१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडकमा खाल्डैखाल्डा

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ८, वाणिज्य बैंक चोकका रहमत खान अगाडिको सडकमा परेको खाडलबाट उडेको धुवाँले आजित छन् । त्यहींनेर ठूला सवारी साधनले धुवाँ फालिदिँदा उनको पसलभित्रै छिर्छ ।

सडकमा खाल्डैखाल्डा

बेंसीसहर ७, हाइस्कुल चोकका कुमार थापा पनि पसल अघिल्लो भागमा परेको खाडलबाट घाम लाग्दा धुलो र पानी पर्दा हिलोपानी नै पसलमा छिर्ने गरेपछि समस्यामा परेका छन् । धुलो र हिलेपानीले छ्याप्न थालेपछि बेंसीसहर ८, भीमसेनस्थान चोक नजिकैका ज्ञानु केसीले आफैं सिमेन्टको व्यवस्था गरेर सडक टालटुल गरे । सडक धेरै खाडल परेकाले उनी एक्लैको केही सीप लागेन ।


सदरमुकाम बेंसीसहरको बीच सडक करिब १ किलोमिटर छ । सडक जताततै खाडालैखाडल परेपछि असुरक्षा बढेको छ । सवारी चालक राजु गुरुङले खाडल परेको सडकले दुर्घटना निम्त्याएको बताए । ‘सडक खाल्डैखाल्डा छ । यस्तोमा कसरी गाडी गुडाउने ? यता गरे टायर धसिन्छ, उता गरे गाडी छोइन्छ । खाल्डो छल्दा दुर्घटनाको डर,’ उनले भने, ‘धुलो, धुवाँ र पानीले छ्याप्यो भन्दै गुनासो त्यस्तै ।’ सडक मर्मत सम्भार नहुँदा निकै समस्या खेप्नुपरेको उनले बताए ।


बेंसीसहरको सडक हिमाली जिल्ला मनाङ जाने सडक पनि हो । यही सडकबाट जलविद्युत् आयोजनाका ठूला सवारी साधनसमेत गुडछन् । स्थानीयका अनुसार चिसो बालुवा बोकेर सडकमै बालुवा मिश्रित पानी पोख्छन् । सडकमै ढुंगामाटो, गिटीबालुवा, छड लगायत निर्माणका सामग्री राखिदिन्छन् ।


उक्त सडक २०५४ सालमा निर्माण भएपछि पूर्ण रूपमा मर्मत हुन सकेको छैन । बेंसीसहर बजारको त्रिवेणीटोल, पुरानो बैंकचोक, बैंक चोक, भीमसेनस्थान, नारायणस्थान चोक, झिंगेखोला, शेरा लगायतका ठाउँमा खाडलैखाडल परेका स्थानीयले बताएका छन् । उनीहरूका अनुसार कहिलेकाहीं हुने टालटुले पनि झारा टार्ने हुन्छन् । त्यही काम पनि बर्खायाममा हुन्छ, बर्खा सकिएपछि उस्तै ।

ट्राफिक प्रमुख सई छबबहादुर घर्तीका अनुसार सडकको अवस्था बिग्रनाले दुर्घटनाको जोखिम बढेको छ । दायाँबायाँ निर्माणका सामग्री राखिदिनाले पनि समस्या बढेको उनले बताए । ‘बाटो जता हेर्‍यो, त्यतै बिग्रिएको देख्छु । बाटो सुधार गर्नुपर्ने देखिन्छ’ उनले भने । सडक र मान्छे दुवैलाई छल्न खोज्दा मोटरसाइकल दुर्घटना हुने गरेको छ ।


बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बेंसीसहरको बीच सडक जिल्ला जोड्ने सडक भएकाले हालसम्म संघीय सरकारले हेर्दै आएको बताए । ‘हामीले भित्री सडक पिच र ढलान गरिरहेका छौं । समस्या यही मुख्य भाग बीच सडकमा छ,’ उनले भने, ‘डिभिजन सडकसँग हुन्छ या सम्बन्धित कार्यालयमा हुन्छ, समन्वय गरेर अहिले काम अघि बढेको छ ।’ सडक बिग्रिएर यसले बेंसीसहरलाई नै कुरुप बनाउने भएकाले नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको उनले दाबी गरे ।


सडक डिभिजन दमौलीले बेंसीसहर बजारभित्रको मुख्य ९ सय मिटर सडकको माथिल्लो लेयरमा कालोपत्रे गर्ने गरी काम सुरु गरेको जनाएको छ । कार्यालयका इन्जिनियर सचिन श्रेष्ठका अनुसार बजार एरियामा सुरुमा खाल्डो टाल्ने काम गरिने असार मसान्तभित्र काम सक्ने बताए ।


कार्यालयका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले सडकको खाल्डाखुल्डी पुर्ने र त्यसपछि अलकत्र हालेर कालोपत्रे गरिने कार्य सुरुवात भएको बताए । ‘तोकिएको समयमा काम सक्छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?