कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्वदेशमै श्रम : आम्दानी र खुसी दुवै

प्रकाश बराल

बागलुङ — भारतमा पुगेर उनले सुरुमा भाँडा माझे । कम्पनीमा कठिन काम पनि गरे । तर आफ्नो गाउँघरको जस्तो सजिलो काम अन्यत्र नपाइने निष्कर्ष निकालेर फर्किए । बागलुङ नगरपालिका–११ रायडाँडाका ४७ वर्षीय नवीन केसीले एक दशक भारतका विभिन्न सहरमा बसेर गरेको कामबाट नपाएको सन्तुष्टि गाउँमा पाएका छन् ।

स्वदेशमै श्रम : आम्दानी र खुसी दुवै

भन्छन्, ‘विदेशमा गर्ने कामबाट अनुभव मात्र सिक्ने रहेछ ।’ कामलाई सम्मान गर्ने बानी बसाल्न मात्र विदेश उपयुक्त भएको उनले बताए । लामो समयसम्म कृषि पेसामै लागेका केसीले विदेशमा बस्दा सजिलै पैसा कमाइ हुने सोच बनाएका थिए । कुखुरा र खसीबाख्रा पाल्दापाल्दै भारत छिरेका उनले दशकको अनुभवपछि गाउँ फर्केर फेरि बाख्रा पालनमै लागेका छन् ।


‘पहिला थोरै पालेको थिएँ, अहिले बढाएको छु,’ केसीले भने, ‘आफ्नै भूगोल सुहाउँदो कृषि पेसा गर्न थालेपछि गाउँका अरू युवा पनि आकर्षित भएका छन् ।’ विदेशको अनुभवपछि चार वर्षदेखि उनले एक सय बाख्रा पाल्दै आएका हुन् । उनको खोरमा ५५ ब्याउने माउबाख्रा छन् । स्वदेशको श्रमले आम्दानी र खुसी दुवै दिने उनले सुनाए ।


खरी जातको बाख्रामा क्रस गरेर २५ प्रतिशत बोयर बनाउँदा उत्पादन बढ्ने, बजारमा आकर्षक मूल्य पाउने र सजिलै बेच्न सकिन्छ । ‘मैले बाख्राको औषधि र रोगविरुद्धका तालिम पनि लिएको छु,’ उनले भने । बाख्रा फर्ममा ४ जनाले काम गर्छन् । श्रीमती रेणुकाले उनको कामलाई साथ दिएकी छन् ।


सदरमुकामका दुईवटा मासु पसलले उनको फर्मबाट नियमित खसीबोका खरिदसमेत गर्छन् । आफैं प्राविधिक रूपमा जानकार भएपछि मात्र व्यावसायिक बन्न सकिने उनको अनुभव छ । प्राविधिक काम नजानेकै कारण केही समयअघि उनका ५३ बाख्रा मरेपछि पेसा छाडेका थिए । अहिले ज्ञान पाएपछि ढुक्कले बाख्रामा लगानी गरेको बताए । रायडाँडाकै युवाले स्थापना गरेको निलगिरी सहकारी संस्थाले ४ लाख, कृषि विकास बैंकले ५ लाख र आफ्नो ३ लाख गरी १२ लाखको लगानीबाट फर्म सञ्चालन भएको हो ।


उनको मिहिनेतबाट प्रभावित भएर पशु अस्पताल तथा भेटेनरीविज्ञ केन्द्र बागलुङ र प्रदेश सरकारबाट पुरस्कारस्वरूप थप अनुदान पाउने सूचीमा केसी परेका छन् । बसाइ सराइका कारण गाउँ छाडेर हिंडेकाको खरबारी भाडामा लिएर उनले बाख्राको चरन क्षेत्र बढाएका छन् । हाल उनले झन्डै डेढ सय रोपनी खरवारी र पाखो भाडामा लिएका छन् । उनले उक्त जग्गाको वार्षिक १ लाख रुपैयाँ भाडा तिर्छन् । काम गर्नेलाई मासिक ९ हजार रुपैयाँ तलब दिन्छन् । फर्मबाट घरको खर्च कटाएर वार्षिक ४ लाख रुपैयाँसम्म नाफा कमाउन सकेको उनले बताए ।


उनले प्लास्टिक टनेल मार्फत बेमौसमी तरकारी पनि लगाएका छन् । हाइटेक प्रविधि मार्फत तरकारी फलाएर सदरमुकाममै पठाउने उनले योजना सुनाए । उनको पौरख देखेपछि आफ्रेका पदमबहादुर थापा, रामतोलाका चिरञ्जीवी केसी र रायडाँडाकै दलबहादुर थापाले पनि व्यावसायिक बाख्रापालन थालेका छन् । उनीहरूको खोरमा पनि एक सयका दरले बाख्रा पालिएको छ ।


बागलुङ नगरपालिकाले बाख्राको पकेट क्षेत्र बनाउने भन्दै रायडाँडालाई नै छनोट गरेपछि किसान हौसिएका छन् । नगरपालिकाले रायडाँडामा पकेटसँगै उत्पादनस्थलको रूपमा पनि विकास गर्ने योजना बनाएको नगरप्रमुख जनकराज पौडेलले बताए ।


‘उपयुक्त वातावरण भएकाले रायडाँडामा बाख्रा उत्पादनस्थल बनाउन सकिन्छ,’ पौडेलले भने, ‘गरिरहेका किसानलाई प्रोत्साहन र नयाँलाई बाख्रा पाल्न लगाइनेछ ।’ यहाँकै चिरञ्जीवी केसीले दुईवटा बोका अस्ट्रेलियाबाटै झिकाएका छन् । शतप्रतिशत बोयर जातको बोकाबाट उत्पादन हुने पाठापाठी एउटैको ७० केजीसम्म हुने भएकाले उनले भित्राएको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?