कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदर आतंकले गाउँ रित्तिँदै

प्रतीक्षा काफ्ले

स्याङजा — बाँदर आतंकका कारण बसाइँ सर्ने क्रम बढ्दै गएपछि गल्याङ् नगरपालिका–१० डुबिनडाँडा फूलबारीका घर रित्तिँदै छन् । 

गाउँका ६२ मध्ये बाँदरका कारण ३० घरधुरी तराई बसाइँ सरेपछि वनका विज्ञ टोली अवलोकनका लागि पुगेको छ ।


डिभिजन वन कार्यालयको अगुवाइमा हुविनडाँडालगायत वरिपरिका बासिन्दासँग छलफल गरिएको थियो । टोलीमा गण्डकी प्रदेशका वन निर्देशक प्रकाश लम्साल, उद्योग, पर्यटन वन तथा वातावरण महाशाखाका प्रमुख राजेन्द्र न्यौपाने, डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्ले, सहायक वन अधिकृत वसन्त अधिकारी र गल्याङ् नगरपालिका– १० का वडाध्यक्ष धुव्र पंगेनीलगायतको सहभागिता थियो ।


बाँदरको संख्या बढ्दै गएपछि गाउँमा लगाइएको खेती नरहने, घरमा राखिएको र किनेर ल्याएको अन्नसमेत बचत नहुने भएपछि स्थानीय विस्थापित भएका हुन् । यसको अवस्था बुझ्न विज्ञलाई अनुगमनका लागि लगिएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । कानुनी हिसाबले अहिले बाँदर मार्न नपाइने, बाँदरले पुर्‍याएको क्षतिबापत राहत दिने स्पष्ट व्यवस्था नभएको उनको भनाइ छ ।


डुविनडाँडामा अहिले त्यति खेती गरिँदैन । स्थानीय श्यामकला खनालका अनुसार एकपछि अर्को गर्दै धमाधम घर छाड्नेको संख्या बढ्दो छ । बाँदर आतंक रोक्न स्थानीय सरकार र वन कार्यालयबाट कुनै पहल नहुँदा गाउँमा बस्न नसकिएको भन्दै स्थानीय गाउँ छाड्न बाध्य भएको उनको गुनासो छ ।


यसो त खेतीयोग्य उब्जनी मानिने यहाँको ५ सय रोपनी जमिन बाँझो छ । सिंचाइ व्यवस्था, राम्रो उत्पादन, मलिलो माटो, खेती गर्नका लागि उपयुक्त हावापानी भए पनि यहाँ खेतीतर्फ कोही आकर्षित नहुने स्थानीय नुमाकान्त खनाल बताउँछन् ।


अनुगमन क्रममा विज्ञको टोलीले यस ठाउँमा दुई/तीन थरीका बाँदर रहेको बताएको छ । फरक–फरक हुलले बालीनालीमा क्षति पुर्‍याएको वन अधिकृत काफ्ले बताउँछन् । ‘गाउँमा महिला र केटाकेटी तथा स्फूर्त बच्चालाई आवतजावतमा त्रास/डर उत्पन्न भएको छ,’ उनले भने, ‘कतिपयलाई त आक्रमण नै गरेको पाइयो । यस्तो किन भयो भनेर पनि हामीले अध्ययन गरेका छौं ।’


बाँदरको बासथान नभएकाले गाउँ पस्न थालेको उनले बताए । गण्डकी प्रदेशका वन निर्देशक प्रकाश लम्सालले वन क्षेत्रबाट गाउँ टाढा रहेको बताउँदै पछिल्लो समय वनमा बाँदरको आहारा घटेको बताए । वरपीपल, समी, काफल, जामुन, दमौरो, पनियर, केल, वनतारी, बयरलगायत फलफूल घट्दै गएको निष्कर्ष टोलीको छ ।


विकास र बाटोले चौतर्फी रूपमा फलफूल नष्ट हुन पुगेको बताउँदै टोलीले यसरी बाँदरको बासस्थान, खेल्ने ठाउँ घट्दै गएको बताएको छ । ‘पहिले सबैले कुनाकाप्चासमेत नछोडी खेती लगाउने चलन थियो,’ वन अधिकृत काफ्ले भन्छन्, ‘अहिले धेरैको जमिन बाँझो हुँदै गएको छ । अहिले थोरै खेती भएकाले क्षति बढी देखिएको हो । पहिले बढी खेती हुन्थ्यो, क्षति भए पनि देखिने थिएन ।’


गाउँघरमा पहिले युवा हुन्थे । कुकुरको संख्या बढी हुन्थ्यो । अहिले गाउँमा वृद्ध र बच्चा मात्र छन् । डुबिनडाँडामा बाँसको खपत घट्दै गएको छ । जसले गर्दा बाँस झाँगिँदै गएको पाइन्छ । बाँसमा बाँदर बस्ने गरेको छ । बाँसको झाङमा बाँदर बस्न मन पराउने र सुरक्षित महसुस गर्छन् ।


अनुगमन टोलीले डुविनडाँडामा खेतीपातीको सिजनमा बाँदर धपाउन हेरालु राख्नुपर्ने जनाएको छ । यसमा वडाले सहयोग गर्ने विषयमा छलफल भइरहेको वन कार्यालयले बताएको छ । गाउँभरि बाँदरले मन नपराउने कागतीजस्ता बालीको खेती गर्ने योजना तय भएको वडाध्यक्ष धुव्र पंगेनीले बताए ।


‘घाँसको उत्पादनमा वृद्धि गरी उन्नत जातका बाख्रा तथा भैंसीपालन गर्ने भनिएको छ,’ उनले भने, ‘कृषि वन लागु गर्ने योजना छ । यसमा डिभिजन वन कार्यालयले सहयोग गर्नेछ ।’ गाउँमा उत्पादन भएका वस्तुको बजारीकरणका लागि डुबिनडाँडासम्मको बाटो स्तरोन्नति गर्ने र यसमा वडा र नपाले सहयोग गर्ने गरी छलफल भइरहेको उनले बताए ।


बाँदरको जनसंख्या, जात, वर्गसमेत अध्ययन गरी साँच्चै बढी भएको भएमा समस्याग्रस्त क्षेत्र घोषण गर्ने टोलीले बताएको छ । बढी भएको संख्यालाई मार्ने वा कलिङ गर्ने, नियोजन गराइदिने, अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण गराउने सम्बन्धमा नीतिगत र कानुनी व्यवस्था गरी नियमन गर्न उपयुक्त देखिने बताइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?