कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महानगरको भाडामा विभेद

विना थापा

कास्की — पोखरा महानगरपालिकाले विभिन्न स्थानमा लगाएको सटर भाडा विभेदपूर्ण भएको पाइएको छ । फरक–फरक भाडा लिई अन्याय गरेको गुनासो भाडामा बस्नेहरूले गर्दै आएका छन् । त्यसैमध्येकी एक हुन्, राष्ट्रबैंक चोकस्थित महानगरको भवनमा बस्दै आएकी लक्ष्मी श्रेष्ठ ।

कपडा पसल सञ्चालन गर्ने उनी मासिक ३५ हजार भाडा महानगरलाई बुझाउँछिन् । ‘पहिला सरकारी कार्यालय यतैतिर धेरै भएकाले चहलपहल हुन्थ्यो । व्यापार पनि फस्टाएको थियो । भाडा तिर्न समस्या हुन्थेन,’ उनले भनिन्, ‘अहिले चहलपहल घटेसँगै व्यापार पनि घटेको छ । भाडा घटाउ भन्दा महानगर मान्दैन ।’ उनले अन्यत्र भने महानगरले भाडामा व्यापक घटाएको बताइन् ।


जिल्ला मालपोत र नापी कार्यालय अघि पनि महानगरका ११ सर्टर छन् । त्यहाँको चहलपहलमा कुनै कमी छैन तर महानगरले भने ती सटरको भाडा ९ देखि १५ हजारसम्म घटाएको छ । ‘व्यापार उस्तै उस्तै हो,’ श्रेष्ठले भनिन्, ‘यस्तो विभेद किन ?’ भाडा घटाउन महानगरमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो उनको छ । राष्ट्रबैंक चोकमा १० सर्टर छन् ।


मालपोतअगाडिको सटरको भाडा के कारणले घटाए, थाहा नभएको राष्ट्रबैकचोककी अर्की लक्ष्मी पौडेलले बताइन् । उनले महानगरलाई मासिक २३ हजार ५ सय ५५ रुपैयाँ बुझाउँदै आएकी छन् । ‘मालपोत अगाडिकालाई मात्र भाडा घटाएकाले विभेद भएको छ, घटाए सबैलाई घटाउनुपर्छ,’ उनले भनिन्, ‘व्यापार उस्तै हो, सुविधा केही छैन, घर आफैं मर्मत गर्नुपर्ने अवस्था छ, बत्ती छैन । भवन जीर्ण छ तर कसैलाई ढाड सेक्ने गरी भाडा असुलेका छन् । कसैलाई घटाएका छन्, महानगरले भाडामा बस्नेलाई एकै रूपले हेर्नुपर्छ ।’


महानगरका कर अधिकृत शिवहरि शर्माले मालपोत कार्यालय लेखनाथमा पनि सरेको, संरचनामा केही क्षति पुगेको, विद्युत् र खानेपानी सुविधा नभएपछि भादादर घटाएको बताए । ‘पानी, बिजुलीको व्यवस्था आफैंले गरेका छन्, कतिकामा शौचालयसमेत छैन । अर्को व्यापारसमेत घटेको अवस्थाले भाडा घटाइएको हो,’ उनले भने, ‘अवस्था हेरेर भाडाको व्यवस्था गर्न सकिन्छ ।’


मालपोत अगाडिका सटरसँग पहिला २६ हजार ५ सय ५ भाडा लिएकामा घटाएर १० हजार एक सय ८० गराइएको छ भने १५ हजार भाडा भएकामा घटाएर ६ हजारमा झारिएको छ । मालपोत कार्यालय अगाडिको मात्र नयाँ भाडादर कायम भएको हो । उनका अनुसार महानगरका महेन्द्रपुलमा २५, अर्घौंचोकमा ४, सिर्जनाचोकमा १ भवन, राष्ट्रबैंक चोकमा १० र मालपोतअगाडि ९ गरी ४९ सटर भाडामा छन् ।


चालु आर्थिक वर्षको साउनदेखि जेठ २६ सम्ममा १ करोड ८६ लाख रुपैयाँ उठेको छ भने १ करोड ४० लाख उठ्न बाँकी छ । भाडाबाट उठेको पैसा आन्तरिक विकास निर्माण कार्यमा विनियोजन गरिन्छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?