ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

रासस

पाेखरा — पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

साथीसँग खेल्ने क्रममा घरको भर्‌याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‌याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

कुष्ठरोगीखानाले बदल्यो गाउँ

प्रतीक्षा काफ्ले

स्याङ्जा — रिस उठदा गाली गरिन्थ्यो, ‘तँलाई मालुंगा पठाइदिम्ला ।’ मालुंगा गाउँको नाम सुन्नासाथ सबैले ‘दूरदूर’ गर्थे । यसको कारण थियो, सरकारले कुष्ठरोगीलाई उपचार गराएर बसोबास गराउने गाउँ थियो मालुंगा । त्यसबेला कुष्ठरोगी समाजबाट ‘बहिष्कृत’ थिए । ‘कसैले गाउँको नाम नसोधिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो,’ ६४ वर्षीय टंकप्रसाद पाण्डेले सुनाए । 

साविकको मालुंगा टुनीबोट गाविस । अहिले गल्याङ नगरपालिका–१ मा पर्ने मालुंगामा १९९६ सालमा कुष्ठरोगी खाना खोलिएको थियो । त्यहाँ कुष्ठरोगी ल्याएर राखिन्थ्यो । ‘देशभरि कुष्ठरोगको महामारी थियो । सहज उपचार थिएन । यहाँ ३ ठूला भवन र एउटा गोदामघर थिए,’ स्थानीय गोविन्दप्रसाद बस्यालले भने, ‘पूर्वाधार भएकै कारण रोगीलाई यहाँ ल्याएर राखिएको थियो ।’

उनका अनुसार यहाँ बस्ती थिएन, कालीगण्डकी नदी नजिकै रहेकाले दाहसंस्कार गर्न सहज हुन्थ्यो । मालुंगामा बालबालिकादेखि बूढाबूढीसम्मका बिरामी ल्याइन्थे । कुष्ठरोगीको उपचार र पालनपोषणको जिम्मा सरकारले लिएको थियो । भवनहरू १९५७ सालमा बनेका थिए । स्थानीयका अनुसार कमेरे पानी खाए कुष्ठरोग निको हुन्छ भन्ने मान्यता थियो । मालुंगामा अझै पनि कमेरे पानी देख्न सकिन्छ । यसैकारण पनि बिरामी यहाँ ल्याइएको अनुमान स्थानीयको छ ।

अरूतिरकाले गाली गर्दा मालुंगा पठाइदिने र कटाइदिने भन्ने गरे गाउँको अवस्था सामान्य नै रहेको स्थानीय विष्णु बस्यालले बताइन् । ‘घरगाउँको जिम्मा कुष्ठरोगीलाई दिएर मानिस बाहिर जान्थे,’ उनले भनिन्, ‘मै पनि हप्ता दस दिन उनीहरूकै विश्वासमा घर छाडेर गएकी थिएँ ।’ नबुझासम्म सर्छ कि भनेर गाउँले डराएका थिए । ‘नियमित औषधि खाए कुष्ठरोग निको हुने र अरूलाई नसर्ने बुझेपछि कुष्ठरोगी र स्थानीयबीच हेलमेल भयो,’ वडा सदस्यसमेत रहेका पाण्डेले सुनाए, ‘गाउँलेले दूध, दही र मही दिन्थे । कुष्ठरोगीले उब्जाएका सागसब्जी दिन्थे ।’

बस्यालका अनुसार ३० जोडी कुष्ठरोगीले यहीँ बिहे गरे । उनीहरूले जन्माएका छोराछोरीलाई रोग सरेन । बढी सन्तान नजन्माऊन् भनेर सरकारले परिवार नियोजन गराइदिन्थ्यो । ‘छोराछोरी निरोगी भएका कारण केही हुँदो रहेनछ भन्ने विश्वास हामीलाई पनि भयो,’ बस्यालले भने । सुरुमा ४ स्थानीयलाई पनि कुष्ठरोग लागेको थियो । रोगीहरूलाई सरकारले ठेक्कामार्फत रासनपानी व्यवस्था गरेको थियो । बिरामी महिला र पुरुष बराबरी थिए । कुन ठाउँबाट रोगी ल्याइएको भन्ने स्थानीयलाई जानकारी थिएन ।

बदलियो गाउँ
कुष्ठरोगी खाना सञ्चालन हुने बेला गाउँभरि डेढ सय घर थिए । अहिले ७ सय ५० पुगेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र छ । १२ कक्षासम्म पढाइ हुने मावि, सडक, आँप, कटहर, लिचीलगायत फलफूलको बगैंचा छन् । ७६ वर्षीय कृष्णबहादुर रानाले गाउँको विकासमा कुष्ठरोगीको विशेष सहयोग र भूमिका रहेको बताए ।

‘हातखुट्टा ठुटा भए पनि पाटीपौवा, चौतारा, बाटो बनाउनमा उनीहरूको ठूलो योगदान थियो,’ उनले भने, ‘छिमेकी गाउँभन्दा मालुंगा विकसित हुनुको जस उनीहरूलाई नै दिन्छौं । उनीहरूले रोपेका फलफूलले अहिले हामी आत्मनिर्भर बनेका छौं ।’ कुष्ठरोगीले ५ फिटसम्मका ढुंगा कुँदेर विभिन्न योजनाका काम उनले सुनाए । यहाँको बसिनडाँडा–टुनिबोट ग्रामीण सडक कुष्ठरोगीले नै निर्माण गरेको स्थानीयको भनाइ छ ।

वडासदस्य पाण्डेका अनुसार मालुंगादेखि राम्दीसम्म पुग्ने सिँढी पनि रोगीहरूले बनाएका हुन् । सिद्धार्थ राजमार्ग खन्ने समयमा पनि यहाँका रोगीले धेरै सहयोग गरेका थिए । अहिले उनीहरूलाई राखिएको ठाउँमै प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको छ । चिकित्सकले सेवा दिन्छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT