जेठमा कुरिलो, ठोस्ने, रायो, चिम्टे, जरे साग, नाङले साग, खोलेसाग, निउरो, बडमले खुवाउने गरिएको छ ।

असार, साउन, भदौ र असोजमा टुसा, सिमी, बोडी, च्याउ साथै कात्तिक, मंसिर, पुस र माघमा कालो, सेतो, रातो भटमास, फुलेको सिस्नो खुवाउने गरिएको उनीहरूले बताए । यी सबै परिकारलाई सुकुटी बनाएर जुनसुकै बेला खान सकिन्छ ।

गाउँमा ५५ घर छन् । गाउँमा प्रायः घले समुदायको बसोबास छ । भूकम्पपछि पुनर्निर्माण गरिएका घरलाई स्थानीयले होमस्टेका रूपमा सञ्चालनमा ल्याएका हुन् । होमस्टे सञ्चालक मेखकुमारी घलेका अनुसार २ वटा कोठामा ४ बेड राखिएको छ । शौचालय र बाथरुम बनाइएको छ । उनीसँगै ३ घरमा होमस्टे सञ्चालन गरिएको ताँजे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टकलाल घलेले बताए । उनका अनुसार ३ घरबाट सुरुवात गरिए पनि कम्तीमा १० घरमा सञ्चालन गरिने उनले बताए ।

अध्यक्ष घलेका अनुसार खाद्यान्न र तरकारी बेसाउनु पर्दैन । आलु, गोलभेंडा, सबैखाले सागसब्जी गाउँमै फल्छ । ‘विकट गाउँ भएर पनि होला, सहरबजारका खाद्यान्न हाम्रोमा आउँदैन । हामी पनि प्रयोग गर्दैनौं । गाउँघरमा जे फल्छ, त्यही खान्छौं ।’

होमस्टे सञ्चालक उरमजंग घलेका अनुसार गाउँमा आउने पर्यटकलाई घाँटु, सोरठी, झ्याउरे लगायत लोपोन्मुख संस्कृति देखाइन्छ । हिमचुली र चित्रे लेकले गाउँको सुन्दरता थपेको छ । प्रुमु झरना, क्यामे झरना हेर्न लायक छन् । मौसममा हुने भीरमहले पर्यटकलाई लोभ्याउँछ ।

दोर्दी गाउँपालिका– ६ का वडाध्यक्ष नन्दराज घलेका अनुसार ताँजेबाट ऐतिहासिक तथा धार्मिकस्थल बराहपोखरी, दूधपोखरीलगयत ठाउँ जान सकिन्छ । हिमचुली बेसक्याम्प समेत जान सकिने भएकाले विदेशी पर्यटकसमेत आउने उनले बताए ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले ताँजेमा होमस्टे सञ्चालन गर्न २ लाख रुपैयाँ विनियोजन गरिएको बताए । ‘हामीले दोर्दीमै पहिलो होमस्टे ताँजेमा सुरु गरेका छौं । गाउँमा कृषि उत्पादनलाई बढावा दिएर अन्य गाउँमा पनि होमस्टे सञ्चालन गर्ने उद्देश्य राखेका छौं’ उनले भने । गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले प्रदेशको समृद्धि पर्यटकबाटै हुने दाबी गरे ।

‘प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधारका रूपमा राखेको छ । हामी पर्यटनबाटै प्रदेशको समृद्धि र देशको समृद्धि चाहन्छौं’ उनले भने । पूर्वसांसद जमिन्द्रमान घलेले ग्रामीण पर्यटनबाट ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सकिने बताए ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने ताँजे गाउँसम्म जिप जान्छ । बेंसीसहर–डुम्रे सडक खण्डको बेंसीसहर–१, उदीपुरसम्मको ८ किलोमिटर पक्की सडक हिँडेपछि ३० किलोमिटरको कच्ची सडकको यात्राबाट नौथर शेरा हुँदै ताँजे पुगिन्छ । भोटेओडारबाट दोर्दीको नौथर शेरा भएर पनि ताँजे गाउँ पुग्न सकिन्छ । ताँजे पुग्न बेंसीसहरबाट साढे ३ घण्टा लाग्छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेरोजगार युवालाई निर्ब्याजी सापटी

कान्तिपुर संवाददाता

गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले युवालाई स्वरोजगार र व्यावसायिक बनाउन २ लाख रुपैयाँ निर्ब्याजी सापटी दिन प्रक्रिया सुरु गरेको छ । पशुपालन र कृषिजन्य व्यवसाय सञ्चालनका लागि चालु आर्थिक वर्ष ३५ युवालाई रकम उपलब्ध गराउन एक करोड बजेट छुट्ट्याइएको गाउँपालिकाले जनाएको छ । 

गत फागुन २७ को गाउँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ पारित गरेसँगै कार्यान्वयन थालिएको प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले बताए ।

एक वर्षअघिको गाउँसभाबाट कार्यक्रम सञ्चालन गर्ने योजना पास भएको थियो । ‘सूचना निकालेर प्रस्तावसहित निवेदन दिन भनेका छौँ,’ उनले भने, ‘यो महिनाभिक्र छनौट गर्छौं ।’कार्यत्रममा सहभागी हुने ब्यक्ति छनौटका लागि योजना शाखाका प्रमुखको संयोजकत्वमा ५ सदस्यीय छनौट तथा सिफारिस समिति बनाइएको छ ।

समितिले प्राप्त निवेदन र प्रस्तावको अध्ययन गरी सापटी दिन योग्य व्यक्ति छनौट गरी स्वीकृतिका लागि गाउँ कार्यपालिका बैठकमा पेस गर्ने प्रावधान छ । ‘पशुपालन र कृषिजन्य काम गर्ने हो,’ गुरुङले भने, ‘उत्पादन, भण्डारण, प्रशोधन र बजारीकण गर्न रकम खर्चनु पर्छ ।’ प्राप्त सापटी रकम छनौट भएका ब्यक्तिले तरकारी, माछा, कुखुरा, बंगुर, गाई, बाख्रा, मौरीपालन, अलैँची, अदुवा, कफी, स्याउलगायत ब्यावसायिक खेतीमा खर्चनुपर्ने हुन्छ । कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन तथा ब्यावसायिक किसान बढाउन कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।

‘विदेश जानेको संख्या बढ्यो, यसले सामाजिक सन्तुलन पनि बिग्रने भयो,’ उनले भने, ‘बीउ पुँजी नभएर व्यवसाय गर्न नसकेकालाई बिनाधितो सापटी दिएपछि गाउँमै स्वरोजगार हुन सक्ने भए ।’ चालु वर्षको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्षबाट पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । ‘कार्यक्रम फलदायी बने आगामी वर्षबाट रकम समेत बढाउँछौं,’ भट्टले भने । सरकारी जागिरे, पेन्सनर, गैरसरकारी संस्था लगायत अन्य पेसा व्यवसायमा संलग्न र फौजदारी अझियोग लागेका ब्यक्ति यो कार्यत्रममा समेटिँदैनन् ।

सापटी पाउन निश्चित मापदण्ड भने पूरा गर्नुपर्छ । रकम प्राप्तीका लागी एकल महिला, अपांग र दलित समुदायलाई पहिलो प्राथमिकतामा राखिएको छ । ‘खेतीयोग्य जमिन आफ्नै भए राम्रो हुन्छ, नभए लिजमा लिएर भए पनि व्यवसाय गर्न सक्ने भए,’ गुरुङले भने, ‘प्रक्रियामा परे अहिले व्यवसाय संचालन गरिरहकाले पनि रकम पाउन सक्छन् ।’ पहिलो एक र दोस्रो एक गरी उत्त रकम दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा छ ।

१८ देखि ५० वर्षसम्मका ब्यक्ति रकम पाउन योग्य हुनेछन् । प्राप्त सापटी रकम दुई वर्षमा फिर्ता गर्नुपर्छ । छुट्ट्याइएको एक करोडमध्ये ७० प्रतिशत अर्थात् ७० लाख ३५ युवालाई दुई–दुई लाखको दरले सापटी दिइने छ ।

बाँकी ३० प्रतिशतमध्ये १० प्रतिशत विमा, २० प्रतिशत सीप विकास, ब्यावसायिक र उद्यमशिलता तालिम, कृषिजन्य सामग्री वितरण तथा हलुका सवारी साधन चालकको तालिममा खर्चने उनले बताए । ‘ड्राइभिङ तालिमका लागी इच्छुकको पनि निवेदन संकलन भइरहेको छ, २० देखि २२ जनालाई तालिम उपलब्धगराउँछौँ,’ उनले भने । बिमा गर्दा व्यवसायीको हौसला बढ्ने भएकाले केही रकम छुट्ट्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT