३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खरको छानो विस्थापित हुँदै

प्रताप रानामगर

(दमौली) — ‘आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन,’ तनहुँको रिसिङ गाउँपालिका–८ पनियरथोकका अम्बीसरा थापाले भनिन्, ‘अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौं  । अब खर विस्थापित गरेर जस्ता पाताले घर छाउन गाउँपालिकाले सहयोग गर्ने खबरले खुसी छु  ।

खरको छानो विस्थापित हुँदै

खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उनले सजिलै खर पनि नपाउँदा समस्या झैल्दै आएको बताइन् ।

घर जस्तापाताले छाउन पाएर खुसी हुने उनी एक्ली होइनन् । गाउँपालिकाभरका करिब ३ सय परिवारमा यतिबेला उत्साह छाएको छ । गाउँपालिकाले खरको छानमुक्त घर बनाउने अभियान थालेपछि स्थानीयले राहत महसुस गरेका छन् । ‘गापालाई खरको छानोमुक्त घर बनाउने अभियान थालेका छौं,’ गापा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, ‘खरको छानो भएका सबै घर जस्तापाताले छाउने हो । यसका लागि यसवर्ष ४० लाख रुपैयाँ बजेट छुट्टाएका छौं ।’ श्रेष्ठका अनुसार साता दिनमै अभियान खर विस्थापित अभियान सुरु हुनेछ ।

गापाको १ देखि ८ वटासम्म खरको छाना भएका घरको तथ्यांक निकाल्ने क्रममा २ सय ८० घरमा खरको छाना रहेको पहिचान भएको छ । उनीहरूलाई प्रतिघर २ बन्डल जस्तापाता दिइने गाउँपालिका प्रशासन शाखाका नासु उमाकान्त पौडेलले बताए । ‘हप्ता दिनबाट कार्यक्रम सञ्चालन हुने तयारी गरिरहेका छौं,’ उनले भने, ‘जस्तापाताले घर छाउन आवश्यक संरचना भने घरधनीले नै बनाउनुपर्छ ।’ संरचनाका लागि भने प्राविधिकले सहयोग गर्नेछन् ।

प्राविधिकको सिफारिसको आधारमा जस्तापाता खरिद गर्न गाउँपालिकाले रकम निकासा गर्छ । रकम गापाकै आन्तरिक बजेट हो । नपुगे थपिने अध्यक्ष श्रेष्ठले बताए । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत संघीय सरकारले पनि गाउँपालिकाका ४९ घर छनोट गरेको छ । खरको छानोमुक्त गर्नका लागि प्रतिघर ५० हजार रुपैयाँका दरले लाभग्राहीले अनुदान पाउनेछन् । यस कार्यक्रमले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको उनले बताए । छनोट भएका घरका लाभग्राहीले गाउँपालिकाको सुविधा पाउने छैनन् ।

सरकारी अनुदानबाट जस्ताले घर छाउने रहर पूरा हुने भएकोमा स्थानीय दंग छन् । छिमेकी जस्तापाता र ढुंगाले छाएको घरमा बसेको देख्दा रहर लागेको तर हैसियत नभएको त्यत्तिकै बस्नुपरेको थापाले बताइन् । प्रत्येक ३ वर्षमा खरको छाना फेर्नुपर्थ्यो । पछिल्लो समय पर्याप्त खर पनि पाइँदैन । एउटा घरको छाना छाउन डेढ सय भारी खर चाहिन्छ । प्रतिभारी डेढ सय रुपैयाँ पर्छ । खर भए पनि घर छाउन सिपालु पाउन मुस्किल हुन्थ्यो ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?