गाउँपालिकाभरि सतुवा खेती

आश गुरुङ

लमजुङ — अलैंची उत्पादन र मुल्यमा गिरावट आएसँगै मर्स्याङ्दी गाउँपालिकाका किसान सतुवा (जडीबुटी) खेती गर्न थालेका छन । जिल्लामा सबैभन्दा बढी अलैंची खेती हुने मर्स्याङ्दी गापा थियो । 

खेती गर्ने तरिका सिकेपछि थोरै समय, श्रम र कम लगानीमा बढी नाफा कमाउन सक्ने भन्दै किसान सतुवा खेतीमा लागेको मर्स्याङ्दी– ७ छिनखोलाका अजय तामाङले बताए । ‘अलैंचीमा मूल्यमा गिरावट आएको छ । अलैंची छोड्ने कुरा त भएन । अलैंचीसँगै सतुवा खेती थालेको छु,’ उनले भने ।


उनले २ वर्षअघि ग्रीन हाउस निर्माण गरेर सतुवा खेती थालेका हुन् । दोलखाबाट ८० रुपैयाँका दरले ५ सय बिरुवा लगाएका थिए । अहिले ५ रोपनी जग्गामा ३ वटा ग्रीन हाउस निर्माण गरी उनले १२ हजार सतुवाका बिरुवा तयार पारेका छन् । ‘सुरुमा लगाएको बिरुवाबाट अर्को वर्ष उत्पादन हुन्छ । अहिले लगाएको अब ३ वर्षमा उत्पादन हुन्छ’ उनले भने । हालसम्म ७ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए ।


मर्स्याङ्दी– ४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार ताघ्रिङ, घेर्मु, भुलभुले क्षेत्रका किसान बढी मात्रामा सतुवा खेतीमा लागेका छन् । ताघ्रिङ र भुलभुले क्षेत्रका घरैपिच्छे सतुवा खेती गरिएको छ । ‘जंगलबाट खोजेर ल्याएर आफैंले घरघरै खेती थालेका छन् । समूहगत लगाउनेले दोलखाबाट बीउ बेर्ना ल्याएर खेती गरेका छन्’ उनले भने । गापाका ३० किसानले लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी दर्ता गरेर ३० रोपनी जग्गामा ३० हजार बिरुवा लगाएको वडा अध्यक्ष गुरुङले बताए ।


किसानका अनुसार अहिले सुकेको सतुवा प्रतिकिलो २० हजार रुपैयाँ पुगेको छ । गतवर्ष १८ हजार थियो । ४ किलो काँचो सतुवा सुकाउँदा १ किलोमा झर्छ । ‘अन्नबालीभन्दा ५ गुणा आम्दानी हुने भएपछि किसान आकर्षित भएका हुन्,’ वडाअध्यक्ष गुरुङले भने ।


सहकारी संस्थाका अध्यक्ष समेत रहेका किसान तामाङले बिरुवा उम्रिएको ३ वर्षमा सतुवा फुल्ने बताए । फुलेपछि ५० देखि १ सय दाना उत्पादन हुन्छ । ‘जमिन मुनिको गानो सतुवा हो, जडीबुटीका लागि प्रयोग हुन्छ । फुलेर निस्केको दाना बिरुवाका लागि हुन्छ’ उनले भने । दाना जमिनमुनि रोपेको ६ महिनापछि बिरुवा भएर उम्रिन्छ ।


‘यो अदुवाजस्तै हो । जति धेरै वर्ष राखियो, त्यति धेरै वर्ष ठूलो र छिप्पिँदै जाने हो,’ तामाङले भने । उनका अनुसार किसानले दोलखा, इलाम, काभ्रेलगायत जिल्ला पुगेर सतुवासम्बन्धी ज्ञान र सीप सिकेर आएका छन् ।


गाउँपालिकाका ३ सय किसानले सतुवाको खेती थालेका छन् । गापा अध्यक्ष अर्जुन गुरुङले सतुवा खेतीका लागि हरेक वडाबाट बजेट विनियोजन गरिएको बताए । ‘कृषि र जडीबुटी साथै जलविद्युत्बाट गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भन्ने हो । कृषि र जडीबुटीमा युवा आकर्षण बढ्दो छ,’ उनले भने ।


डिभिजनल बन अधिकृत मोहन काफ्लेका अनुसार उच्च पहाडी भेगमा पाइन बनेलु औषधि हो सतुवा । । यसको जरा अदुवाको जस्तै हुन्छ । पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला भएमा बिरामीका लागि सतुवा सेवन गरिन्छ । यो बिरुवा नेपालका महाभारत तथा हिमाली क्षेत्रका १ हजार ८ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइन्छ । ‘सतुवा पहिले भारत निकासी हुन्थ्यो । अहिले चीनमा निर्यात हुन थालेको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?