१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चार तहमा विपद् व्यवस्थापन

पर्वत — हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी सुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनिहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।

जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकामा ४ सय ५० उद्यमी उत्पादन गर्न थालिएको हो । घरेलु तथा साना उद्योग विकास समितिले गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को सहयोगमा उद्यमी उत्पादन गर्न थालेको हो ।


न्यून आय भएका समुदायलाई दिगो आयआर्जनमा सहभागी गराउन थोरै पुँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न थालिएको परियोजनाले जनाएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालिम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले जनाएको छ ।


शाखाको आर्थिक सहयोगमा संगम तालिम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह संघको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ऊक्त कार्यत्रमका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


कार्यक्रमले विपन्न समुदायलाई बाँसका मुढा, ब्युटीपार्लर, च्याउ खेती, प्लम्बिङ, विभिन्न घरेलु तथा वन पैदावरको उपभोग गरी सामग्री बनाउने हस्तकला र सीपमा आधारित तालिम सञ्चालन गर्दै आएको न्यौपानेले बताए ।


‘अत्यन्तै कम आयस्तर भएका व्यक्ति छनोट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने गरी कार्यक्रम सुरु गरिएको हो,’ उनले भने, ‘सीप र आवश्यक प्रविधि हामी सहयोग गर्छौं । उद्यमीले जाँगर र तत्परता देखाउनुपर्‍यो ।’


सीप सिकेका व्यक्तिले आफैं लगानी गरेर लघु उद्योग चलाउनुपर्ने कार्यविधि रहेकामा आवश्यकताअनुसार घरेलुले सहयोग गर्ने न्यौपानेले बताए । तालिममा सहभागी हुन वार्षिक आय ३४ हजार ४ सय ३० भन्दा कम रहेका व्यक्ति छनोटमा परेका छन् ।


सेवामूलक संस्थाहरू संगम तालिम तथा परामर्श केन्द्र र जिल्ला लघु उद्यमी सेवा संघमार्फत कार्यक्रम कार्यान्वयन भइरहेको फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताए ।


घरेलुका अनुसार कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउापालिकामा ५८, जलजला गाउापालिकामा ५८, विहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार हुने भएका छन् । यसअघि तालिम लिएका पुराना दुई सय ४३ उद्यमीहरूको सीप स्तरउन्नति गर्ने गरी तालिम सञ्चालन भइरहेको घरेलुले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?