कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दलित बस्तीमा एक कोठे घर

हरिराम उप्रेती

गोरखा — भूकम्पले ढुंगामाटोले बनेको एकतले घर भत्काएपछि गोरखा नगरपालिका–५ पंदेलथोकका राजु सिर्मलको ४ जनाको परिवार लामो समय अस्थायी टहरोमा बस्यो । लाभग्राही सूचीमा समावेश भएर अनुदान सम्झौता गर्दासम्म सरकारी अनुदान ३ लाखले घर निर्माण थालिहाल्ने आँट उनलाई आएन ।

घर निर्माणका लागी थप रकम जोहो गर्ने आधार पनि भएन । उनले सरकारी अनुदानबाटै एक कोठे भएपनि घर निर्माण थाल्न आँटे । ‘बस्ने अर्को घर पनि छैन, नयाँ घर बनाउनु नै छ । ३ लाखको परिधिभित्र रहेर जसोतसो घर निर्माण सकें,’ सिर्मलले भने, ‘रकम नपुग्ने हो कि भन्ने सोचेर सक्ने काममा आफैं खटिएँ ।’ निर्माण सके पनि उनलाई नयाँ घरप्रति चित्त बुझेको छैन ।


ग्रामीण परिवेशमा एककोठे घर निकै साँघुरो भएको उनले सुनाए । ‘सुत्न भएको छ, अन्नबाली राख्ने ठाउँसम्म छैन,’ उनले भने, ‘टहरोमा राखनधरन (अन्नपात र अन्य सरसामान) र खाना बनाउने गरेको छु । मान्छे नबस्ने टहरोमा कोदो मकै राख्दा मुसाले खाएर हैरानी छ ।’ रकम अभावकै कारण चर्किएको एकतले घर भत्काउन नसकेको उनले बताए । परिवार एउटै कोठामा बस्न गाह्रो भएको उनको भनाइ छ । ‘दुई कोठासम्म बनाउन सकेको भए पनि निकै सजिलो हुन्थ्यो होला,’ उनले भने, ‘घर निर्माणका लागी धेरै रकम खर्च गर्न आफ्नो गच्छेले भेटेन, एकपटक बनाउने घर भव्य नै बनाउने सोच थियो, सोचेजस्तो भएन ।’


सन्तबहादुर सार्कीले पनि उस्तै समस्या सुनाए । ‘पाहुना आउँदा सुताउने ठाउँ छैन,’ सार्कीले भने, ‘बरन्डा र फराकिलो मझेरी भएको घर पो घर, यसलाई के घर भन्नु । ओत लाग्ने ठाउँ चाहिं भएको छ ।’ टहराको बसाइबाट मुक्ति पाएकामा भने उनी खुसी छन् । भन्छन्, ‘दुई तीन वर्षसम्म टहरामा बस्यौँ । टहराको बसाइ घरजस्तो नहुने रहेछ । पानी परे मझेरीसम्म पुग्ने, जाडामा शीत चुहिने, गर्मीमा जस्ता तातेर हैरान, साँघुरै भए पनि नयाँ घर त पायौँ ।’ घर साँघुरो हुँदा भने समस्या भएको उनको गुनासो छ । ‘अहिलेसम्म टहरामा राखेर चलिरहेको थियो, अब त्यो टहरो पनि भत्कने अवस्थामा पुगेको छ,’ उनले भने, ‘अन्नपात कहाँ राख्ने, जोगाउन नसके के खाने पिरोलो थपियो ।’


जिल्लाका कतिपय गाउँमा सरकारी अनुदान ३ लाख पाउनकै लागि एककोठे घर बनाउने प्रचलन पनि छ तर यस दलित बस्तीका स्थानीय भने रकम नभएरै एककोठे बनाउन बाध्य भएको बताउँछन् । गाउँमा १३ घर एककोठे बनेका स्थानीय रामशरण कट्टेलले बताए । एकाधबाहेक आर्थिक अवस्था कमजोर भएकै कारण एककोठे बनाएको उनले सुनाए । दुईकोठे घर बनाउन कम्तीमा पनि ६ लाखसम्म खर्च लाग्ने स्थानीय बताउँछन् ।


‘नयाँ घर पनि बनाउनैपर्ने छ, ऋण गर्न सक्ने अवस्था पनि नरहेपछि एक कोठे घर बनाउनु बाध्यता हो,’ उनले भने । सरकारी अनुदानले निर्माण सामग्री खरिद गर्न पनि नपुग्ने भूकम्पपीडित बताउँछन् । उत्तरी क्षेत्रमा निर्माण सामग्री ढुवानीमै बढी खर्च हुँदा घर निर्माणको लागत बढेको छ । कतिपयले ऋणसमेत लागेको बताउँदै आएका छन् ।


निजी आवासतर्फ निर्मित घरमध्ये २० प्रतिशतजति एककोठे बनेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय प्रमुख रामशरण आचार्यले बताए । ‘एकाध घर गरिवीका कारण एककोठे बनेका छन’ उनले भने, ‘सकभर एककोठे घर नबनाउन भनेका थियो तर यसले समस्या निम्त्यायो ।’

प्रकाशित : जेष्ठ २४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?