२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विद्यालय पुनर्निर्माणमा ढिलाइ

सम्झना रसाइली

तनहुँ — भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माणले जिल्लामा पूर्णता पाउन सकेको छैन । भूकम्पका कारण जिल्लाका २ सय ९१ विद्यालयमा क्षति पुगेको थियो ।

यो ४ वर्षको अवधिमा १ सय ६५ विद्यालयको मात्र पुनर्निर्माण भएको छ । साविक जिल्ला शिक्षा कार्यालय र हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालयले विद्यालय पुनर्निर्माण गरेका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले आव २०७६/०७७ मा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) बाट यही जेठ मसान्तबाट ५३ वटा विद्यालयको पुनर्निर्माण कार्य बढाउने स्वीकृति पाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालय प्रमुख सूर्यप्रसाद क्षत्रीका अनुसार बाँकी १ सय २६ विद्यालयमध्ये ५२ को भवन बनिरहेको छ । ५३ विद्यालयको भवन निर्माणका लागि स्वीकृति पाइएको र अन्य २१ विद्यालयको विषयमा भने अन्योल छ ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण, विद्यार्थी संख्यालगायतका विविध कारणले २१ विद्यालयको भवन पुनर्निर्माण कार्य के–कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै निर्णय नभएको एकाइ प्रमुख क्षत्री बताउँछन् ।

विद्यालय भवन पुनर्निर्माणका लागि भूकम्पले पारेको क्षति, विद्यार्थीको संख्या र भवन निर्माणका लागि आवश्यक क्षेत्रफलको जग्गा भएका विद्यालयलाई प्राथमिकतामा राखिएको छ । कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयलाई ५ कोठा, १–५ लाई ८, १–८ लाई १२ कोठा र १–१२ कक्षासम्म सञ्चालनमा रहेका विद्यालयलाई १८ कोठा भएको भवन निर्माण गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

क्षत्रीका अनुसार प्रत्येक विद्यालयले ४ कोठे भवनका लागि ७० लाख ४० हजार, ३ कोठाको ट्रस्टसहितको भवनका लागि ३५ लाख ८० हजार र २ कोठाको ट्रस्टसहितको भवन निर्माणका लागि २३ लाख ९० हजार रुपैयाँ गरी ५२ वटा विद्यालयको भवन निर्माणका लागि कुल २३ करोड २५ लाख ६ हजार ५४१ रुपैयाँ बजेट विनियोजन भएको छ ।

विद्यालय भवन निर्माणसँगसँगै चालु आर्थिक वर्षको जेठबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्रमअन्तर्गत जिल्लाका ५२ वटा विद्यालयमा सुविधासम्पन्न शौचालयसमेत निर्माण गरिने भएको छ ।

छात्राछात्र र अपाङ्गता भएका विद्यार्थीको छुट्टाछुट्टै शौचालय निर्माणका लागि प्रतिशौचालय १५ लाख रुपैयाँको दरले ७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको एकाइ प्रमुख क्षत्रीले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?