मोरिसलाई पछ्याउँदै पदमार्ग

आश गुरुङ, विना थापा

(अन्नपूर्ण आधार शिविर) — सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नु तीन वर्षअघि अन्नपूर्ण हिमाल आरोहण भएको थियो । राणाशासनविरुद्ध नेपालीहरू जाग्दै गर्दा फ्रेन्च आरोही मोरिस हर्जोग अन्नपूर्ण चुचुरोमा पुगेका थिए । 

२००७ जेठ १९ मा उनले ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम चढेर विश्व कीर्तिमान कायम गरे । संसारमै पहिलोपटक ८ हजार माथिका १४ मध्येको हिमाल आरोहण गरेको भन्दै उनको चर्चा भयो । ३१ वर्षकै उमेरमा उनले गरेको आरोहण हिमशिखर उक्लिन चाहने संसारका धेरै आरोहीका लागि नौलो खबर थियो ।


अन्नपूर्ण सफल आरोहणको सात दशक पुग्नै लाग्दा चुचुरो र आधार शिविर बारे आन्तरिक र बाहृ पर्यटकलाई धेरै कुरा थाहा भइसकेको छ । मोरिस हिँडेको बाटो पछ्याउँदै अहिले पदमार्ग संचालनमा आएको छ । धौलागिरी क्षेत्रबाट मुस्ताङको टुकुचे, ताक्लुङबाट म्याग्दीको भुस्केट झरेर अन्नपूर्ण बेसक्याम्प जाने बाटो संचालनमा छ । उक्त पदमार्ग निकै अप्ठ्यारो भएकाले भरियाको ज्यान जाने गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका सुवास विक बताउँछन् । ‘मेरै आफन्तको भीरबाट लडेर ज्यान गयो । यतिसम्म कि एसएलसीमा फर्स्ट डिभिजनमा पास भएका आफन्त खबर सुन्न नपाउँदै भीरबाट लडे,’ उनले भने, ‘त्यो बाटोले मान्छेको ज्यान लिन्छ भनेर गाउँबासीले नारच्याङबाटै बाटो खोल्यौं ।’ मोरिसले अन्नपूर्ण प्रथम हिमाल चढेको ६९ वर्ष भएको बखतमात्रै उनलाई पछ्याउँदै पदमार्ग निर्माण गर्न सफल भएको विकले बताए ।


नारच्याङबाट शिविर जाने बाटो पनि केही ठाउँमा डरलाग्दो छ । पहाड र खोंच छिचोलेर मिस्त्री खोलामा फडे, अस्थायी पुल, तथा झोलुंगे पुल निर्माण गरेर पदमार्ग बनाइएको छ । नारच्याङबाट पहिलो दिन पुगिने छोटे पाससम्म निर्माणाधीन निलगिरी जलविद्युत आयोजनाले सडक निर्माण गरेको छ । करीब १६ किलोमिटर सडक डेढदेखि २ घण्टा सम्ममा पार गर्न सकिन्छ । उक्त आयोजनाले दोस्रो दिनको बसाइँ हुने ठाउँ हुमखोलासम्म सडक निर्माण तयारी गरेको छ । ‘गाउँबाट अन्नपूर्ण बेसक्याम्प जाने बाटो ४ दिनको हो । २ दिनको बाटो हाइड्रोले खनेपछि माथिल्लो २ दिने बाटो सहज हुनेछ,’ विकले भने । उनका अनुसार स्थानीयलाई २ देखि ३ दिनसम्म लाग्ने गरेको छ ।


पदमार्ग निर्माणका अगुवा संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार खानेपानीको सुविधा पुग्ने गरी पदमार्ग निर्माण गरिएको छ । नारच्याङबाट अन्नपूर्ण प्रथमको आधार शिविर जाने बाटो थिएन । उनले २०६७ मा अध्ययन अनुसन्धान गरी पदमार्ग निर्माण थालिएको बताए । ‘मौरिस हर्जोगले कास्कीतिरबाट हिमाल चढेको प्रचारप्रसार भयो । त्यहींको बेसक्याम्पमा हर्जोकको शालिक बन्यो । उनले जुन ठाउँबाट हिमाल चढिएको हो, त्यसको प्रचारप्रसार भएन । यो ठाउँ गुमनामजस्तै बन्यो,’ उनले भने, ‘सरकारी तबरबाट केही भएन । यसरी भएन भनेर हामी जुट्यौं ।’ उनले मिस्त्री खोला तिरैतिर खोलाकै मुहानसम्म पदमार्गको ट्र्याक खोलेको बताए । ‘बाटो कहीं थिएन । धेरै समय भीरमा गएर अडियौं । अनुसन्धानका त्रलममा मिस्त्री खोलामा ४४ पटक फडे बनाएर वारपार गरियो’ उनले भने, ‘गत बर्षदेखि बेसक्याम्प सम्म पुग्ने ट्रयाक खुलेको छ । अझै धेरै गर्न बाँकी छ ।’


२०६८ मा पदमार्ग निर्माणका लागि ‘प्रपोजल’ लेखेर पर्यटन मन्त्रालयमा पेश गरेको उनले बताए । मन्त्रालयले ०७२ सम्म हरेक वर्ष १० लाख तथा ०७३ र ०७४ मा १५/१५ हजार र ७५ मा २० लाख दिएको उनले बताए । ‘मन्त्रालयले दिएको रकममा हामीले २० प्रतिशत श्रमदान गरी बाटो बनायौं,’ उनले भने । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अघिल्लो बर्ष १५ लाख र यसबर्ष १० लाख दिएको छ । गण्डकी प्रदेश सरकारले यसबर्ष १५ लाख स्वीकृत गरेको छ । वडाले ३ लाख सहयोग गरेको छ । ‘अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण गरेका छौं । गतबर्ष बनाएको झोलुंगे पुल एउटा खोलाले बगायो । २ वटा बाँकी छ । काठे पुल भने धेरै बनाएका छौं’ उनले भने, ‘भुस्केटमा पोटर सेल्टर छ । बेसक्याम्प र छोटे पामा बनाउन बाँकी छ ।’


करीब १ हजार ३ सय ५० मिटर उचाइको नारच्याङबाट करिब ४ हजार ५ सय मिटर उचाइको माथिल्लो बेसक्याम्पसम्म जाने पदमार्ग स्थानीयले जोडेका छन् । उक्त पदमार्गबाट पर्यटक विस्तारै अन्नपूर्ण बेसक्याम्प जान थालेको उनले बताए । ‘आफ्नै ठाउँको पदमार्ग विकास नगर्दा बर्षेनी हेलिकप्टर चढेर पर्यटक पुगे । एकैपटक हाइ अल्टिच्युटमा पुग्दा पर्यटक बिरामी हुने, मृत्यु हुने समस्या बढ्यो’ उनले भने, ‘पदमार्गको फाइदा के हो भने बिस्तारै अल्टिच्युट र वातावरणसंग घुलमिल हुँदै जान्छ । लेकमा समस्या पर्दैन ।’ नारच्याङभन्दा माथि मानव बस्ती नहुँदा र बनजंगलमात्रै भएकाले पूर्वाधार निर्माणमा निकै सकस परिरहेको उनले बताए ।


चक्रीय अन्नपूर्ण पदमार्ग तथा अन्य पदमार्गमा अहिले सडक बनिरहेको बेला अन्नपूर्ण प्रथम जाने पदमार्ग नयाँ गन्तव्य बनेको एक्याप केन्द्रीय कार्यालयका संरक्षण अधिकृत एवं सूचना अधिकारी ऋषि बरालले बताए । ‘पदमार्गलाई पदमार्ग हुन दिनुपर्छ । मोटरबाटो पुर्‍याएर छोट्याउने कार्य नराम्रो हो’ उनले भने, ‘विकासको नाममा विनास गरिनु हुँदैन । बरु पूर्वाधार थप्नुपर्छ ।’ उनका अनुसार यस क्षेत्रको प्राकृतिक भूगोल, अन्नपूर्ण प्रथमका अलावा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, निलगिरी नर्थ, सेन्टर र साउथ, तिलिचो पिक, अन्नपूर्ण फ्याङ लगायत हिमश्रंखलाका दृश्यावलोकन गर्न सकिन्छ । एक्यापका संरक्षण अधिकृत शैलेन्द्रकुमार यादवका अनुसार हिमाली भेगमा हिउँचितुवा, कस्तुरी, मृग साथै विभिन्न चराचुरुङ्गी, विभिन्न प्रजातिका गुराँस, फूल लगायत पाइन्छ । यस ठाउँको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्न सकिए स्वदेशी तथा विदेशी पर्यटक आउने उनले बताए ।


पछिल्लो समय लमजुङबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग सडकले विस्थापित गरिदिँदा २१ दिनबाट छोटिएर ७ देखि १० दिनमा झरेको छ । लमजुङदेखि मनाङसम्म र म्याग्दीदेखि मुस्ताङसम्म सडक बनेको छ । म्याग्दीको तातोपानी, घोरेपानीजस्ता ग्रामीण भेगसम्म पनि मोटरबाटो निर्माण भएको छ । कास्कीको अन्नपूर्ण बेसक्याम्प, घान्द्रुक–घोरेपानी, धम्पुसलगायत ग्रामीण भेगसम्म सडक पहुँच पुगेपछि पदमार्ग संकटमा पर्दै गएको छ ।

अन्नपूर्ण प्रथम बेसक्याम्पमा भने फ्रान्सेली तथा भारतीय पर्यटक आउने गरेको पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष चन्द्रजीत पहरे पुनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?