१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सडक बन्यो पुल छैन

लमजुङ — वारि र पारि सडक बनेका छन् । चार पांग्रे गाडी सडकमा सहजै गुड्छन् । क्वहोलासोंथर गाउँपालिका– २, मालिङ क्षेत्र र ७, घाम्राङ क्षेत्रबाट मिदिम खोलासँग कच्ची सडक निर्माण भएको छ । तर, खोलामा पुल नहुँदा गाउँपालिकाका अधिकांश स्थानीय अर्कै जिल्ला र स्थानीय तहबाट बेंसीसहर हुँदै गाउँपालिका केन्द्र पुग्न बाध्य छन् ।

एउटा पुल अभावमा वडा २, मालिङको कार्यालय पुग्न वडा ५ को सिङदी र पसगाउँ, वडा ७ को भोंजे र घाम्राङ क्षेत्र र वडा ९ को गिलुङ क्षेत्रका स्थानीयलाई सकस परेको छ ।


क्व्होलासोंथर– ७ का अध्यक्ष राजु गुरुङका अनुसार पारीपट्टी देखिने गरी गाउँपालिका कार्यालय छ । खोला छेवैमा घर भएका हिँडेर १ घण्टामै गाउँपालिका कार्यालय पुग्न सक्छन् । तर, पुल नहुँदा बर्खायाममा भोर्लेटार घुमेर बेंसीसहर हुँदै कार्यालय पुग्नुपर्छ । वडा ६ का अध्यक्ष मनलाल गुरुङका अनुसार सवारी साधनबाट गएमा २ देखि ३ घण्टामा सजिलै गाउँपालिका कार्यालय पुग्न सकिन्छ । तर, पुल नहुँदा पोखराबाट घुमेर तनहुँ दमौली हुँदै बेंसीसहर भएर गाउँपालिका कार्यालय पुग्नुपर्छ ।


गाउँपालिका कार्यालय मालिङदेखि मिदिम खोलासम्म र वडा ७ साल्मेदेखि मिदिम खोलासम्मको सडक जोड्ने गरी मिदिम खोलामा पुल आवश्यक छ । हिउँदमा स्थानीय खोला तर्छन् । सवारी साधनले पनि खोला तर्न सक्छन् । खोलालाई फराकिलो पारेर बगाइएको छ । तर, खोला पार गर्दा जोखिम मोल्नुपर्ने वडा ९ का अध्यक्ष नन्दजंग गुरुङ बताउँछन् ।


‘अब खोला बढेर आयो । हिउँदमा त बलजफ्ती गरौंला । बर्खामा सकिँदैन’ उनले भने । उनका अनुसार पुल नहुँदा बालबालिका र वृद्धवृद्धालाई झनै समस्या हुन्छ । पसगाउँ घर भई बेंसीसहर ७ मा बस्ने तिलप्रसाद गुरुङले मोटरसाइकल तार्न नसक्दा मिदिमखोलाको बीचमा लडेको बताए । ‘तार्न सकिन्छ कि भनेर खोलामा हालियो । मोटरसाइकल डुब्न लाग्यो । ठुलाठुला ढुंगामा अडिएर मोटरसाइकलसँगै आफैं लडियो,’ उनले भने, ‘यहाँ छिटो पुल नबनी सुखै भएन । गाह्रो हुँदोरहेछ ।’


जनप्रतिनिधिले मिदिमखोलामा पुल निर्माण गर्न चासो देखाएका छन् । अध्यक्ष प्रेम घलेले गण्डकी प्रदेश सरकारले ९ करोड रुपैयाँको लागतमा पुल बन्ने योजना रहेको बताए । ‘आगामी असोजबाट पुल निर्माण थाल्छौं । मोटर चल्ने पुल बनेपछि मिदिम पारिका जनताले सास्ती भोग्नुपर्ने छैन’ उनले भने ।


उनले स्थानीयलाई गाउँपालिकासम्म आउन सहज होस भनी सडक निर्माण गरेको र अब पुल पनि छिट्टै निर्माण हुने बताए । ‘अहिले मिदिम पारिका सबै वडा तथा गाउँमा सडक पुगेको छ,’ उनले भने, ‘सबै कुरा एकैपटक हुँदैन । तर, विकासले गति लिएको छ ।’

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?