कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लेकमा रोपाइँ धमाधम

लमजुङ — वर्षा चाँडै सुरु भएसँगै जिल्लाका ग्रामीण भेगका किसान धान रोप्न व्यस्त भएका छन् । मुख्यबालीका रूपमा रहेको धान किसानले लेकदेखि बेंसीसम्म रोप्ने गर्छन् । करीब १ हजार ६ सय मिटर उचाइभन्दा मुनिका खेतमा धान लगाइन्छ ।

लेकमा रोपाइँ धमाधम

प्रायः ठाउँमा गहुँ, करु र आलुलगायतका बाली भित्र्याएपछि धान रोपाइँ थालिएको छ । बर्खे मकै रोपेको ठाउँमा भने एक महिनापछि मात्रै धान रोपिन्छ ।

क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका किसान धमाधम धान रोपिरहेका छन । वडाध्यक्ष मनलाल गुरुङका अनुसार

कौंरोस्याउँरो र पोलीलगायत खेतमा रोपाइँ धमाधम चलिरहेको छ । एक सातादेखि रोपाइँमा व्यस्त रहेको उनले बताए । ‘गाउँको बढी धान उत्पादन हुने र झिनुवा धान उत्पादन हुने खेत नै यही हो । पानी परेर सिँचाइ पुग्न थालेपछि व्यस्त भएका छौं,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका किसान पनि धान रोप्न व्यस्त रहेको स्थानीय घनश्याम घलेले बताए । ‘गाउँका प्रायः सबैलाई यतिबेला रोपाइँको चटारो रहेको छ,’ उनले भने, ‘खेतमा लगाएको आलु निकालिसकियो । गहुँ र करु थन्काइसकियो । सिँचाइ सुविधा भएकाले धान रोप्न थालेका छौं ।’ उक्त गाउँमा एकले र मार्सी धान रोपिन्छ । पहिलेको तुलानामा मार्सी धान भने कम लगाउने गरिएको छ ।

जिल्लाका अन्य स्थानमा पनि रोपाइँ चलिरहेको किसानले बताएका छन् । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले पानीको स्रोत र सिँचाइ पुगेका ठाउँमा रोपाइँ थालिएको बताए । ‘माथिल्लो क्षेत्रमा गहुँ, जौ र आलु लगाउने ठाउँमा सबै बाली भित्र्याएपछि यतिबेला किसान रोपाइँमा व्यस्त भएका छन्,’ उनले भने ।

केन्द्रका अनुसार जिल्लाको १४ हजार ७ सय ८८ हेक्टर जग्गामा धान खेती हुन्छ । चालु आर्थिक वर्षमा ४५ हजार ६ सय ३९ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७४/०७५ मा १४ हजार ७ सय ९१ हेक्टरमा धान लगाइएकामा ४४ हजार ५ सय ४५ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?