२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

खानेपानी शुद्धीकरण परियोजना सुरु

विना थापा

(कास्की) — पोखरेलीले अबको ३ वर्षपछि धारामै शुद्ध खानेपानी पाउने भएका छन्  । पोखरामा ल्याइएको मुख्य स्रोत मर्दीखोला खानेपानी आयोजना शुद्धीकरण परियोजना सुरु भएपछि पोखरावासीले शुद्ध खानेपानी पाउने भएका हुन्  ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा परियोजना सुरु भएको हो । शुद्ध पानीसँगै चौबीसै घण्टा सबै घरका धारामा पानी पुर्‍याउनका लागि वितरण प्रणाली पनि सुधार गरिने भएको छ । जाइकाले ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान सहयोगमा परियोजना बन्नेछ । परियोजनाको खानेपानीमन्त्री विना मगरले मंगलबार शिलान्यास गरिन् । जापानकै हाजमा एन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको र सन् २०२२ सम्ममा परियोजना सक्ने लक्ष्य छ ।

परियोजना निर्माणसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसारको प्रशोधित शुद्ध पानी पोखरेलीका घरमा आउनेछ । पानी शुद्धीकरणका लागि सबै प्रकारका जीवाणु मार्ने, थिग्राउनेलगायत आवश्यक तरिका अपनाइनेछ । पानी संकलन ट्यांकी, मुख्य र सहायक पाइपलाइन विस्तारसमेत हुनेछ । पोखरादेखि ११ किलोमिटर पश्चिमोत्तर मर्दीखोलाबाट पानी ल्याइएको छ । परियोजनाको शिलान्यास गर्दै मन्त्री मगरले समयमै काम सकिने विश्वास गरिन् ।

प्रशोधित पानीले जन्डिस, टाइफाइडलगायत ८० थरीका रोगबाट बच्न सकिने उनले बताइन् ।
पानी प्रशोधनका लागि आवश्यक १ सय ४० रोपनी जग्गा महानगरले उपलब्ध गराएको खानेपानी संस्थान पोखराका प्रमुख निरण महर्जनले बताए । उनका अनुसार परियोजनाअन्तर्गत मर्दी मुहान नजिक बालुवा हटाउने ४ वटा ट्यांकी बन्नेछन् । यसको क्षमता ४ करोड १ लाख लिटर प्रतिदिन रहेको छ ।

त्यसैगरी थप ४ वटा पानी थिग्राउने ट्यांकी, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन टंकी ९ सय ३० घनमिटरका २ वटा र क्लोरिनेसन प्लान्ट रहनेछन् । त्यसैगरी पोखराको पर्स्याङ, फूलबारी र कोलपाटनमा २० लाख लिटर क्षमता (ओभरहेड) ट्याकीसमेत बन्नेछन् । आवश्यक पाइपलाइन विस्तार र उपकरण पनि जडान गरिनेछ । पोखरामा दैनिक ५ करोड ४ लाख लिटर पानीको माग छ ।

आयोजना सम्पन्नपछि आयोजनाले समेटेको क्षेत्रमा साताभरि नै चौबीसै घण्टा पानी आउनेछ । परियोजना निर्माणका लागि १५ फेब्रुअरी २०१७ मा सम्झौता भएको थियो । खानेपानी संस्थानका पूर्वअध्यक्ष परमेश्वर पोखरेलले सन् २००४ देखि शुद्धीकरणको कुरा उठे पनि १३ वर्षपछि जाइकासँग सम्झौता भएर अहिले निर्माण प्रक्रियामा पुग्दा खुसी लागेको बताए । आयोजना सन् २०२२ को अन्तिममा सम्पनन हुनेछ ।

आयोजनाले समेटेको क्षेत्र पोखराको १ देखि १९ वडासम्म रहेको छ । सन् २०१५ मा यी वडामा ३ लाख ४ हजार ८ सय ६९ जनसंख्या रहेको र सन् २०२५ सम्ममा ४ लाख ५ हजार ८ सय ८१ हुने अनुमान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेशमा एक घर एक धारा अभियान थालिएको बताए ।

खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्रप्रसादले आयोजना निर्माणका लागि संस्थान र निर्माण कम्पनीबीच ८ मार्च २०१९ मा सम्झौता भएको बताए । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुद्ध खानेपानी खुवाउने जापान सरकारले सहयोग गरेको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?