विद्यार्थीलाई व्यावसायिक तालिम

घनश्याम खड्का

म्याग्दी — व्यवस्थापनतर्फ स्नातक तह दोस्रो वर्षका विद्यार्थी कक्षामै हाउस वाइरिङको काम सिकिरहेका छन् । म्याग्दी बहुमुखी क्याम्पसमा मालिका–५ देवीस्थानका प्रितम फगामी र रघुगंगा गाउँपालिका–२ भगवतीका अमृत शर्मालाई यो तालिमले आत्मविश्वास बढाएको छ । 

फगामी र शर्माजस्तै बीबीएस अध्ययनरत १२ विद्यार्थीले पनि हाउस वाइरिङ तालिम लिइरहेका छन । ‘मालिका गाउँपालिकाका अधिकांश क्षेत्रमा बिजुली पुगेको छैन । मेरो घर भएको वडामा भर्खर केन्द्रीय प्रसारणको तारपोल टाँग्ने काम भइरहेको छ । क्याम्पसले चलाएको तालिममा व्यावसायिक भविष्य देखेर सहभागी छु,’ फगामीले भने, ‘सैद्धान्तिक ज्ञान र व्यावसायिक सीपको संयोजन गर्न खोज्दैछु ।’


सदरमुकाम बेनीस्थित क्याम्पसले विद्यार्थीलाई पढाइसँगै रोजगारमुलक तालिम दिन थालेको छ । स्नातक तथा स्नातकोत्तर तहमा पनि विद्यार्थीले कक्षा छाड्ने र बिनासीप विदेश पलायन हुने क्रम बढेपछि सम्भावित रोजगार र उद्यमको क्षेत्र पहिचान गराई यस्तो तालिम दिन सुरु गरिएको हो ।


‘स्वदेशमै प्राप्त हुनसक्ने रोजगारमा विद्यार्थीलाई आकर्षण गर्न सीपमुलक तालिम आवश्यक परेको हो,’ सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालले भने, ‘दुःख गरेर पढायो, विद्यार्थी हाम्रो श्रम बजारमा देखिन्नन् । सबै विदेश जान म्यानपावर कम्पनीको दैलोमा लाइन लागेका छन् ।’ गाउँघरमै आम्दानी हुने सीप सिकाए विद्यार्थीले रोजगारीका लागि बाहिर जानैपर्ने मनस्थिति त्याग्ने उनले बताए ।


क्याम्पसका ४० विद्यार्थीलाई सीपमूलक तालिम दिन थालिएको हो । विद्यार्थीको रुचीका आधारमा १० दिने उद्यमशीलता, ३ महिने हाउस वायरिङ, कम्प्युटरको आधारभूत र मर्मत तालिम भइरहेको छ । त्यसैगरी लोकसेवा, शिक्षा सेवा तथा बैंकिङ एवं लेखा सेवा सम्बन्धी छुट्टै तालिम आयोजना गरिएको छ । क्षमता विकास तालिममा व्यवस्थापन, शिक्षा तथा मानविकी संकायका ३०/३० जना विद्यार्थी सहभागी छन् । ५ जना स्नातक अध्ययनरत दलित छात्रलाई ड्राइभिङ तालिम पनि दिइएको छ ।


‘ग्रामीण क्षेत्रमा सीमित शैक्षिक कार्यक्रम राखेर क्याम्पस चलेका छन् । सहरमा विषय रोजेर पढ्ने अवसर नपाएका, घरकै रोटोपिठो खाएर पढ्ने धेरै विद्यार्थी रुचि र क्षमताको विषय पढ्न वञ्चित छन्,’ सहायक प्राध्यापक तारानाथ शर्माले भने, ‘विद्यार्थीमा अन्तर्निहित क्षमता र प्राप्त गरेको सर्टिफिकेट नमिल्दा शैक्षिक बेरोजगार भए । यस्तो तालिम विद्यार्थीलाई व्यवसायको आधुनिकीकरण पनि सिकाउने प्रयत्न हो ।’


०४८ सालदेखि समुदायको सक्रियतामा व्यवस्थापनमा स्नाकोत्तर तहसहित व्यवस्थापन, शिक्षा र मानविकी विषयमा स्नातक तहसम्मको अध्यापन गराउने क्याम्पसले गण्डकी प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग विकास समिति बेनी कार्यालय तथा बेनी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यार्थीका लागि सीपमूलक तालिम संञ्चालन गरेको हो ।


‘विद्यार्थीलाई औपचारिक पाठ्यक्रमको अध्यापनसहित जीवन निर्वाहसँग प्रत्यक्ष जोडिने विषयलाई पूरक कोर्सको रूपमा तालिम सञ्चालन गरेका हौं,’ अर्का सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले भने, ‘जीवन ३ घण्टा लेखेर प्राप्त सर्टिफिकेटले चल्दैन । व्यावहारिक ज्ञानबाट पनि निखारिनुपर्छ । एकोहोरो पढाइले भन्दा मोटिभेसनल कक्षाले बढी बुझाइको तह बढाएको महसुस गरेका छौं ।’


क्याम्पसले व्यवस्थापन संकायका विद्यार्थीलाई बैंकिङ तथा लेखासम्बन्धी, शिक्षा संकायका विद्यार्थीलाई शिक्षक सेवा आयोग र मानविकी संकायका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पनि चलाएको छ । त्यसैगरी विभिन्न क्षेत्रमा सफल व्यक्तिबाट प्रेरणा कक्षा, प्रहरीसँग अपराध, लागूपदार्थ तथा साइबर क्राइम, ट्राफिक प्रहरीसँग ट्राफिक नियम र योग तथा ध्यानका कक्षा पनि चलाउने गरेको छ ।


म्याग्दी क्याम्पसले मात्र होइन, अन्नपूर्ण गाउँपालिका–८ नागीको हिमाञ्चाल माध्यमिक विद्यालयले १० वर्षअघि नै कक्षा ११ र १२ का विद्यार्थीलाई सैद्धान्तिक शिक्षा बाहेक व्यावहारिक ज्ञान र सीप सिकाउने उद्देश्यले अतिरिक्त कक्षाको रूपमा अनिवार्य सिकर्मी, डकर्मी, सिलाइ–कटाइ तथा हाउस वाइरिङ लगायतका व्यावहारिक शिक्षा दिँदै आएको थियो । विद्यार्थीको चासो घट्दै गएपछि भने पछिल्ला दुई वर्षदेखि त्यस्ता कक्षा बन्द गरेको छ ।


‘सुरुमा विद्यार्थी र अभिभावकको राम्रो आकर्षण थियो तर, विस्तारै सिकेको सीप प्रमाणित नभएपछि उनीहरूको चासो र रुचि घट्यो,’ प्रधानाध्यापक रमन पुनले भने, ‘विद्यार्थीलाई व्यावसायिक तालिमबाट सीप त दियौं तर, हाम्रो तालिम प्रमाणित गर्ने निकाय भएन । सर्टिफिकेट नभएपछि रोजगारदाताले पत्याएन । अनि विस्तारै आकर्षण घट्यो अनि बन्द गर्नुपर्‍यो ।’

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?