१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अक्षर चिन्दै आमाहरू

हरिराम उप्रेती

गोरखा — क–कमल, ख–खरायो, ग–गमला, घ–घर, ४० नाघेका आमाहरू चिच्याउँदै अक्षर चिन्दै छन् । कखरा सिक्ने रहर जागेको छ । सहिद लखन गाउँपालिका–९ नाम्जुङस्थित रिपगाउँका आमाहरू घरधन्दा सकेर बिहान ११ नबज्दै हातमा कापी, किताब बोकेर कक्षामा पुग्छन् । 

अक्षर चिन्दै आमाहरू

गाउँमा हुने सामान्य बैठकमा ल्याप्चे लगाउँदा लाज हुन्छ ६६ वर्षीया टकमायाँ गुरुङलाई । भन्छिन्, ‘पढ्ने रहर हो । सहीछाप गर्न मात्र सिक्न पाए हुन्थ्यो ।’ बाल्यकालमा विद्यालय जान नपाएकोमा उनलाई पछुतो छ । ‘किताबको अक्षर सरर पढ्न रहर लागेको छ, सही गर्न जानेर किताब पढ्न सिक्ने हो,’ उनले भनिन्, ‘बुढेसकालमा सामान्य लेखपढ मात्र जाने पनि धन्य हुन्छ ।’


यो उमेरमा पढाइको महत्त्व बुझेको उनले बताइन् । ‘स्कुल भनेको कस्तो हुन्छ, सानोमा देख्न पनि पाएनौँ,’ टकमायाले भनिन्, ‘गाउँको मान्छे सधै अर्मपर्ममा हिँड्नुपर्ने, मेरो जस्तै अवस्था नहोस् भनेर ३ छोराछोरीलाई दुःखजिलो गरेर पढाएँ, अक्षर चिनेसी धेरै बाठो होइन्छ भन्ने छोराछोरीले पढेपछि बुझेको छु ।’ टकमाया जस्तै यहाँ कक्षामा सहभागी भएकाको साझा एजेन्डा ‘नाम लेख्न’ सिक्नु हो ।


लालमाया गुरुङको २० वर्षको उमेरमा बिहे भयो । उनी पनि स्कुल जान पाइनन् । ५० वर्षीया लालमाया अहिले अन्य सहपाठीभन्दा सबेरै कक्षामा आइपुग्छिन् । ‘गाईभैंसीलाई टन्न बनाएर आफू पनि खाना खाइवरी आउँछु,’ उनले भनिन्, ‘गरेजस्तो नगरेको हुँदोरहेनछ । घरमा नकराई बसेको भन्दा कक्षामा आएर मिसले अह्राएको मात्र गर्दा पनि धेरै सिकिँदोरहेछ ।’


मेहनतको फल, उनले आफ्नो नाम लेख्न सिकिसकेकी छन् । ‘नाम लेख्ने रहर हो, बल्लबल्ल जान्यो,’ उनले भनिन् । सही गर्न जान्नु नै ठूलो कुरा भएको उनले बताइन । वुढेसकालमा केटाकेटीको जस्तो सजिलै अक्षर लेख्न र पढ्न गाह्रो भए पनि हिम्मतसाथ पढ्न आएको ५५ वर्षकी पुतली गुरुङले बताइन । पुरानो जमानामा छोरीलाई पढाउने चलन नहुँदा पछि परेको आमाहरूले बताए । ‘अर्काको घर जानी छोरी पढाएर के फाइदा भन्थे, गोठालो गए सबै खुसी,’ मनकुमारी गुरुङले भनिन्, ‘उबेला छोरी ठूलो मान्छे हुनै हुन्न भन्ने सोचले पढ्न दिइन्नथ्यो ।’


बाल्यकाल पानी, पँधेरो, ढिकीजाँतामै बिताएकी उनलाई पढ्न नपाएकामा पछुतो छ । छोरीलाई पढाए बाठा हुन्छन्, बर्बाद हुन्छ भनेर बाबुबाजेले पानी पँधेरो, ढिकीजाँतो, अर्मपर्म मात्र छोरीको काम हो भन्ने बनाइदिएको उनले बताइन् । अहिले सोच्दा पढेको भए म पनि ठूलै मान्छे बन्थें होला भन्ने लाग्ने उनको भनाइ छ । आफूले नपढे पनि छोरीलाई उनले उच्च शिक्षासम्म पढाएकी छन् । ‘बाबुबाजेको जस्तै मेरो पनि सोचाइ भए छोराछोरी पनि मजस्तै अनपढ हुन्थे होलान्,’ उनले भनिन्, ‘नपढेर आफूले पाएको दुःख देखेर छोराछोरीलाई स्कुल पठाउन छुटाइनँ ।’


पहिलो चरणमा आमाहरूलाई नाम, ठेगाना र आफ्नो पेसा भन्न र लेख्न सिकाएको सहयोगी शिक्षिका कुमारी गुरुङले बताइन् । ‘साक्षर जिल्ला घोषणा भइसके पनि अझै ल्याप्चे लगाउने भेटिन्छन्,’ उनले भनिन्, ‘साक्षरता तथा निरन्तर शिक्षाको कक्षा चलाएका हौँ ।’ नजानेका पाका पुस्तालाई नामसम्म लेख्न सिकाउन कक्षाले सघाउने उनको विशवास छ ।


एक महिनाअघि सुरु कक्षा ३ महिनासम्म चल्नेछ । पढाउन सजिलो रहे पनि बुझाउन भने गाह्रो भएको उनले अनुभव सुनाइन् । सामुदायिक सिकाइ केन्द्र गण्डकी प्रदेश संयोजक तथा जिल्ला सञ्जाल गोरखाका अध्यक्ष बालकृष्ण लामिछानेले प्रदेशको शिक्षा विकास निर्देशनालयले साक्षरता तथा पुनः साक्षर गराउन प्रदेश भरिनै कक्षा संचालन गरेको बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?