सहज बन्दै धौलागिरी पदमार्ग

घनश्याम खड्का

(म्याग्दी) — परम्परागत जोखिमपूर्ण पदमार्गको स्तर सुधार गरेपछि धौलागिरी चक्रीय पदमार्ग सहज भएको छ । धौलागिरी हिमशृंखलाका ५ हिमाल, सीता चुचुरो र राउन्ड धौलागिरी गर्न जाने पर्यटकले ज्यान धरापमा राख्दै डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने नाउरा भीरमा साना भारीसहित खच्चड हिँड्न मिल्नेगरी स्तरोन्नति गरिएको छ  ।

बगरादेखि दोभान, सल्लाघारी हुँदै इटली क्याम्पसम्म ३ दिनको निगालाको झाडी फाँडेर घोडेटो निर्माण गरिएको हो । बाटोमा पर्ने कम्तीमा ५ वटा खोलामा झोलुङ्गे पुल र ठाउँ–ठाउँमा बिसौनी निर्माण भएपछि धौलागिरी पदमार्ग सहज भएको हो ।

साविकको जिल्ला विकास समिति र गाविसको लगानीमा नाउरा भीरमा ट्र्याक खुलेको थियो । धौलागिरी गाउँपालिकाले ट्र्याकको डिलमा रेलिङ राख्ने, बाटो सुधार गर्ने र मिलाउने काम गरेको थियो । बाँकी क्षेत्रमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख लागतमा नाउरादेखि सल्लाघारीसम्म विभिन्न खण्डका गरी ९ किलोमिटर ५० मिटर साँघुरा, अप्ठेरो बाटो मर्मत गरिएको छ ।

सल्लाघारीदेखि इटली क्याम्पसम्मको एक दिनको पदमार्गको झाडी भने धौलागिरी गाउँपालिका–४ मुदीको बगरावासीले श्रमदान गरी फाँडेर घोडेटो बाटो निर्माण गरेका हुन् । त्यसैगरी संघीय पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँ खर्चेर इटलीक्याम्पबाट जापानिज क्याम्प जोड्ने नयाँ पदमार्ग निर्माण गरिएको छ । इटलीक्याम्पबाट स्विस क्याम्प हुँदै जापानिज क्याम्प जोड्ने पुरानो बाटो हिमपहिरोले बगाएपछि करिव २ सय मिटर भीर खोपेर नयाँबाटो खोलिएको निर्माणमा खटिएका धौलागिरी गाउँपालिकाका प्राविधिक दीपेन्द्र थापाले बताए ।

‘पहिरोले पदमार्गमा क्षति पुग्ने गर्छ,’ प्राविधिक थापाले भने, ‘इटली क्याम्प छेउमा बाह्रै महिना सानो ठूलो हिमपहिरो झरिरहने भएकाले ५० मिटर बाटो भने एक सिजनबाट अर्को सिजनमा टुङ्गो हुँदैन ।’ भीरपहरा र बाक्लो निगालोको झाडीमा बाटो पत्ता लगाउन नसक्दा सास्ती खेप्नुपर्ने धौलागिरी पदमार्गको इटालियन क्याम्पसम्म अहिले खच्चडबाट सामान ढुवानी गर्न थालिएको छ । पर्यटकले इटाली बेसक्याम्पसम्म टी हाउस ट्रेक गर्न सक्छन ।

गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३१ लाख अनुदानमा इटली बेस क्याम्पमा स्वास्थ्य परिक्षण तथा सूचना केन्द्रका लागि भवन निर्माण भैरहेको धौलागिरी गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य परीक्षण तथा सूचना केन्द्र पदमार्गमा पर्ने अन्तिम बस्ती बगरामा राख्न भनेका थियौं तर मन्त्रालयले मानेन,’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘उपभोक्ता समिति मार्फत भवन निर्माण भैरहे पनि बस्तीदेखि तीन दिनमाथि हिमालछेउको निर्जन स्थानमा प्रभावकारी नहुने ठानेका छौं ।’

पदमार्ग सुधारपछि आठ हजार मिटर अग्ला हिमालमध्ये आरोहणको हिसाबले सबभन्दा कान्छो तथा हिममानव (यती) पाइने हिमालको रूपमा ख्याति कमाएको धौलागिरीमा न्यून पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । क्याम्प ट्रेकको रूपमा मात्र परिचित राउन्ड धौलागिरी पदमार्गमा अब टी हाउस तथा ब्याकप्याक ट्रेकसमेत सुरु भएको छ ।

पदमार्गका बस्तीमा होमस्टे गर्न थालिएको छ । व्यक्तिगत तर एड्भेन्चर भ्रमण रुचाउने पर्यटकले धौलागिरीको इटाली क्याम्पसम्म होटल बास गरी ग्यासियर क्याम्प र आधार शिविरसम्म ब्याकप्याक ट्रेक सजिलै गर्न सम्भव भएको छ ।

‘व्यक्तिगत रूपमा धौलागिरी बेस क्याम्पसम्मको एड्भेन्चर टुर गर्न चाहने पर्यटक सजिलै आउन सक्छन् । धौलागिरी फन्को मार्ने र आरोहण गर्ने पर्यटकले समेत खच्चडमा इटाली क्याम्पसम्म सामान ढुवानी गराउन सक्छन्,’ धौलागिरीका हिमचितुवा उपमा पाएका स्थानीय पर्यटन व्यवसायी हरिबहादुर तिलिजा मगरले भने, ‘नाउराको भीरमा डोरीमा झुन्डिने र निगालाको झाडीमा बेपत्ता हुने दिन एकादेशका कथा भइसक्यो । हामी पूरै घोडाखच्चड हिंड्ने बाटो बनाएका छौं ।’

प्रकाशित : जेष्ठ २९, २०७६ १२:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सदरमुकाम पुग्न ३ जिल्लाको फन्को

नगेन्द्र अधिकारी

(तालढुंगा, काभ्रे) : आफ्नै जिल्लाभित्रै भएर जाने भरपर्दो सडक नहुँदा खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाबाट सदरमुकाम धुलिखेल आउन तीन जिल्लाको फन्को लगाउनुपर्छ  । जिल्लाभित्रैको सडक हुँदै यातायात सञ्चालन हुने अवस्था नभएपछि तालढुंगावासी ललितपुर, काठमाडौं र भक्तपुरको फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्छन्  ।

खोपासी तालढुंगा सडक चौडा गरिँदै । निर्माण शुरु भएको २ दशक बितिसक्दा पनि नियमित सञ्चालनमा नआउँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । तस्बिर : नगेन्द्र अधिकारी/कान्तिपुर

(तालढुंगा, काभ्रे) :आफ्नै जिल्लाभित्रै भएर जाने भरपर्दो सडक नहुँदा खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाबाट सदरमुकाम धुलिखेल आउन तीन जिल्लाको फन्को लगाउनुपर्छ । जिल्लाभित्रैको सडक हुँदै यातायात सञ्चालन हुने अवस्था नभएपछि तालढुंगावासी ललितपुर, काठमाडौं र भक्तपुरको फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्छन् । उक्त रुटमा ठूला दुर्लुङ खोला पर्छ । वर्षाका बेला यही मार्गमा पनि बाढीले बस सेवा अवरुद्ध हुने गरेको छ । यातायातको असुविधाका कारण तालढुंगाका बासिन्दा दुई महिनाअघि नै खाद्यान्नको जोहो गर्न बाध्य छन् ।
खानी खोलाको तालढुंगाबाट ललितपुर जिल्लाको ग्रामीण बस्ती वाग्मती र महाँकाल गाउँपालिका हुँदै कान्ति लोकपथ भएर चापागाउँ निस्केर भक्तपुर हुँदै काभ्रे आउन १२ घण्टा लाग्छ । ‘सडक सजिलो नहुनुको पीडा यहाँका स्थानीयले भोगिरहेका छन्,’ खानीखोला गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक शुकदेव थपलियाले भने, ‘खोपासी तालढुंगा सडक बस चल्न योग्य बनाउने हो भने जनताले सास्ती खेप्नु पर्दैनथ्यो ।’
उनका अनुसार असुविधाका कारण गाउँले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यात्रुबाहक बसमा सिमेन्ट र रडजस्ता निर्माण सामग्री पनि बोकिने भएकाले बढी भारका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । डाँडापारि क्षेत्रमा यातायात सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको खोपासी–तालढुंगा सडकमा निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि गाडी चलाउन सहज भइसकेको छैन । करिब ४० करोड खर्च भइसक्दा पनि खोपासीदेखि तालढुंगा जोड्ने ६४ किलोमिटर सडक अझै पूरा भइसकेको छैन ।
एसियाली विकास बैंकको ऋण सहयोगमा २०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले २०६४ सालसम्ममा २२ किमि सडक बनाएपछि तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेको थियो । कोत्रे भीरको पहरा फुटाउन कठिन भएकाले सडक दुईतर्फी हुन सकेको थिएन । खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल आगामी असारमा नै बस सेवा सञ्चालन गर्नेगरी तयारी भइरहेको दाबी गर्छन् । ‘बाटो सुधारको काम भइरहेको छ, मोडहरू फराकिलो गर्ने र बस चलाउन योग्य बनाउने काम भइरहेको छ,’ उनले भने, ‘मर्मत र सुधार गरेर तत्काल नियमित बस सेवा सञ्चालन गर्न लागेका छौं ।’
पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार सडक विभागको १ करोड र प्रदेश सरकारको ३ करोड बजेटबाट सडक फराकिलो पार्ने र ग्रेड मिलाउनेलगायतका काम भइरहेका छन् । प्रदेश सरकारले जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने घोषणा गरेपछि खानीखोलाले खोपासी–तालढुगा सडकलाई नै सिफारिस गरेको छ । ‘कालोपत्रे गर्न यही सडकलाई नै सिफारिस गरेका छौं । क्रमशः स्थितिमा सुधार हुँदै छ,’ अध्यक्ष खुलालले भने ।
डाँडापारिका विकट साविक १० गाविसमा सडकका लागि विभिन्न समय करोडौँ रकम खर्च भइसकेको छ । अझै पनि सडक सन्जालमा जोडिएका छैनन् । दलहरूका नेतापिच्छेका योजनाका कारण सदरमुकाम जोड्ने स्थायी सडक बन्न नसकेको हो । जिल्लाको भीमखोरी–सिन्धुली हुँदै महाभारत गाउँपालिकाको केन्द्र बनखुसम्म बस चल्न थालेको छ । ट्र्याक मात्रै खोलिएको सडकमा वर्षामा भने गाडी चल्दैन । ललितपुरको चापागाउँबाट वाग्मती किनार हुँदै ठूलादुर्लुङबाट खानीखोला गाउँपालिकाको तालढुंगासम्म मोटरबाटो सञ्चालनमा आए पनि वर्षामा अवरुद्ध हुन्छ । साबिक मिल्चे महाँकालदेखि साल्मेचाकल गाविसको तालढुंगासम्म डेढ दशकअघि नै ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत ट्र्याक खोलिएको थियो । पनौती, च्याम्राङबेंसी, मिल्चे र बोराङ सडक शीर्षकमा १० वर्षअघिदेखि बजेट विनियोजन भएको भए पनि उक्त मार्ग अझै गाडी चलाउन सहज भइसकेको छैन ।
यातायात सुविधा नभएका क्षेत्रका बासिन्दा बिरामी पर्दा धेरै मर्कामा हुन्छन् । केहीले स्वास्थ्य सेवा लिनकै लागि लाखौँ रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT