स्थानीय तहलाई जग्गा दिँदै गाउँले

लामो समयदेखि जग्गा खरिदका लागि छनोट गरिरहे पनि नपाएकाले भाडाको घरमा बस्नुपरेको थियो
प्रकाश बराल

बागलुङ — भाडामा बसेर मासिक एक लाख रुपैयाँ खर्च गर्दै आएको जैमिनी नगरपालिकाले आफ्नै भवन बनाउन जग्गा पाएको छ । स्थानीयले ५ रोपनी जग्गा दिएपछि भवन बन्ने भएको हो । 

स्थानीय तहलाई जग्गा दिँदै गाउँले

स्थानीय १० जनाको २० रोपनी जमिनलाई सम्याएर ५ रोपनी जग्गा दिने निर्णयअनुसार नगरले उक्त जग्गा पाएको हो । ‘दुई वर्षदेखि भाडामा बसेकाले खर्चको अनुपात ठूलो थियो, जमिन नपाएर घर बनाउन पनि सकिएको थिएन,’ नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘आगामी वर्ष बजेट विनियोजन गरेर भवन बनाइनेछ ।’


स्थानीय लक्ष्मीप्रसाद सापकोटा, गोपाल सापकोटा, मनकुमारी पाध्या, नेत्र आचार्य, गोपाल आचार्य, कृष्ण आचार्य, धनपति जैसी, कृष्ण अखेली र राजु सापकोटाले जग्गा दिएका हुन् । जैमिनी–१ कुश्मीसेराको मुख्य बजारमै उनीहरूले जग्गा दिएका हुन् । लामो समयदेखि जग्गा खरिदका लागि छनोट गरिरहे पनि नपाएकाले भाडाको घरमा बस्नुपरेको थियो ।


भवन निर्माणका लागि आन्तरिक स्रोतसहित प्रदेश र संघीय सरकारमा माग गर्ने प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । यसैगरी बडिगाड गाउँपालिकाले पनि भवन निर्माण गर्न स्थानीयबाट जग्गा पाएको छ । साथै अस्पताल र क्याम्पस निर्माणका लागि ३० घरपरिवारले ४६ रोपनी जमिन दान गरेका छन् ।


भवन निर्माणका लागि ग्वालीचौरको खार बजारमा जग्गाधनी मिलेर साढे ९ रोपनी जमिन गाउँपालिकालाई मात्र उपलब्ध गराएको स्थानीय गुणनिधि घिमिरेले बताए । झन्डै ३ करोड ६५ लाख रुपैयाँ मूल्यांकन गरिएको जग्गामा गाउँपालिकाले नक्सांकन गरेर अत्याधुनिक भवन बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।


‘अत्याधुनिक भवन बनाउन आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन हुन्छ,’ सुवेदीले भने, ‘जग्गादाताको सम्मान र रेकर्ड राख्ने व्यवस्था पनि थालेका छौं ।’ अहिले गाउँपालिका कार्यालय र विषयगत शाखा सबै भाडाको घरमा बस्दै आएका छन् ।


मासिक ३५ हजार रुपैयाँ भाडा तिरेर गाउँपालिकाले कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिका केन्द्रमै १५ शय्याको अस्पताल बनाउने योजना छ । हाल रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेपछि स्थानीय जग्गावालाले १३ रोपनी जमिन उपलब्ध गराएका छन् ।


उक्त जग्गाको प्रचलित मूल्य साढे ३ करोडकै भएको अध्यक्ष मेयरसिंह पाइजाले बताए । ‘गाउँपालिका केन्द्र व्यवस्थित बनाउने, स्वास्थ्यको अवस्था सुधार गर्ने र सुविधा गाउँ भित्र्याउने अभियानमा गाउँलेको ठूलो साथ पाएका छौं,’ पाइजाले भने, ‘साथ दिनेलाई धन्यवाद र सम्मान मात्र गर्न सकिन्छ, अरू दिन सकिएको छैन ।’


यहाँ अस्पताल बनाएर कम्तीमा एक जना डाक्टर रहने व्यवस्था भए गाउँलेको लाखौं रुपैयाँ जोगिने उनले बताए । भौगोलिक कठिनाइले यहाँका धेरै बिरामीलाई डोकोमा बोकेर सडकमा ल्याएपछि अस्पताल लैजाने बाध्यता छ ।


यहाँकै भानु माविकै नाउँमा भानु क्याम्पस बनाउने योजना गाउँपालिकाको छ । कृषि, भेटेनरीलगायत प्राविधिक शिक्षा पढाउने लक्ष्य राखेपछि गाउँपालिकालाई गाउँलेहरूले १३ रोपनी जमिन निःशुल्क उपलब्ध गराएका छन् । यो जग्गामा प्राविधिक धारको क्याम्पस चलाउने योजना बनाइएको स्थानीय हरि आचार्यले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?