दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु
लमजुङ — बेंसीसहर नगरपालिका १, उदिपुरको दलालस्थित देउराली नजिकै आइतबार अपरान्ह बस र जीप एक आपसमा ठक्कर खाँदा घाइते ५ जनामध्ये एक महिलाको मृत्यु भएको छ ।
गम्भीर ४ जनालाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेज लगिएकोमा जिपमा सवार दोर्दी गाउँपालिका ७ फलेनीका ५० की डोल्मा तामाङको मृत्यु भएको डीएसपी यादव ढकालले बताए । उनका अनुसार चितवनमा उपचार सम्भव नभई काठमाडौं लाने क्रममा आइतबार राति तामाङको बाटोमै मृत्यु भएको खबर आएको हो ।
बेंसीसहरबाट भोटेओडारतर्फ जाँदै गरेको ग१ज ६५१९ नम्बरको जिप र भोटेओडारबाट बेंसीसहरतर्फ आउँदै गरेको ना४ख. २२८० नम्बरको यात्रुबहाक बस एक आपसमा ठोक्किएर आइतबार अपरान्ह दुर्घटना भएको थियो ।
जिपमा सवार दोर्दी गाउँपालिका ७ फलेनीका ६० वर्षीय फान्तबहादुर तामाङ, २५ वर्षीया सुकमाला तामाङ र जिप चालक मध्यनेपाल नगरपालिका १० थानसिङ नेटाका २९ का विकास मजाकोटीको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये बसमा सवार बेंसीसहर नगरपालिका ३ की ४५ वर्षीया सन्तुमाया विकको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बसचालक बेंसीसहर नगरपालिका ३ का ३५ वर्षीय सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन तीब्र गतिमा भएकाले आपसमा ठोक्किएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनाबाट दुवै सवारी साधनको अघिल्लो भागमा क्षति पुगेको प्रहरीले बताएको छ ।
प्रकाशित : जेष्ठ २०, २०७६ ११:४२