वडा कार्यालय भवनविहीन

प्रकाश बराल

बागलुङ — केही वर्षअघि बन्द भएको एक निजी विद्यालयको जीर्ण भवन । त्यही भवनको एक कोठाको पश्चिमपट्टिको भागमा काठले बारिएको छ । भत्कनै लागेको भवनमा वडाध्यक्ष ज्ञानेन्द्र गौतम, सचिव नारायण पौडेलसहितका कर्मचारीले २ टेबल राखेर कार्यालय सञ्चालन गरेका छन् ।

कोठाभित्रै १५ प्लास्टिकका कुर्सी, २ बेन्च र एउटा बाकस छ । कुर्सी पनि सिधा राख्न नमिल्ने गरी लच्किएको छ । बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा भाडामा राख्ने भवनसमेत नभएपछि सास्तीसाथ वडाको काम चलाइएको हो ।


यत्तिको भवनसमेत कतै नभएपछि जीर्ण भवनलाई वडा कार्यालय बनाइएको गौतमले बताए । त्यही भवनको अन्य कोठामा सडक, विद्यालय र अन्य पूर्वाधारको कामका लागि आएका मजदुर बस्छन् । वडामा आउने सेवाग्राहीले शौचालयसमेत नजिकमा नदेखेपछि केही परको विद्यालयका जीर्ण शौचालय प्रयोग गर्छन् ।


भौगोगिक अवस्थाका कारण सदरमुकामदेखि ४ घण्टाको जिपको यात्राबाट मात्र यहाँ पुगिन्छ । सडक साँघुरो र भीरैभीर भएकाले सहज यात्रा गर्नसमेत कठिन छ । एउटा बस्तीबाट अर्को बस्ती पुग्न २ घण्टासम्म लाग्छ । वडाको भेला राख्दा ठाउँ नभएपछि खुला चौरमा बस्नुपर्छ । फराकिलो चौरसमेत छैन ।


‘वडा भेला राख्ने ठाउँ पनि छैन, स्वास्थ्यचौकी अगाडि ढुंगामाथि बसेर भेला राखेको थिएँ,’ गौतमले भने, ‘कार्यालयमा भएका महत्त्वपूर्ण दस्तावेज संरक्षण गर्न पनि अप्ठ्यारो भएको छ ।’ साबिकको गाविसका स्रेस्ताहरू संरक्षण अभावमा नष्ट हुने खतरा बढेको उनले बताए । वडा कार्यालयभित्र राखिएको बाकसमा ती स्रेस्ता छन् ।


एउटै कोठामा बैठक, दैनिक काम, सेवाग्राहीको जमघट र समयसमयमा हुने लक्षित वर्गसहितका अन्य तालिमलाई पनि त्यही कोठा प्रयोगमा ल्याउने गरिएको हो । उक्त कोठामा जाने बाटो पनि छैन । पानी बग्ने कुलोको छेउबाट जानुपरेकोले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतले सेवा पाउनसमेत समस्या परेको सचिव पौडेलले बताए । ‘काम गर्न धेरै समस्या छ, भत्केला जस्तो कोठामा बसेर सेवा दिएका छौं,’ पौडेलले भने, ‘नगरपालिकामा बजेटको माग गरिरहेका छौं, नपरेसम्म यसबाटै गुजारा चलाउनुपर्ने भयो ।’


चार वर्षअघि यहाँ शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तत्कालीन गाविस भवन बनाउने तयारी गरेको थियो । चार कोठे भवनको डीपीसी गरिएको जग अलपक्र छ । मन्त्रालयले २ वर्षसम्म काम नगरेको, त्रमागत बजेटमा निर्माण गर्ने भनिएको यो भवन पछिल्लो दुई वर्षदेखि बजेट निकासा भएको छैन । मन्त्रालयले दिने गरेको बजेट जिल्ला विकास समितिमार्फत आउने गरेको थियो ।


जिविसको भूमिका फेरिएर समन्वय बनेपछि त्यो बजेट आएको छैन । ‘चालु वर्ष पनि समन्वयमा ४ करोड रुपैयाँ बजेट थियो, त्यो अन्य पूर्वाधारको मर्मत र पुनर्निर्माणमा लगायो,’ गौतमले भने, ‘त्यसबाट पाउन सकेको भए पनि बनाइन्थ्यो ।’ नगरपालिकाले उक्त भवन अपनत्व लिने वा नलिने भन्ने आगामी परिषद्मा मात्र छलफल हुने उनले बताए ।

शान्ति मन्त्रालयले यसअघि भकुन्डे, सिगानालगायतका स्थानमा भने भवन बनाएको थियो । ती भवनमा वडा कार्यालय बसेका छन् । वडा ९ को तित्याङमा पनि भवन अभाव छ । अलपत्र संरचना छाडेर अर्को भवन बनाउने वा त्यही भवन नगरको स्वामित्वमा ल्याउने भन्ने विषयको जटिलताले काम रोकिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।


निर्माणाधीन भवनलाई नगरले स्वामित्वमा लिन सकेमा १५ देखि २० लाख रुपैयाँमै भवन बनेर काम चलाउन सकिने गौतम बताउँछन् । ‘२० लाख बजेट भयो भने चार कोठा बनेर वडाको बजेटबाट ट्रस्ट राखेर सभाहल पनि बनाउन सकिन्थ्यो,’ नीतिगत समस्या र अन्य जग्गा तथा पूर्वाधार अभावमा वडा कार्यालय जोखिम स्थानमा बस्नुपरेको उनले गुनासो गरे ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?