कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दान गर्नेको ओइरो

पर्वत — घर अघिल्तिरै शिवपार्वतीको अग्लो मूर्ति बन्ने भएपछि कुस्मा–४ का सागर कर्माचार्यले एक रोपनी जग्गा गुप्तेश्वर गुफा धार्मिक पर्यटकीय समितिलाई दान गरे । बजार क्षेत्रको उनको जग्गा प्रचलित मूल्यअनुसार कम्तीमा ५० लाख पर्छ ।

कोटिहोम दुर्लभ यज्ञ भएको भन्दै लमजुङको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले ३ लाख एक हजार एक सय ११ रुपैयाँ दान गरे ।


कुस्माको गुप्तेश्वर गुफाको प्रचार गरि आकर्षक धार्मिक पुर्वाधार बनाउने गरि जेठ १ देखि कुस्मा बजारमा ११ दिने कोटिहोम महायज्ञ आयोजना गरिएको हो । हिन्दु धर्मका ग्रन्थहरूमा वर्णन हुने शिव र पार्वतीको सम्बन्धसँग जोडिएको गुप्तेश्वर गुफालाई धार्मिक महत्त्व बढाउन र विभिन्न पूर्वाधार निर्माण गर्न यज्ञको आयोजना गरिएको हो ।


यज्ञबाट संकलित रकमबाट शिवपार्वतीको मूर्तिका साथै तीर्थयात्रीका लागि २०८ कोठाको अत्याधुनिक भवन निर्माण गर्ने आयोजक समितिका मूल संयोजक पृथ्वीनारायण शर्माले बताए । ‘पार्वतीको जन्मथलो पाङ भएको कुरा प्रचार भएकै छैन,’ उनले भने, ‘शिवको बासस्थान र पार्वतीले तपस्या गरेर शिवलाई पाएको यही भूमि हो भनेर चिनाउन आवश्यक छ । यज्ञपछि बन्ने संरचनाले त्यो पुष्टि गर्न थप बल पुग्नेछ ।’


पार्वतीको जन्मस्थान पाङ र गुप्तेश्वर गुफाको महत्त्व धार्मिक ग्रन्थमा वर्णन गरेअनुरुप चर्चा पाउन नसकेको भन्दै पण्डित इश्वरकृष्ण भुर्तेलको अगुवाइमा यज्ञ आयोजना गरिएको हो । यस्तो प्रकृतिको यज्ञ बिरलैमात्र हुने दाबी गर्दै प्रमुख बाचक एवं यज्ञका संकल्पकर्ता पण्डित भुर्तेलले उक्त यज्ञमा अपेक्षा गरेभन्दा अधिक सहयोग प्राप्त भएको बताए ।


‘शिवपार्वतीको महिमा बुझेर स्वस्फुर्त दान गरेको देख्दा म चकित छु,’ उनले भने, ‘भक्तहरूले जुन उत्साहका साथ दान गर्नुभएको छ, त्यहि उत्साहसाथ पुर्वाधार बनाइनेछ ।’ त्यसको आर्थिक स्रोतमा अहिले सञ्चालित कोटिहोम एवं सामुहिक तुलादान महायज्ञ पहिलो खुटकला मात्रै भएको उनले बताए । यसपछि लगत्तै धार्मिक संरचना निर्माणका लागि कम्तिमा ४० करोड आवश्यक पर्ने आयोजक समितिले जनाएको छ ।


विश्वकै अग्लो शिवपार्वतीको मुर्ती बनाउन डेढ सय बढीले एक–एक लाख रुपैयाँ दान गरिसकेका छन् । त्यस्तै १०८ शिवलिङ्ग निर्माणका लागि करिव ६० जनाले ५० हजार सहयोग गरेको यज्ञ आयोजक समितिका कोषाध्यक्ष कमलनाथ शर्माले बताए । २५१ जना संस्थापकहरूको सहयोग रकमबाट उक्त मूर्ति बनाइने समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?