अपांगमैत्री छैनन् संरचना

बिना थापा

कास्की — गण्डकी प्रदेशको राजधानी पोखरालगायत कास्कीका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन सकेका छैनन् । 

पुराना संरचना अपांगमैत्री नभएको अवस्थामा हाल बन्दै गरेका संरचना पनि त्यस्तै रहेको सरोकारवाला बताउँछन् । ‘अपांगमैत्री संरचना अभावमा कार्यालयबाट पाइने सेवासुविधा सहज हुन सकेको छैन,’ स्वावलम्बन जीवन पद्धति केन्द्रीय महासचिव अञ्जना केसी भन्छिन्, ‘स्थानीय तह र सरोकारवाला निकायले अझै यसतर्फ ध्यान दिएका छैनन् ।’ पुरानाको त कुरै छाडौं, नयाँ बन्दै गरेका कार्यालय भवन, शौचालयलगायत भौतिक संरचना पनि पूर्ण अपांगमैत्री नभएको उनले बताइन् ।


दृष्टिविहीनका लागि ब्रेललिपि र सुस्तश्रवणका लागि दोभाषेको व्यवस्था पनि नहुँदा सेवा लिने क्रममा समस्या उत्पन्न भएको अपांगता भएका व्यक्तिले जनाएका छन । ‘अपांगमैत्री संरचना निमार्ण गर्नु भनेर सम्बन्धित निकायले निर्देशन नदिइसकेको र कतिपय नीति नियम पनि कार्यान्वयन नहुँदा समस्या भएको उनीहरूको भनाइ छ । सरकारी, गैरसरकारी कार्यालय र विद्यालय भवन तथा शौचालयलगायत संरचना अपांगमैत्री हुनु आवश्यक रहेको उनीहरूले बताए ।


अपांग अधिकारकर्मी हितमान छन्त्यालले पटकपटक सम्बन्धित निकायमा अपांगमैत्री संरचना निर्माणका लागि भन्दै आए पनि खासै चासो नदिइएको बताए । ‘कुनैकुनै भवन बनाउँदा अपांगमैत्री बनाएजस्तो देखिए पनि पूर्ण नभएको पाइयो,’ उनले भने, ‘भुइँतलामा केही सहज भए पनि माथिल्ला तलामा जान भने नसकिने अवस्था छ ।’


अव संरचना बनाउँदा सबै कोठामा सहजरुपमा पुग्ने गरी अपांगमैत्री बनाउनुपर्ने उनले बताए । शिक्षा सवैको लागि भन्ने सरकारी अभियान छ । तर अपांगता भएका व्यक्तिलाई सहजै रुपमा विद्यालय जाने अवस्था छैन । विद्यालय भवन, शौचालय, कक्षाकोठा पनि अपांगमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिए । सडक, पैदलमार्ग पनि अपांगमैत्री भए झनै राम्रो हुने उनीहरूको भनाइ छ ।


अपांगता भएकालाई बोझको रूपमा नलिई अवसर दिनुपर्ने छन्त्याल बताउँछन् । यस्तो अवस्थामा अपांगता भएकाले देश र समाजका लागि ठूलो योगदान दिन सक्छन्, दिंदै आएका पनि छन् । यसर्थ, सम्बन्धित निकायले अपांगमैत्री सोच र संरचनामा जोड दिनुपर्ने उनले बताए । ‘पुराना भौतिक संरचानालाई समेत पुनर्निर्माण गरी अपांगतामैत्री बनाउनुपर्ने आवश्यकता भइसकेको अवस्थामा नयाँ भवन निर्माणका क्रममा समेत त्यसप्रति संवेदनशील नभएको पाइएको छ,’ छन्त्यालले भने ।


जनप्रतिनिधि आएको लामो समयसम्म पनि परिवर्तनको महसुस गर्न नपाइएको उनीहरूको गुनासो छ । कुनै पनि कार्यालयको सम्बन्धित फाँटमा सहज रूपमा पुग्नका लागि र्‍याम र लिफ्टको व्यवस्था आवश्यक भइसकेको उनीहरूको भनाइ छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ सबै संरचना अपांगमैत्री बनाउनेतर्फ पहल भइरहेको बताउँछिन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?