हुरीपीडितका घर बनाउन सेना खटाइयाे

नारायण शर्मा

नवलपरासी — देवचुली नगरपालिकाका हुरी पीडितकाे घर बनाउन आइतबारदेखि सेनालाई खटाइएको छ । छानो उडाएर धेरै क्षति भएका परिवारलाई घर पन्छाउन, खाद्यान्न सार्न र नयाँ घर बनाउन दक्षता भएका सैनिकलाई खटाइएको हो । 

हुरीपीडितका घर बनाउन सेना खटाइयाे

हात्तिखोरमा रहेको नेपाली सेनाको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागणका ३० जना दक्ष सैनिकलाई उद्धारमा खटाइएको हो । देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले उद्धार पुर्ननिर्माणमा सेना खटाइदिन अनुरोध गरेपछि एक अधिकृतको कमाण्डमा ३० जना सेना परिचालन भएको सेनाले जनाएको छ ।

निःशुल्क खटिएका सेनामा सिकर्मी र डर्कर्मीको काम जानेका प्राविधिकहरु समेत रहेका छन् । सेनाले बढि क्षति पुगेका घरलाई प्राथामिकतामा राखेर काम थालेको छ । गत बुधबार र बिहीबार राति आएको हुरीबतासले देवचुली नगरपालिकाको रामवास, मुढावास, लक्ष्मीपुर, मुण्डे र विशालटार क्षेत्रका २ सय भन्दा बढी घरगोठको छानो उडाएको थियो ।

छानो उडाएका घरगोठ मध्ये ३० घर पूरै क्षति भएको प्रारम्भिक रिपोर्टले देखाएको छ । वर्षात्को बेला भएकाले उनीहरु चाँडो ओतलाग्ने घर बनाउनै पर्ने बाध्यतामा रहेको स्थानीय खिमानन्द भुसालले जानकारी दिए ।

हुरीले क्षति पुर्‍याएको २४ घण्टा भित्र त्यहाका सांसद बिनोद चौधरीले १ सय बण्डल जस्तापाता नगरपालिकामार्फत वितरण गरेका थिए । ती सबै घरको खाद्यान्न र लत्ताकपडा भिजेको छ ।

पूर्ण क्षति पुगेका परिवारलाई नगरपालिकाले नगद २० हजार र आंशिक क्षति भएका परिवारलाई १० हजार उपलब्ध गराएको छ । मेयर श्रेष्ठले आपतकालीन उद्धार र थप राहत वितरणकालागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १२, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?